बिपी कोइराला ( १९७१-२०३९) को परिचय राजनीतिक द्रष्टा मात्र होइन । उनलाई साहित्यिक सृजनामा पनि आफ्नो एक पृथक् स्थान बनाउन सफल भएको व्यक्तित्वका रूपमा लिने गरिन्छ । त्यस बेला सामाजिक चेतनाको स्तर नै नभएको समयमा यौन विषयमा साहित्य सृजना गर्नु आफैँमा एउटा सामाजिक क्रान्तिको बिगुल थियो ।
राजनीतिमा प्रजातान्त्रिक समाजवाद उनको धार हो भने साहित्यमा उनी मनोविश्लेषणवादी र अस्तित्ववादी स्रष्टा हुन् । बहुमुखी साहित्य स्रष्टा विश्वेश्वर प्रसाद कोइराला नेपाली साहित्यका कविता, जीवनी, निबन्ध, आलोचना र पत्र आदी विधामा रुचि देखाए पनि उनी मूलतः आख्यानकार हुन् । आधुनिक नेपाली कथामा नवीन मनोवैज्ञानिक धारा र प्रवृत्तिहरूको प्रवर्तन र प्रवर्द्धन गरी कोइरालाले युगान्तकारी र युग प्रवर्तक कथाकारको रूपमा आफूलाई चिनाउन सफल भएको पाइन्छ । कोइरालाका उपन्यासहरू उनको जीवन चिन्तनका कलापूर्ण अभिव्यक्ति हुन् ।
उनलाई नेपालको सबैभन्दा केरिसमेटिक (करिस्मामय) नेताको रूपमा लिइने गरिन्छ । उनी नेपाली साहित्यका त्यस बेलाका सबैभन्दा धेरै पढेका र विचारशील साहित्य स्रष्टाको रूपमा चिनिनछन् । सुरुमा उनले छोटो कथा, र कविता लेख्न सुरु गरे । उनले हिन्दीमा लघुकथा लेख्न सुरु गरे। उनका पहिलो कथाहरू प्रेम चन्द द्वारा सम्पादन गरिएको साहित्यिक पत्रीका हंसमा प्रकाशित भएका थिए। उनको पहिलो नेपाली लघुकथा " चन्द्रवदन" सन १९३५ मा नेपाली साहित्यिक पत्रीका शारदामा प्रकाशित भएको थियो। उनी नारीको चरित्रसँगै मनको चित्रण गर्न निकै सिपालु थिए ।
सन् १९३८ मा दार्जिलिङबाट प्रकाशित कथा कुसुम (नेपाली कथाहरूको सङ्ग्रह) मा कोइरालाका अन्य चार कथाहरू समावेश गरिएका थिए । नेपाली साहित्यको इतिहासमा मानव मनोविज्ञानमा आधारित कथा र उपन्यास लेख्ने पहिलो लेखक भएकाले राम्रो मनोवैज्ञानिक अन्तर दृष्टि भएका सामाजिक यथार्थवादीका रूपमा कोइरालाले सन् १९३८ सम्ममा आफूलाई सबैभन्दा महत्त्वपूर्ण नेपाली लघुकथा लेखकका रूपमा स्थापित गरेका थिए । दोषी चश्मा, कोइरालाको सोह्र लघुकथाहरूको सङ्ग्रह, सन् १९४९ मा प्रकाशित भएको थियो । उनी नेपाली साहित्यमा योगदान दिने सबैभन्दा महान् लेखक मध्ये एक हुन् भन्दा केही फरक नपर्ला ।
राजनीतिक माध्यमबाट जीवनको विजयेच्छा (जिगीषा) चाहने कोइरालाले साहित्य र उपन्यासको माध्यमबाट जीवनको चाहना (जिजीविषा) चाहेका छन् । आधुनिक नेपाली चिन्तकका रूपमा कोइरालाले मानव जीवन र खास गरी नेपाली जीवनका सबै क्षेत्रमा स्पष्ट दृष्टि निर्माण गरे । पूर्वीय र पाश्चात्य चिन्तन तथा साहित्यको अनुशीलनबाट उनमा यस्तो स्पष्ट दृष्टिको विकास भएको हो भन्दा केही फरक नपर्ला । उनका सृजनामा फ्रायडवादको ठुलो प्रभाव देखिन्छ ।
सुन्दा आश्चर्य लाग्छ उनको साहित्यिक यात्राको समय भनेको २०१७ देखी २०२५ सम्म मात्र हो । कारावास बसाइको त्यो अवधिलाई उनले भरपुर सदुपयोग गरे । यस अवधिमा उनले छ वटा उपन्यास लेखे । प्रकाशनका दृष्टिले पहिलो उपन्यास तीन घुम्ती (२०२५) हो भने अन्त्यको उपन्यास बाबु, आमा र छोरा (२०४५) हो । उनका अरू ४ वटा उपन्यासहरू यस प्रकार छन् : ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी ।’
उनी विलक्षण प्रतिभाका यती धनी थिए कि ३ देखी ८ दिनको बिचमा उनी एउटा उपन्यास नै लेखी सक्थे । छोटकरीमा भन्दा बिपीको उपन्यास लेखनमा उनकै प्रतिभा, व्युत्पत्ति र अभ्यास तथा कारावासको वातावरण मूल कारक र अनु प्रेरक रहेका छन् ।
२०२५ देखि २०२७ सम्मको अवधिलाई उनको पहिलो चरणको रूपमा लिइन्छ भने २०३६ देखी २०४५ सम्मको करिब एक दशक दोस्रो चरणको रूपमा लिइन्छ ।
उनका प्रत्येक उपन्यासमा कुनै न कुनै रूपमा मानवीय समस्या , नियति, अस्तित्व र चिन्तनलाई सर्वोपरि महत्त्व दिइएको पाइन्छ ।
उनको तीन घुम्तीमा नारीको जीवनमा आइपरेको विभिन्न सङ्कटका बारेमा व्याख्या गरिएको छ । नारी अस्तित्वका समस्याको खोज र नियतिले देखाएको समस्याहरूको भोक्ता नारी आफैँ हो भन्ने चिन्तनमा इन्द्रमायालाई प्रस्तुत गरिएको छ ।
नरेन्द्र दाइ मानव नियतिको सफल अभिव्यक्ति हो। । यस उपन्यासका पात्रहरू नरेन्द्र , गौरी, मुनरिया कसैको पनि दोष देखिँदैन तर उनीहरू पूर्णतः दोषी बनेका छन् । कोही कसैसँग र स्वयममा सन्तुष्ट छैनन् ।
सुमनिमामा कोइराला लेख्छन्, ‘आध्यात्मिक र भौतिक तत्त्वको सहअस्तित्वमै मानव जीवनको पूर्णता र सफलता निर्भर छ ।’ किराँती कथालाई आधार मानी लेखिएको यस उपन्यासमा ‘स्वधर्म समन्वय’ को दर्शन अभिव्यक्त भएको छ । यस उपन्यासले जातीय, सांस्कृतिक, भाषिक र मानवीय सह-अस्तित्वको कलात्मक सन्देश दिन्छ भने मानिसलाई कृत्रिम दैविवृति छाडेर सहज मानववृति अङ्गकार गरी जीवनको गतिलाई अगाडि बढाउन पनि सल्लाह दिन्छ ।
उनका ‘मोदिआइन’ तथा ‘हिटलर र यहुदी’ उपन्यासहरू गीता दर्शनमा आधारित छन् । कोइरालाका यी दुई उपन्यासहरूमा एउटाले नेपाली सन्दर्भ लिएको छ भने अर्कोले अन्तर्राष्ट्रिय । उनले धर्मनिरपेक्ष रूपमा गीताको अध्ययन गरी उपन्यासको माध्यमबाट आफ्नो नवीन दृष्टि प्रकट गरेका छन् । धर्मनिरपेक्ष भएर गीताको अध्ययन गर्दा त्यहाँ कर्तव्यपालन, धर्म रक्षा र राष्ट्रवादको नाममा अति मानवीय शक्तिद्वारा अभिप्रेरित र निर्देशित नरसंहार, मानवताको अपमान र विध्वंसकारी युद्ध विभीषिकाको दृश्य देखिन्छ । उनका यी सृजनाहरूबाट कोइराला भन्न चाहन्छन् कि हामी ठुलो मान्छे होइन असल मान्छे बन्नु पर्छ ।
उनको अन्तिम उपन्यास ‘बाबु, आमा र छोरा’मा मानव नियतिको प्रबलतम नमुना र कठोर दण्डको कलात्मक अभिव्यक्ति पाइन्छ । यस उपन्यासमा चिन्तनमूलक, तर्कपूर्ण र संस्मरणात्मक अभिव्यक्तिद्वारा नियतिको सिकार नायिकाको उमेरका तीन मनोदशाको अध्ययन गरिएको छ । उपन्यासकी मूल पात्र उमा भाग्यको (नियतिको) दिशानिर्देशमा तीन वटा निर्णय लिन बाध्य हुन्छिन् । त्यसैले यस पुस्तकको सुरुमा नामकरण ‘त्रिभङगा उमा’ थियो तर पछि प्रकाशित हुँदा यसको नाम ‘बाबु, आमा र छोरा’को नाममा पाठकहरूको माझ आइपुग्यो ।
कोइराला प्रजातान्त्रिक समाजवादी, राजनीतिक चिन्तक र विश्लेषक हुन् भने उनकै शब्दमा उनी साहित्यतर्फ अराजकतावादी हुन् । उनी साहित्यकारका रूपमा एक बहुमुखी प्रतिभा हुन् भने मनोवैज्ञानिक कथा लेखन र वैचारिक उपन्यास लेखन उनका विशिष्ट उपलब्धिहरू हुन् । साहित्यका तर्फबाट उनले पूर्वीय तथा पाश्चात्य चिन्तन, दर्शन र कलाको अध्ययनबाट वर्तमान मानव समाज र विशेष गरी नेपाली समाज सापेक्ष मौलिक चिन्तनको विकास गरी आफ्नो कुशल साहित्य शिल्पका माध्यमबाट त्यसलाई संयोजन गरेका छन् ।
कोइरालाका सबै कृतिमा कतै पश्चिमी कतै पूर्वीय दर्शन र चिन्तनको प्रभाव देखिए पनि कुनै एक धर्म र दर्शनको एकपक्षीय यथावत् प्रयोग गर्न यी कृत्तिहरू लेखिएको पाइँदैन , बरु सबै धर्म र दर्शनको सार समाहित गरेर मौलिक मानवीय जीवन मूल्यलाई औपन्यासिक शिल्प प्रदान गर्न लेखिएका छन् ।
अन्त्यमा ,
लोकतान्त्रिक आन्दोलनको गतिमा उनको राजनीतिक कोर्सलाई अग्रगामी चिन्तनको रूपमा लिइन्छ । उनले आफ्नो जीवनको अधिकांश समय अधिनायकवादी राजनीतिको विरुद्धमा बिताए । राणा र पञ्चायतको कोप भजनबाट उनले धेरै दुःख पाए । वास्तवमा उहाँले लामो समय जेल र निर्वासनमै बिताउनु भयो । तथापि एक राजनीतिज्ञको रूपमा र एक साहित्य स्रष्टाको रूपमा वहाँले आफ्नो बेग्लै पहिचान बनाउनु भयो । विश्व मानचित्रमा उनलाई संसारका सबै मुलुकमा एक प्रेरक राजनीतिज्ञ र साहित्यकारको रूपमा लिइने गरिन्छ । हामी नेपालीलाई सधैँ सधैँ उहाँले गौरवान्वित बनाउनु भएको छ ।