×

जिउँदै मर्याको भनी नाम छ कस्को ?

उधमबिना बित्तछ काल जस्को !!

भानुभक्तको जन्म विक्रम संवत् १८७१ असार २९ गते र मृत्यु १९२५ असोज ६ गते ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन्– भानुभक्त आचार्य । उनी वाल्मीकि रामायण (जुन संस्कृत भाषामा लेखिएको थियो)को अनुवादकको रूपमा चिनिन्छन् । मोतीराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि भनी उपाधि दिएका थिए ।

संस्कृत भाषाको एकाधिपत्य रहेको त्यस समयमा संस्कृतका ग्रन्थहरूलाई उनले सहज र सरल नेपाली भाषामा  अनुवाद गरेर आम नेपालीले बुझ्न सक्ने बनाइदिए । त्यस बेला उनको चर्को आलोचनासमेत भएको थियो ।

देउताले बोल्ने भाषालाई यो बाहुनले अपमान र बेइज्जती गर्‍यो भनी उनलाई निकै लाञ्छना लगाइयो । तर उनी आफ्नो अभियानमा निरन्तर लागिरहे । फलस्वरूप रामायण, श्रीराम गीता, प्रश्नोत्तर माला, भक्त माला, वध शिक्षा लगायत कृतिहरू लिएर आए, जसले नेपाली भाषाको विकास हुनुको साथसाथै सामान्य जन पनि शास्त्रको ज्ञानबाट विमुख हुनुपरेन ।

उनी यस्ता विलक्षण प्रतिभाका धनी थिए कि एकै दिनमा ६० वटा श्लोक (शार्दूलविक्रीडित छन्द) तयार गर्थे । आधा घण्टा सोच्ने अनि लेख्न थालेपछि कलम नै नरोकिने ।

सुरुमा उनलाई सबैले चिन्दैनथे । युवा कवि मोतीराम भट्टले उनका कृतिहरू छापेर प्रकाशित गरी उनलाई आदिकवि भनी स्थापित गराए ।

नेपाल र अङ्ग्रेजको युद्ध सुरु हुनुभन्दा अगाडि विक्रम संवत् १८७१ असार २९ (ईसा १८१४–१८१६)मा उनको जन्म भएको थियो ।

पश्चिम नेपाल हालको गण्डकी प्रदेश तनहुँ जिल्लाको रम्घा भन्ने गाउँमा एउटा प्रतिष्ठित, शिक्षित, सुसंस्कारी, सम्पन्न र सम्भ्रान्त ब्राह्मण परिवारमा उनको जन्म भएको थियो ।

उनका हजुरबुबा श्रीकृष्ण ज्यादै ख्यातिप्राप्त, मर्यादित र संस्कृतका घागडान विद्वान् थिए । उनकै छ भाइ छोरामध्ये जेठो छोरा धनञ्जय आचार्य र माता धर्मवती देवीका एक मात्र पुत्र थिए– भानुभक्त । पिता सरकारी जागिरे थिए । त्यसैले उनको लालन पालन हजुरबुबाकै काखमा हुन पुग्यो, जुन उनको लागि वरदान साबित भयो । यो देशले पनि आदिकवि भानुभक्तलाई प्राप्त ग¥यो । हजुरबुबासँगको साथले उनले सानै उमेरमा पुराण भन्न सिके र चिना हेर्न सक्ने भए ।

उनी सानैदेखि छिट्टै सिक्ने क्षमताका थिए । अर्थात् कुनै पनि कुरा झट्ट याद भइहाल्ने र नभुल्ने । १२ वर्षको उमेरमा नै उनी जन्म पत्रको तत्त्व बुझ्न सक्ने भइसकेका थिए । गणेश चतुर्थीमा कति वटा फूल र पातको सङ्ख्या हुन्छ आमा भनी आमालाई सोध्दा आमाले ‘आफ्नो काम गर’ भनी फर्काइदिइन् । र उनले त्यति नै खेर सम्झनाको लागि २१ वटाको नाम याद गर्न कविता लेख्न सुरु गरे । र त्यो कविता उनले आफ्नो हजुरबुबालाई लगेर देखाए र उनका जिबा ज्यादै खुसी हुँदै स्याबासी दिएका थिए र जिबाले भने, “तैँले पक्कै कुलको नाम राख्नेछस् भन्ने मलाई ढुक्क भयो ।” जिबाको त्यो शब्दले उनी झन् प्रेरित र उत्साहित  भए । त्यसै बेलादेखि उनले फुटकर कविताहरू लेख्न थाले । त्यस बेला नेपाली भाषामा कविता लेख्नु नै एक सामाजिक क्रान्ति थियो । एक पटक एक जना संस्कृतका पण्डितले सोधे– “तिमी को नि ?” उनले भने, “मलाई चिनेर क्या गर्छौ र ? पटक पटक त्यही प्रश्न गरेपछि उनले कवितामै उत्तर फर्काए ।”

“अति वेश देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिए ।

खुप उच्चा कुल आर्य वंशी हुनगै सत्कर्ममा मन्दिया ।

विद्यामा पनि जो धरन्धर भई शिक्षा मलाई दिए ।

इनको नाति म भानुभक्त भनी हुँ यो जानी चिह्नी लिया !

यसरी उनी जसको बारेमा पनि कविताको लयमा उत्तर दिन सक्ने भए । अर्थात् कविताको लय नै उनको भाषा हुन थाल्यो । उनको यही विलक्षण प्रतिभालाई मोतीराम भट्टले मुक्तकण्ठले प्रशंसा गरेका छन् । सानै उमेरमा उनले आफ्नो हजुरबुबाबाट दुर्गा कवच, सप्तशती, रुद्री, वेद, ज्योतिष मुहूर्त, मार्तण्ड, अमरकोश, रघुवंश, मध्य–कौमुदी जस्ता शास्त्रको ज्ञान प्राप्त गरिसकेका थिए । पुराण वाचनको कला उनले विभिन्न विद्वान्हरूबाट बनारसमा गएर सिकेका थिए । हजुरबाको प्रभावले शिक्षा प्राप्त गर्न उनलाई सहज भएको थियो ।

२२ वर्षको उमेरपछि उनमा कवितालाई नै पेसा बनाउने एक किसिमको आवेग र जोस सिर्जना भयो । कविता लेखेर नै परोपकार गर्ने, परहित गर्ने र समाजलाई रूपान्तरण र शिक्षित बनाउने उनले अठोट नै गरे । घाँसीसँगको भेटपछि उनले जीवनमा नाम राख्ने काम गर्नुपर्छ भन्ने अठोट लिए । घाँसीसँगको भेटपछि उनले लेखेको कविता–

भर्जन्म घाँसतिर मन्दीई धन कमायो

नाम क्यै रहोस् पछी भनेर कुवा खनायो

घासी दरिद्र घरको तर बुद्धी कस्तो

मो भानुभक्त धनी भईकन आज यस्तो ।१। 

मेरो इन्दार नत सत्तलपाटी क्यै छन्

जो धन र चिजहरू छन् घरभित्र नै छन्

तेस घासीले कसरी आज दिएछ अर्ती

धिक्कार हो । मकन बस्नु नराखी कीर्ति ।२।

अब भानुभक्तले काव्य रचना गरेर लोकको सेवा गर्ने अठोट गरे । र संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा लेख्ने निश्चय गरे । र सन् १८४१ तिर रामायण बाल काण्ड लेखेर सके ।

जग्गाको झगडाको मुद्दालाई लिएर उनी पहिलो पटक सन् १८४९ मा  काठमाडौँ आए । त्यस बेला उनले कान्तिपुर र बालाजुको वर्णन गरेर कविता लेखे । कसैगरी उनको दरबारसँग हेलमेल भयो र जङ्गबहादुरका भाइ कृष्णबहादुरसँग उनको राम्रो हिमचिम हुन गयो र सन् १८५० मा उनी जागिरे भए र दुई वर्षका लागि उनी मधेसतिर लागे । पछि उनलाई हिसाबकिताब गडबड गरेको दोषारोपण गरी पाँच महिना कुमारी चोकमा कारावासमा राखियो । त्यही समयलाई उनले सदुपयोग गरी अयोध्या काण्ड, आरण्य काण्ड, किष्किन्धा काण्ड, सुन्दर काण्ड जस्ता कृतिहरूको रचना गरे । पाँच महिनापछि छोराको व्रतबन्धको समयमा उनी जेलमुक्त भए र एक वर्षपछि फेरि काठमाडौँ आएर उनले युद्ध काण्ड र उत्तर काण्ड लेखी नेपाली रामायणको रचना गरे । नेपाली भाषाको विकासको लागि उनले खेलेको भूमिका अतुलनीय छ ।

आजका पीढीले उनीबाट धेरै कुरा सिक्न सक्छन् । तर आधुनिकताको आडम्बरले अहिलेको पुस्तालाई यसरी बेरेको छ कि उनीहरूलाई यस्ता प्रेरणादायी व्यक्तित्वको बारेमा जानकारी राख्नु उनीहरूको प्राथमिकतामा नै पर्दैन ।

अन्त्यमा, उनकै कविताबाट यो आलेखलाई विश्राम दिन चाहन्छु–

गजाधर्सोतिका घर बुढी अलिच्छिन्की रहिन्छन् ।

नरक जानालाई सबसित बिदाबारी भईछन् ।

पुग्यौ साँझमा तिन्का घर पिढीमा बास गरियो ।

निकालिन् साँझमा अलिक पर गुलजा गरियो ।

(लेखक वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ । प्रकाशित लेख उहाँको आग्रह पश्चात प्रतीक दैनिक प्रतिकाबाट साभार गरिएको छ ।)

Back to top