×

वेद, जसको अर्थ ‘ज्ञान’ हो, हिन्दू धर्मको सबैभन्दा पुरानो ग्रन्थ हो । १५०० र ५०० ईसा पूर्व (सामान्य युगभन्दा पहिले) वैदिक संस्कृतमा लेखिनु अघि विभिन्न  पुस्ताबाट पारित भएको थियो । यसमा कुनै केन्द्रीय धर्म, संस्थापक, पाठ, अभ्यासहरूको सेट, वा देवता छैनन् ।

इन्डो–युरोपियन धर्महरूको मिश्रणबाट उत्पन्न भएको सिन्धु उपत्यका क्षेत्रमा हिन्दू धर्म सुरु भयो । सिन्धु उपत्यका सभ्यता उल्लेखनीय रूपमा परिष्कृत थियो, पछि यही सभ्यता रोमन साम्राज्यको प्रतिद्वन्द्वी हुन पुग्यो ।

आर्यहरू, उत्तर पश्चिम भारतमा बसाइँ सरेका इन्डो–युरोपियन थिए–उनीहरूले त्यही संस्कृति भित्र्याए, जसमा ब्राह्मण वा पुजारी र धर्मशास्त्रका शिक्षकहरूद्वारा वर्चस्व रहेको जाति व्यवस्था पनि समावेश भयो ।

वेद शब्द संस्कृतको विद् धातुबाट बनेको हो, जसको अर्थ ज्ञान हुन्छ । त्यसैले धर्म, अर्थ, काम र मोक्षको जानकारी राखी लाभान्वित हुनु नै वेदको अर्थ हो । वेद विश्वको सबैभन्दा पुरानो धार्मिक ग्रन्थ हो । वेदका चार सङ्ग्रह वा पुस्तक छन्–ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । वेद मुख्य गरी हिन्दू धर्मावलम्बीहरूको मुख्य धार्मिक ग्रन्थ हो । यसलाई अपौरुषेय, अनादि र अनन्त मानिन्छ । वेदमा ब्रह्म (ईश्वर), देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीतिरिवाजसँग सम्बन्धित ज्ञान समाहित गरिएको छ । शतपथ ब्राह्मणको श्लोक अनुसार अग्नि, वायु, आदित्य र अंगिराले तपस्या गरेर चार वेद प्राप्त गरेका थिए । ऋग्वेद, यजुर्वेद र सामवेदलाई अग्नि, वायु र आदित्य (सूर्य)ले तपस्या गरेर र अथर्ववेद अंगिराले तपस्या गरेर उत्पत्ति भएको मानिन्छ । भगवान्ले ऋषिमुनि र ऋषिमुनिले आफ्ना शिष्यहरूलाई बताएर श्रुतिका रूपमा वेदको विकास भएको हो । पछि मात्र विभिन्न ऋषिहरूले यसको संहिता करण गरेका हुन् । यसमा ऋग्वेदका ३० पाण्डुलिपि अत्यन्तै पुराना रहेको बताइएको छ । यसलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।

ऋग्वेदमा देवताहरूको प्रशंसा वा आह्वान गर्ने भजन वा मन्त्रहरू समावेश हुन्छ, यजुर्वेदमा अनुष्ठानका लागि र कसरी गर्ने निर्देशनहरू छन्, सामवेदमा एकान्त धार्मिक जीवन खोज्नेहरूका लागि ‘वन ग्रन्थहरू’ समावेश छन्, र अथर्ववेदमा उपनिषद्हरू छन्, दार्शनिक र धार्मिक व्याख्याहरू छन् ।

वेदहरूका पनि उपवेद छन् । ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्व वेद तथा अथर्ववेदको स्थापत्य वेद उपवेद हुन् । वेदका पनि ४ विभाग छन्: ऋगको स्थिति, यजुको रूपान्तरण, सामको गतिशील र अथर्वको जड अर्थ हुन्छ । ऋगलाई काम, युजलाई मोक्ष, सामलाई काम र अर्थलाई अर्थ पनि भनिन्छ । यसकै आधारमा धर्मशास्त्र, अर्थशास्त्र, काम शास्त्र र मोक्ष शास्त्र रचना गरिएका हुन् । त्यसैले जीवनको लक्ष्य धर्म, अर्थ, काम र मोक्षका रूपमा पनि वेदलाई लिइन्छ । वेदका तीन काण्ड छन्: ज्ञान काण्ड, उपासना काण्ड र कर्मकाण्ड । तीमध्ये उपनिषद्को सम्बन्ध ज्ञान काण्ड, वेदलाई संहिता र ब्राह्मण गरी २ भागमा बाँडेको पाइन्छ ।

ब्राह्मणका पनि तीन उपभाग ब्राह्मण, आरण्यक र उपनिषद् छन् । वेदमा अभ्युदय र निश्रेयस गरी दुई प्रकारका सुख/आनन्द उल्लेख गरिएको छ । ऐतरेय, तैत्तिरीय र शतपथ ब्राह्मण ग्रन्थहरू हुन् । वेदमा ५ आरण्यक उल्लेख गरिएको छ : ऐतरेय, शंखायन, वृहदारण्यक, तैत्तिरीय, तवलकार । यसमा ईश्वर, आत्मा र सृष्टिबारे बृहत् व्याख्या गरिएको छ । वेदको सङ्कलन एकै समयमा नभएर बिस्तारै–बिस्तारै भएको मानिन्छ । सबैभन्दा पहिले ऋग्वेद, सामवेद र यजुर्वेदको सङ्कलन भयो । त्यसैले यसलाई वेदत्रयी पनि भनिन्छ । वेदको विभाजन रामचन्द्रको जन्म पूर्व पुरूरवा ऋषिको समयमा भएको भन्नेहरू पनि छन् । कतिपय विद्वान्का मतमा द्वापर युगको समाप्तिपछि महर्षि वेद व्यासले वेदलाई चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् । उनले यी चार भाग वेदको शिक्षा आफ्ना शिष्य पैललाई ऋग्वेद, वैशम्पायनलाई यजुर्वेद, जैमिनीलाई सामवेद र शान्तनुलाई अथर्ववेद दिए । 

वेदका चार भागको छोटो चिनारी :

ऋग्वेद

यो सबैभन्दा पुरानो र महत्त्वपूर्ण संहिता हो । ऋक अर्थात् स्थिति र ज्ञान, यसमा १० मण्डल, १०२८ ऋचा छन् । यीऋचाहरूमा देवताको प्रार्थना, स्तुति र देवलोकमा उनीहरूको स्थितिबारे वर्णन गरिएको छ । यसका पाँच शाखा–शाकल्प, वास्कल, अश्वलासन, शांखायन र मण्डुकायन छन् । प्रत्येक मण्डलमा अष्टक, अध्याय, वर्ग र अनुवाक सूत्र छन् । प्रत्येक सूत्रमा कैयौँ मन्त्र छन् । ऋग्वेदलाई होता (स्तुति) पनि भनिन्छ । यसमा इन्द्र, वरुण, अग्नि देवताको स्तुति छ ।

यजुर्वेद

यजुर्वेदको अर्थ यत्+जु : यत्–गतिशील, जु–आकाश । यसबाहेक श्रेष्ठतम कर्मको प्रेरणा । यसमा १९७५ मन्त्र र ४० अध्याय छन् । यसमा धेरैजसो यज्ञका मन्त्र छन् । त्यहाँ ज्ञानको पनि वर्णन गरिएको छ । यजुर्वेदका दुई शाखा कृष्ण र शुक्ल हुन् । यसमा कर्मकाण्डका मन्त्र सङ्ग्रहित छन् ।

सामवेद

साम अर्थात् रूपान्तरण र सङ्गीत, सौम्यता र उपासना । यसमा १८७५ मन्त्र छन् । यसमा ऋग्वेदकै ऋचाहरू अधिक मात्रामा छन् । यसका सबै मन्त्र सङ्गीतमय/गेय छन् । यसमा तीन शाखा र ७५ ऋचा छन् । यसमा सङ्गीत शास्त्रलाई समावेश गरिएको छ र वेद पाठ गर्ने विधान छ । यसमा आर्चिक–पूर्वार्चिक र उत्तर आर्चिक ऋचाहरू छन् । यसमा आग्नेय काण्ड, ऐन्› काण्ड, पचमानकाण्ड, आरण्य काण्ड र महानाम्यार्चिक काण्ड छन् । यसमा छ वटा अध्याय छ र भूमण्डलको सूचनात्मक वर्णन गरिएको छ ।

अथर्ववेद

यसमा यज्ञ गर्ने विधान, बीस वटा काण्ड र झारफुक, औषधि, सिउनेकला आदि उल्लेख छ । थर्व–कम्पन, अथर्व–अकम्पन । ज्ञानले श्रेष्ठ काम गर्दै जो परमात्माको उपासनामा तल्लीन हुन्छ त्यही अकम्प बुद्धि प्राप्त गरेर मोक्ष धारण गर्छ भन्ने अथर्ववेदको अभिप्राय हो । यसमा ५९८७ मन्त्र, २० काण्ड रहेका छन् ।

यसका पनि ऋग्वेदकै ऋचा बढी छन् । यसमा परमात्मा, प्रकृति र आत्माको विस्तृत वर्णन गरिएको छ । यसबाहेक समकालीन महापुरुष, सामाजिक, राजनीतिक र भौगोलिक अवस्थाबारे पनि चर्चा गरिएको छ ।

छ वेदाङ्गः शिक्षा, छन्द, व्याकरण, निरुक्त, ज्योतिष र कल्प । छ उपाङ्ग : प्रतिपदसूत्र, अनुपद, छन्दोभाषा, धर्मशास्त्र, न्याय तथा वैशेषिक । षड्दर्शनः साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त । जसलाई यजमानद्वारा यज्ञ गराउने अधिकार प्राप्त हुन्छ तिनलाई ऋत्विक भनिन्छ । ऋत्विकलाई होतृगण, अध्र्वगण, उ›ातृगण र ब्रह्मागण गरी चार भागमा बाँडिएको छ । यिनै चार गणहरूका लागि चार वेदको मन्त्र सङ्ग्रह गरिएको हो । वेदका संहिताहरूको ठाडो तथा तेर्सो रेखा लगाएर तिनको उच्चारण उच्च, मध्यम र मन्द सङ्गीतमय बनाउन उल्लेख गरिएको छ । यिनलाई उदात्त, अनुदात्त र स्वारित नामले पनि चिनिन्छ । चार वेदमा ऋग्वेद ऋषिमुनिहरूका लागि, सामवेद–गन्धर्वहरूका लागि, यजुर्वेद–क्षत्रियका लागि र अथर्ववेद–व्यापारीका लागि मानिएको छ । वेदका चार भाग संहिता (मन्त्र), ब्राह्मण (गद्यमय कर्मकाण्डको विवेचना) आरण्यक (कर्मकाण्डपछिको उद्देश्य) र उपनिषद्  (परमेश्वर, परमात्मा, आत्माको स्वभाव र सम्बन्धका दार्शनिक र ज्ञानवद्र्धक वर्णन) हुन् । वेदलाई याज्ञिक, प्रायोगिक र साहित्यिक दृष्टिकोणले पनि विभाजन गरिएको छ ।

उपवेदहरू

चारबाहेक वेदका छ अङ्ग छन्–शिक्षा, छन्द, कल्प, व्याकरण, निरुक्त र ज्योतिष । यिनलाई शरीरका छ अङ्गसरह क्रमशः आँखा, कान, नाक, मुख, हात, खुट्टा मानिन्छ । चार वेदका चारै उपवेद छन् ।

चार उपवेद यस प्रकार छन्:

धनुर्वेद : यो यजुर्वेदको उपशाखा हो । विश्वामित्र रचित धनुर्वेद (दीक्षा पाद, सङ्ग्रह पाद, सिद्ध पाद र प्रयोग पाद), शिवजी रचित धनुर्वेद (६०००० श्लोक), दोर्णाचार्य रचित धनुर्वेद (धनुष प्रदीप ७०० श्लोक), परशुराम रचित धनुष

(चन्द्रोदय धनुष ६०००० श्लोक) मुख्य छन् । यसमा विभिन्न प्रकारका धनुष र वाण बनाउने र प्रयोगबारे विस्तृत चर्चा गरिएको छ ।

गान्धर्व वेद : यो सामवेदको उपवेद हो । सामवेद सङ्गीत वेद हो । सामवेदको वाष्णेर्य शाखाको उपवेद गान्धर्व वेद हो । यसमा चौध काण्ड छन् । यसलाई सङ्गीत रत्नाकर उपवेद पनि भनिन्छ । यसका चार आचार्य प्रसिद्ध छन्– सोमेश्वर, भरत, हनुमत र मल्लीनाथ ।

आयुर्वेद : यो ऋग्वेदको उपवेद हो । यसमा ब्रह्माजीले रचना गरेका एक लाख श्लोक छन् । यसलाई प्रजापतिले ग्रहण गरी अश्विनीकुमारलाई दिए । अश्विनी कुमारले इन्द्रलाई र इन्द्रले धन्वन्तरिलाई हस्तान्तरण गरे । यसमा शल्य तन्त्र, शालक्य तन्त्र, कायचिकित्सा तन्त्र, भूतविद्या तन्त्र, कौमार भृत्य तन्त्र, भगत तन्त्र, रसायन तन्त्र र बाजी करण तन्त्र गरी आठ भाग रहेका छन् ।

अथर्ववेद : यो अथर्ववेदको उपवेद हो । यसमा अर्थोप वेद, अर्थ वेद,अर्ध चन्द्रोदय, सम्पत्ति शास्त्र आदि ठुला ग्रन्थ र नीति प्रभा र काश्यपेय दुई साना ग्रन्थ छन् ।

स्थापत्य वेद : यो आजको वास्तु शास्त्र हो । यसमा भवन र सहर निर्माणको नियम विधि र प्रक्रिया उल्लेख गरिएको छ ।

अर्थ वेद/अर्थशास्त्र : यो अथर्ववेदको उपवेद हो । यसमा अर्थशास्त्र सम्बन्धी साहित्य समावेश गरिएको छ ।

निष्कर्ष : वेदको सरगम भजन वा प्रार्थना मात्र होइन । तिनले जीवनलाई अर्थ दिन्छन् र धर्मको मार्गमा हिँड्ने रूपरेखा पनि दिन्छन् । ती संस्कृत साहित्यका सबैभन्दा पुराना ग्रन्थहरू हुन् जुन आजपर्यन्त उत्तिकै आवश्यक छ । आजको युवा पीढीलाई यसबारे जानकारी गराउनु र यसको महत्त्व दर्साउनु हामी सबैको जिम्मेवारी र कर्तव्य हो । वेदको ज्ञानलाई हाम्रा पाठ्यक्रममा समाविष्ट गर्न सके पुर्खाहरूले निर्माण गरेको अभिलेखप्रति न्याय हुने थियो ।

वेदका अनुसार शिक्षाको महत्त्वपूर्ण पक्ष भनेको युवालाई सत्यवादी हुन तालीम दिनु हो किनभने सत्यको मार्गमा हिँड्ने तेजस्वी आत्मा कहिल्यै पराजित हुँदैन । वैदिक कालमा अध्यापनलाई पवित्र कर्तव्य मानिन्थ्यो र आधुनिक कालको तुलनामा वैदिक शिक्षक कति जिम्मेवार थिए भन्ने कुरा यसले विश्वलाई देखाउँछ । वेदलाई संसारको सबैभन्दा पुरानो साहित्यको रूपमा मानिन्छ र प्राचीन नेपाल र भारतमा  जीवनको दर्शनको स्रोत हो र यसको अध्ययनले हामीलाई जीवन दर्शनमा मात्र नभई सम्पूर्ण प्राचीन संस्कृतिको उत्पत्ति बुझ्न पनि मदत गर्दछ ।

(लेखक वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।)

Back to top