×

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक हुन अब धेरै समय छैन । यही महिनाको अन्त्यसम्ममा नतिजा सार्वजनिक हुने निश्चित नै छ । यो वर्ष करिब ५ लाख भन्दा केही बढी विद्यार्थीहरूले एसइई परीक्षा दिएका छन् । अभिभावक विद्यार्थीको लागि यो घडीलाई ज्यादै महत्वका साथ लिइने गरिएको कुरा सबैमा विदितै छ । कक्षा ११ र १२ मा रोजेर पढ्ने ऐच्छिक विषयले नै भविष्यमा उच्च शिक्षातर्फ कुन विषय अध्ययन गर्ने भन्ने ढोका खुल्छ । त्यसैले पनि विद्यार्थी र अभिभावक अलि चनाखो हुन आवश्यक रहेको शिक्षाविद्हरू बताउँछन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका ४ हजार १ सय ९७ विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुन्छ । विद्यार्थीले आफ्नो चाहनाअनुसारका विषय छनोट गरेर सामुदायिक र निजी विद्यालयमा अध्ययन गर्ने अवसर पाउँछन् ।

पाठ्यक्रम संरचनामा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन, पत्रकारिता विषयतर्फ विभिन्न विषय छनोट गरेर पढ्ने व्यवस्था मिलाइएको छ ।

अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा वा गणित अनिवार्य विषय छन् भने अन्य विषय विद्यार्थीले रोजेर अध्ययन गर्न पाउँछन् । सामुदायिक विद्यालयमा अनिवार्य विषयका पुस्तकहरू सरकारले निःशुल्क दिने व्यवस्था छ । 

कक्षा ११ र १२ मा पढ्ने ऐच्छिक विषयले नै उच्चशिक्षा (स्नातक तथा स्नातकोत्तर) मा चिकित्सा, इन्जिनियरिङ, विज्ञान प्रविधि, कृषि/पशु विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षा के पढ्ने निर्क्योल गर्छ । कक्षा ११ र १२ को पाठ्यक्रममा विज्ञान, व्यवस्थापन, मानविकी, कानुनलगायत सङ्काय भनेर ठ्याक्कै विषय किटान नगरे पनि ऐच्छिक समूहबाट यी सङ्कायसँग सम्बन्धित विषय विद्यार्थीले छानेर पढ्न सक्छन् । 

कक्षा ९–१० पढाइ हुने विद्यालयको सङ्ख्या ११ हजार १ सय ८ भए पनि ११ र १२ पढाइ हुने विद्यालयको सङ्ख्या न्यून भएकाले धेरै विद्यार्थी नयाँ विद्यालयमा भर्ना हुनुपर्ने अवस्था छ । विद्यालय छनोट गर्दा आफूले चाहेको विषय पढाइ हुने वा नहुने विद्यार्थी अभिभावकले भर्ना अघि यकिन गर्नुपर्छ । कक्षा ९–१० मा प्राविधिक धारतर्फ अध्ययन गरेका विद्यार्थीले ११–१२ मा तिनै विषयसँग सम्बन्धित विषय पढ्न पाउने व्यवस्था छ ।

उच्च शिक्षाको तयारीसँगै स्वरोजगार र रोजगारीमा जान चाहनेका लागि कक्षा ११ र १२ को पढाइ निर्णायक खुड्किलो मानिन्छ । उच्च शिक्षाको तयारीको मुख्य धरातल पनि कक्षा ११ र १२ को पढाइ नै हो । सरकारले माध्यमिक शिक्षा पूरा गरेपछि मुलुकलाई चाहिने प्रारम्भिक स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । साधारण र प्राविधिक धारतर्फको अध्ययनबाट त्यस्ता जनशक्ति तयार हुने अपेक्षा गरिन्छ । 

अर्कोतर्फ प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्राविधिक धारतर्फ डिप्लोमा तहको पठनपाठन हुन्छ । प्राविधिक धारतर्फ डिप्लोमा तहको पढाइ गर्ने विद्यार्थीले पनि कक्षा १२ बराबरको समकक्षता पाउने व्यवस्था छ ।

सीटीईभीटीमा स्वास्थ्यतर्फ १० वटा विषय अध्ययन गर्न सकिन्छ । त्यस्तै, इन्जिनियरिङतर्फ भने १३ विषय छन् । तीबाहेक वन/कृषि, टुरिजम एन्ड हस्पिटालिटी तर्फ कृषि (बाली/कृषि विज्ञान), होटेल म्यानेजमेन्ट, सोसियल बर्कर, फुड एन्ड डेरी टेक्नोलोजी र फरेस्ट्री विषय छन् ।

ऐच्छिक विषय कुन रोज्ने ?

साधारण धारतर्फ

- पहिलो समूह : भौतिक विज्ञान, लेखा विधि, ग्रामीण विकास, विधि शास्त्र/कानुनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान, बाल विकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैङ्गिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बाली विज्ञान, प्राकृतिक चिकित्सा, मानव मूल्य शिक्षा र मूर्तिकला

- दोस्रो समूह : जीव विज्ञान, शिक्षा विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, व्यवसाय अध्ययन, भाषा विज्ञान, राजनीति शास्त्र, दर्शनशास्त्र, जनसङ्ख्या अध्ययन, बागवानी, खाद्य/पोषण, नृत्य र कम्प्युटर विज्ञान

- तेस्रो समूह : रसायन विज्ञान, अर्थशास्त्र, पर्यटन/पर्वतारोहण अध्ययन, बजार शास्त्र, बुढ्यौली तथा स्याहार शिक्षा, योग, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, पाककला, संस्कृति, फेसन, डिजाइनिङ, सिनेमा तथा डकुमेन्ट्री, पशु/पन्छी/माछा पालन, नेपाली, अङ्ग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापनिज, कोरियन, उर्दू, फ्रेन्ज, हिब्रु, अरेबिक र संस्कृत

- चौथो समूह : गणित, प्रायोगिक/वाणिज्य गणित, पुस्तकालय तथा सूचना विज्ञान, मानवअधिकार, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्त शास्त्र, सहकारी व्यवस्थापन, बौद्ध अध्ययन, प्रायोगिक कला, गायन, चित्रकला, रेसम खेती/मौरी पालन, सौन्दर्यकला/केशकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ/वायरिङ, आन्तरिक सजावट, होटेल व्यवस्थापन, आमसञ्चार. 

कस्तो विद्यालय छान्ने ?

विद्यालय छनोटमा अभिभावकको ठूलो भूमिका हुन्छन् । आफ्नो बच्चाले पढ्न खोजेको विद्यालयमा आफै गएर सत्य तथ्य बुझ्ने प्रयास गर्नु पर्छ । कसैको बहकावैमा आएर विद्यालय छान्दा भविष्यको गन्तव्य र लक्ष्यमा ग्रहण लाग्न सक्छ । कुनै पनि विद्यालय छान्दा त्यसको व्यवस्थापन पक्ष, पढाउने गुरुहरूको दक्षता , विद्यालयको भित्री र बाहिरी वातावरण, अनुशासन साथै शान्ति सुरक्षाको अवस्थाहरू भरपर्दो र दरिलो हुनु पर्दछ ।  

शिक्षकहरू अपरिपक्व, अनुभवहीन र अयोग्य छन् भने त अवस्था झनै खराब हुन सक्छ। तसर्थ, अभिभावक र विद्यार्थीले सुरुमै शिक्षकदेखि कलेज सञ्चालकसम्मको योग्यता र पृष्ठभूमि हेर्नुपर्ने जानकारहरू बताउँछन्। उनीहरूका अनुसार, लामो समय शैक्षिक क्षेत्रमै लागेकाहरूले चलाएको र व्यवस्थापन चुस्त 'प्लस टु' बढी भरपर्दा हुन्छन्। शिक्षाविद् मनु वाग्ले  'प्लस टु' छान्नु पूर्व सञ्चालक र शिक्षकको टिमबारे राम्ररी बुझ्नुपर्ने बताउँछन् ।

परीक्षामा राम्रो नतिजा ल्याउने होडले 'प्लस टु' हरूको पढाइमा सृजनशीलता हराउँदै गएको छ। अधिकांश 'प्लस टु' ले पढाइलाई परीक्षा केन्द्रित बनाउँदा यस्तो समस्या देखिएको शिक्षाविद्हरू बताउँछन्। विषयवस्तुको गहिरो ज्ञान दिनेभन्दा नोट घोकाउने, गेसपेपर पढ्न लगाउने विकृति भित्रिएको छ। शिक्षाविद् केदार भक्त  माथेमा सञ्चालकहरूको दबाबमा परेका शिक्षकहरूले पढाइलाई सिकाई केन्द्रित नभई परीक्षा केन्द्रित बनाएको बताउँछन्। “विद्यार्थीमा विश्लेषणात्मक कौशल र अरूको भनाइ खण्डन गर्ने क्षमता विकास भएको देखिएन” माथेमाको मूल्याङ्कन छ, “जबकि, राम्रो शैक्षिक संस्थाले विद्यार्थीलाई जिज्ञासु र तार्किक बनाउँछ ।”

धेरै विद्यालयका शिक्षकहरूमा ब्लुम्स टेक्सोनोमीको बारेमा जानकारी नै नभएको अवस्था छ । शिक्षा क्षेत्रमा लागेका प्रत्येकलाई यसको बारेमा जानकारी हुनु जरुरी हुन्छ । 

हो, अभिभावक तथा विद्यार्थीहरूले कुनै पनि स्कुल / कलेजमा भर्ना हुनु भन्दा अघि यी माथि उल्लेखित विषयहरूको बारेमा सम्बन्धित निकायमा जानकारी छ कि छैन बुझ्नु जरुरी छ । पढ्नु, घोक्नु बेग्लै कुरा हो तर विद्यार्थीले पढेको र सिकेको कुरालाई साधारण जीवनमा अवलम्बन गर्न सकेको छ कि छैन त्यो सबैभन्दा महत्त्वपूर्ण कुरो हो । प्राज्ञिक ज्ञान प्राप्त गरेर मात्र पुग्दैन । उसले / उनले   अनुशासन, सहनशीलता, धैर्यता, सामाजिकीकरण, राष्ट्र र राष्ट्रियता, देशको सार्वभौमिकता, आत्मसम्मान र आफ्नो धर्म र संस्कारलाई अङ्गीकार गर्न सिको कि सिकेन ज्यादै महत्त्वपूर्ण हुन्छ ।

अन्त्यमा प्लस टु सम्म केटाकेटीहरूलाई स्थानीय स्कूल/कलेजमै पढाउनु पर्ने विज्ञहरूको सुझाव छ । ठुलो सहरमा दुई दिनमा बच्चाहरू कुलतमा लागेर आफ्नो  भविष्यलाई अँध्यारो पारेको धेरै दृष्टान्तहरू छन् । र यो १६/१७ को उमेर ज्यादै संवेदनशील समय हो । यसलाई गम्भीरतापूर्वक लिइएन भने परिणाम ज्यादै दुख:दायी पनि हुन सक्छ ।

(लेखक वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।)

Back to top