×

प्राध्यापक लोहनी लेख्नु हुन्छ, “नेपाली बुद्धिटिबीहरुको सीता/जानकीको सवालमा अर्को अरण्यरोदन मिडया/सञ्जालमा आएको रहेछ । (एमबी, जिबी, टिबी, पिबी मा जिबीभन्दा बुद्धि बढी भएपछि त्यो टिबी हुन्छ ।)” 

रामायण, महाभारत जस्ता काव्यहरू मूलतः आख्यान हुन् । तर तिनलाई परम्पराले धर्मशास्त्रको दर्जा दिएको छ र तिनका मुख्य पात्रहरू देवताको कोटीमा मानिन्छन् । मान्छेमा विश्वासको उद्भव कसरी हुन्छ, त्यसको साइको-बायोकेमिकल आयाम के हो भन्ने छुट्टै बहस गर्न सकिएला । मानिसहरू माझ मिथकीय पात्र मात्र होइन, प्रष्ट र सिलसिलेवार इतिहास भएका तथा भौतिक रूपले अस्तित्वमा रहेका पात्रहरूलाई पनि धार्मिक वा विभिन्न आस्थाको लेप लागेपछि ती क्रमशः देवत्व प्राप्त गर्न पुग्छन् । पृथ्वीनारायण शाहलाई गोरखनाथको छाद छोएको वा मनकामनाको आशिर्वाद पाएको आदि कम्वदन्ती त चलेकै छ । अरूको के कुरा बीपी कोइरालाले बेहोस नगराइकन पिलोको अपरेसन गर्दा सहेको कुरालाई पनि कसैले दैबी चमत्कार भन्दियो भने पत्याउने जमात छ । कम्युनिस्टहरूको कठमुल्लावादी वृत्तमा मार्क्स, लेनिन, माओ सर्वगुण सम्पन्न व्यक्ति हुन्, उनीहरूले कुनै गल्ती गर्दै गर्दैनन्, ती मानवबाट माथि उठेका ठानिन्छन् । काङ्ग्रेस वृत्तमा बीपीलाई “महामानव” भनेकै छन् । आजको सूचना र साक्षरताको जुगमा समेत विभिन्न आस्था र विश्वासको सिर्जना हुन सक्छ भने हजारौँ वर्षअघिको लोकप्रिय ग्रन्थको पात्रले देवत्व प्राप्त गर्नु अनौठो होइन ।

आजभोलि “भारतवर्ष” भनेर चिनाइने भूमि ब्रिटिसकालीन भारतबाट सुरु भएको न्यारेसनको अंश हो । पौराणिक पात्र भरतले चर्चेको भनेको भूमि वर्तमान भारत वर्ष सिङ्गै थिएन, दक्षिण भारत पनि पुगेकै थिएन । उत्तर र दक्षिण भारत बीच सामान्य ओहोरदोहोर समेत हुन नसक्ने घनाजङ्गल थियो भन्ने त पुष्टि नै छ । रामायणमै पनि रामलाई दण्डकारण्यमा निर्वासन पठाएको हो । विद्वानहरूले वाल्मीकिलाई दक्षिण भारतको ज्ञान नै थिएन भनेर पनि दाबी गरेका छन् । वाल्मीकिले सिर्जना गरेका कैयौँ पात्रहरू कुनै सांसारिक पात्र जस्ता पनि छैनन् । उत्तर भारतबाट दक्षिणमा जाने पहिलो भनेर अगस्त्यलाई शास्त्रले नै भनेको छ भनेपछि उत्तरमा बसेर दक्षिणमा शासन गर्ने कोही शासक थिए भन्ने अनुमान गर्न मुश्किल छ । मौर्यकालीन भारत पनि आज दाबी गरिने भारतवर्ष जत्रो थिएन। त्यसैले यो भारतवर्षको न्यारेसन आफैमा एउटा हेगेमनी (वर्चस्व) हो ।

सीताको जन्मस्थान मिथिला हो, मिथिलाको राजधानी जनकपुर मानियो । जनकपुर पौराणिक कालमा चर्चित केन्द्र थियो राजा जनकको नामबाट । बस्! यो नाम गरेको भूमि र ऐतिहासिक जानकी मन्दिर हाल नेपालभित्र रहेको जनकपुरमा पर्छ । यही आधारमा सीतालाई कसैले नेपाली दाबी गर्नु तर्कसङ्गत कुरा हो । अरू कैयौँ पौराणिक पात्रहरू वर्तमान नेपाल सीमाभित्र रहेका हुन सक्ने बलिया आधारहरू छन्, तर प्रभावकारी न्यारेसन (भास्य) तयार पार्न नसक्दा अर्को न्यारेसन स्थापित भएको मात्र हो । यही मेसोमा भारतले सीतालाई भारतकी छोरी भन्दिँदा नेपाली सेन्टिमेन्टमा चोट पुग्यो । राष्ट्रियता भन्ने चिज नै यस्तै तुच्छ चिजमा अडिएको छ । भारतको माथिदेखि तलसम्म एकप्रकारको हेगेमनी छ । सीतालाई भारतकी छोरी भन्नुको मनोवैज्ञानिक कारण के हुन सक्छ? यही कारण कुनै नेपालीले राष्ट्रियताको कार्ड फाल्न जति पनि पाउँछ । यसलाई हँसिमजाक वा विरोध गर्नु पर्ने केही पनि छैन । हात्तीलाई सानो अङ्कुशले हो तह लगाउने । 

सीता एउटा मिथकीय पात्र हो । सीतालाई राष्ट्रिय विभूति ठहर गर्नु अर्को हास्यास्पद कुरा हो । स्वयम् व्यक्ति आख्यानको पात्र मात्र थियो कि वास्तवमै पनि थियो भन्ने नै प्रष्ट छैन, त्यस्तो पात्रलाई ऐतिहासिक होइन, पौराणिक विभूति मानौँ न । त्यसो हुँदा हामी अन्य पौराणिक पात्रहरूलाई आफ्नो विभूति मान्न सक्छौँ । पौराणिक पात्रहरूलाई आफ्नो दाबी गर्ने अन्तर्राष्ट्रिय हैसियत पुग्यो भने त्यो गाह्रो होइन । तर नेपालका शासकहरू यति निकम्मा छन् कि बुद्धलाई नेपाली चाहिँ भन्ने तर बुद्धजन्मस्थललाई आकर्षणको केन्द्र बनाउन नसक्ने, एउटा राम्रो बौद्ध विश्वविद्यालय पनि चलाउन नसक्ने, स्थापित बौद्ध विश्वविद्यालयले पन पर्यटन, कानून, इन्जिनियरिङ आदिमा सम्बन्धन बाँडिरहेछ, कक्षा चलाइरहेछ ।  

जे सुकै भए पनि भारतले सीतालाई नेपाली छोरी ठान्नु पर्ने नेपाली दाबी त्रुटिपूर्ण छैन । नेपालीले राष्ट्रियताको कार्ड प्ले गर्ने मात्र गर्नु एउटा कुरा हो । तर सानो राष्ट्रले खेल्ने यस्तै मसिना खेल मात्र हुन्, जसले तिनको अस्तित्व देखाउँछ । नत्र नेपालले आफूलाई चिनाउन के त्यस्तो गतिलो गरेको छ र ? सीताको विषयलाई कामपाका मेयरले भावुक निर्णय गरेका छन् । राष्ट्रियता यस्तै तर्कहीन भावुकतामा अडिएको हुन्छ । यो कुरालाई विरोध गरेर आफूलाई बुद्धिजिवि प्रमाणित गरिरहेका बुद्धिमानहरू सायद अन्तर्राष्ट्रिय नागरिक हुन् ।

अन्त्यमा भारतको कुनै सरकारी निकाय या सरकारको तर्फबाट सिता भारतकी छोरी हुन नभनेको अवस्था हो । तथापी एक देशका निर्देशकले आफ्नो चलचित्र निर्माण गर्दा छिमेकी समुदायको भावनासँग खेलवाड गर्नु चाहिँ हुदैन । 

चलचित्रको व्यापार बढाउन र यसको महत्व बढाइ बक्सफिसमा व्यापार बढाउन पनि येस्तो हतकण्डा अपनाइने गरिन्छ । तथापी स्थानिय स्तरबाट बालेनले यो हिम्मत चाहिँ गरेकै हुन ।

(लेखक वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।)

Back to top