×

जीवन एउटा सुन्दर चुनौती हो । जीवनको बाटो सोझो, पूर्व निर्धारित र निर्मित हुँदैन, बरु यो निर्माणधिन हुन्छ । त्यहाँ असफलता नामको अनुभव हुन्छ, दुविधा नामको दोबाटो हुन्छ, गती नामको साथी, सचेत व्यक्तिका रुपमा परिवार, आम्दानिको रुपमा कर्म । यती हुँदाहुँदै पनि जगेडाको रुपमा प्रतिबद्धता र अठोट, इन्जिनको रुपमा सञ्चिती, बिमाको रुपमा विश्वास, अनी चालकको रुपमा आफ्नै सुकुर्म भयो भने सफलता भन्ने ठाउँमा पुगिन्छ । जीवन सङ्घर्षपूर्ण छ, सङ्घर्षको बाटो पार गरेर आएको मनिसले नै जीवनमा आइपर्ने अफ्ठ्याराहरुसँग मुकाबिला गर्न सक्छ । त्यसैले भनिएको पनि छ -
 

सजिलो बाटोले दक्ष चालक बनाउन सक्दैन ।
शान्त तलाउले दक्ष डुंगा चालक बनाउन सक्दैन । 
सफा आकाशले दक्ष पाइलट जन्माउन सक्दैन । 
समस्या नभोगेको मान्छे कहिल्यै पूर्ण मान्छे बन्न सक्दैन । 

त्यसैले हामीले हाम्रो जीवन कस्तो बनाउने भन्ने कुराको निर्धारण गर्न जरुरी छ । उद्देश्यविहिन र गन्तव्य निर्धारण नगरि हिँडीएको बाटो जता  पनि जान सक्छ र हामी नचाहेको ठाउँमा पुग्दछौं । फेरी हरेक मान्छे नयाँ बाटो निर्माण गर्न सक्षम छ । अरुले हिँडेको पुरानो बाटोमात्र हिड्ने तर नयाँ गन्तव्य आशा गर्ने मानिस भन्दा महामुर्ख को हुनसक्छ? अरु हिँडेको बाटो हिड्दा अरु जहाँ पुग्छन आफू त्यही पुगिन्छ । हामीले संसारलाई नयाँ आँखाले हेर्न सिक्नै पर्दछ । कुनैपनि समस्या उस्तै तहको सजगताबाट समाधान हुन सक्दैन । जसले यो सिर्जित गरेको छ उसले नै समाधान गर्न सक्दछ । त्यसैले नविनतम मार्गको खोजिमा लाग्दा आनन्द र रोमाञ्चकता दुबै प्राप्त हुन्छ ।

एकपटक मनन गरौँ त । नेपालमै हाम्रै टोल छिमेकमा नै सङ्घर्षले माझीएका कयौं सफल र असल मनिसहरु छन । उनिहरुले आशावादी भएर नयाँ मार्गको खोजी गरे र सफलता पनि प्राप्त गरे । एकपटक झमक घिमिरेको जीवनी हेरौँ, उनको सङ्घर्षलाई मनन गरौँ । उनको लगनशिलता, प्रतिबद्धता, कृयाशिलता र सिर्जनशिलता संसारका कुनै सामान्य व्यक्तिभन्दा कम छैन । आखिर नियतिले ठगे पनि कर्म र सोचको बलमा प्राप्त हुने नतिजालाई  त कसैले रोक्न सक्दो रहेनछ नि । त्यसैले राष्ट्रकवी माधव घिमिरेले भनेका छन-

ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल, 
श्रीजना शक्ती संसारमा कहिल्यै हुँदैन विफल । 

हामी सबैले आफ्नो जीवनवारे केही अध्ययन, मूल्याङ्कण र पुनरावलोकन गर्न जरुरी हुन्छ । मेरो विगत जीवन निरर्थक वा सामान्य, उपलब्धिमूलक वा गौरवपूर्ण कस्तो रह्यो भनेर आँफैले प्रश्न गर्नु पर्दछ । 

हरेक मनिसमा मानविय भावना र सफलताका सयौं खुटकिलाहरु रहेका हुन्छन तर तिनिहरुको ढोका खोलेर अधिकतम सदुपयोग चाँही सकारात्मक प्रवृति र व्यवहार भएकाले मात्र गर्न सक्छन । यो यथार्थलाई बुझेर आफ्ना विगतका सुन्दर र सफल कुराहरुबाट उत्प्रेरणा लिना सकियो भने वर्तमान आँफै सुन्दर भएर आउँछ । त्यस्तै वर्तमान लाई हामीले कसरी लिन्छौं, त्य्सबाट हाम्रो भविष्य निर्धारण हुन्छ । त्यसैले हामीले आफ्नो वर्तमानको पनि मूल्याङ्गकण गर्न जरुरी छ । 

वर्तमानका सुन्दर कर्म र दृष्टिकोणहरु भविष्यका सञ्चिती धन हुन । हामी सबैले हाम्रो वर्तमान जीवनप्रतिको विश्वास के हो, यो जीवन मेरा निम्ती कस्तो बोझिलो, सामान्य, ठिकै वा चुनौतिपूर्ण र रमाइलो वा पिडादायी भन्ने कुराको विश्लेषण गर्दै साकारात्मक भावका साथ अगाडि बढेमा सुरक्षित गन्तव्य पुग्न सकिन्छ । वर्तमान सुन्दर भए भविष्य आँफै सुनिश्चित भएर जान्छ । बुद्धले पनि वर्तमान र भविष्यका बारेमा यसो भनेका छन ।

अतितको पिछा नगर ।  
भविष्यको भ्रमजालमा पनि नफस। 
अतित व्यतित भयो । 
भविष्य अझै अनगत छ ।

यहाँ, अहिले यस क्षण जीवन जस्तो छ, त्यसैलाई धारणा गर, त्यसलाई सुन्दर बनाउने कोशीश गर । आजलाई सुन्दर बनाउन सकियो भने भोली त आँफै सुन्दर भएर आउँछ । स्थिरता र मुक्तभावमा नबाच, भोलिको प्रतिक्षा गर्यौ भने विलम्ब हुनेछ । मृत्युले अचानक थिच्नेछ । त्यससँग हामीले के सम्झौता गर्न सक्छौ र ? सज्जनहरु त्यसैको आह्वान गर्दछन, जो दिन र रात सचेतनवस्थामा जाग्रिती रहन्छन । जसलाई थाहा हुन्छ भविष्यको सुन्दर मार्ग के हो ? तिनैले नै वर्तमानलाई सुन्दर बनाउँछन् । 

त्यसैले अभावप्रतिको गुनासो भन्दा समृद्धिको लागि चाहना, विगतको असफलता प्रतिको नैराश्यता भन्दा भविष्यको उप्लब्धिप्रतिको प्रतिबद्धता, घृणा र सत्रुता भन्दा प्रेमा र मित्रता, फुटेको कर्म भन्दै भाग्यलाई सराप्नु भन्दा बाँकी जीवनको भाग्य निर्माण गर्न पाइला चाल्नु, अरुको प्रगतिको तुलना गर्दै त्यसप्रती डाहा वा ईर्ष्या मात्र गर्नु भन्दा आफ्नै जीवनको यात्राप्रति आत्मगौरवको अनुभुती गर्नु, अन्ध्यारो प्रतिको असन्तुष्टी भन्दा उज्यालोप्रतिको आशा गर्नु नै श्रेयष्कर हुन्छ । आजसम्म गुनासोले प्राप्ती दिएको र प्रशन्सा र प्रतिबद्धताले विनास गरेको प्रमाण कहीँ भेटिएको छैन ।   

जीवनको यात्रामा जे भेटिन्छ त्यसलाई माया गर्नु महानता हो । गल्ती वा कमजोरिलाई पनि अंकमाल गर्दा केही बिग्रिदैन तर त्यसबाट शिक्षा लिँदै साकारात्मक बाटोमा हिड्न सकियो भने त्यो भन्दा महत्वपूर्ण सिकाई के हुन सक्ला ? नविन सृजना गर्नु नै जीवनको लक्ष्य बनाईयो भने जीवनका सबै प्रश्नहरुको उत्तर हामीसँग हुने रहेनछ । आज हामीले बाँचेको जिन्दगी कसैका लागि ठूलो सपना हो, त्यसैले आफ्नो जिन्दगीप्रती गर्व गरौँ । हाम्रो गतिमा ईर्ष्या गर्ने मानिस स्वभाविकरुपमा हुन्छन । उपलब्धी र आलोचना एक अर्काका असल मित्र हुन, यि दुबै सँगसँगै सवार गर्दछन । त्यसैले उपलब्धिमा आफ्नो आलोचना गर्नेहरुको पिछा नगरौँ बरु कर्मको यात्रा निरन्तर अघी बढाऔँ, उनिहरु आँफै पाखा लाग्नेछन । 

दैनिक जीवनमा जब हामी हाम्रा विश्वास परिवर्तन गर्छौं, तब हाम्रो अपेक्षा परिवर्तन गर्न सक्ने रहेछौँ । जब हामी हाम्रो अपेक्षा परिवर्तन गर्छौं, तब हामी हाम्रो दृष्टिकोण परिवर्तन गर्न सक्नेछौँ । जब हाम्रो दृष्टिकोण परिवर्तन हुने रहेछ, तब हाम्रो व्यवहार परिवर्तन हुने रहेछ । जब हामी हाम्रो व्यवहाँर परिवर्तन गर्छौं तब हामी हाम्रो कार्यसम्पादनमा परिवर्तन पाउँछौँ । जब हाम्रो कार्यसम्पादन परिवर्तन हुन्छ, तबमात्र हामी हाम्रो जीवन परिवर्तन गर्न सक्ने रहेछौँ ।

जीवन गुनासोको पिटारा होइन बरु खुशी र आनन्दको सुन्दर बगैंचा हो, जहाँ लाखौँ सुगन्धित फूलहरु सुगन्धको सार र सौन्दर्यको बहार लिएर लहराइरहेको छन । यो श्रीष्टिमा हामी रुन आएका होइनौं । हामीलाई प्रकृतिले हास्न, खेल्न र जित्न पठाएको हो । शक्ती, समझदारी, सन्तुलन, सहकार्य, सन्तुष्टी जस्ता सम्पदा लिएर जन्मेका हामी अलाप विलाप गरेर बाँच्नै पर्दैन । निराशले सिकायत मात्र जन्माउँछ, सिकायतले प्रसन्नता हरण हुन्छ । पसन्नता हरण हुँदा निर्माणभन्दा विध्वंस बढी हुन्छ, विध्वंसले विनासलाई सहयोग पुर्याउँदछ । त्यसैले प्रसन्नतालाई जीवनको संस्कार बनाऔँ र साकारात्मक जीवन बाचौं । जीवनमा आईपरेका चुनौतिहरुलाई स्विकारौं, जे हुन्छ राम्रै हुन्छ । जे भइरहेको छ, राम्रै भइरहेको छ भन्ने सकारात्मक धारणा राखेर अगाडि बढेमा सोही अनुरुपको नतिजा पनि प्राप्त हुन्छ । यसै सन्दर्भमा एउटा प्रसँग यस्तो छ - 

टेक्ने लठ्ट्टी बनाउन लाग्दा राजा विराटको हात काटेछ । हात काटेको देखेपछी मन्त्रिले “सरकार नाअत्तिनुहोस, जे भयो राम्रो भयो” भनी औषधीउपचार गरिरहेका थिए । यो सुनेर राजाले आश्चर्यभावले प्रश्न गरे । “के भनेको मेरो हात काटेको पनि राम्रो भयो र ?” “हो, सरकार, राम्रो भयो,” मन्त्रिले उत्तर फर्काए । 

त्यसपछि राजालाई मन्त्रिमाथी शँका लाग्यो र सोच्न थाले । “यो मन्त्री मेरो शुभचिन्तक होइन रहेछ । हात काटिँदा त राम्रो भयो भन्छ मेरो टाउको काटियो भने झन राम्रो भयो भन्छ होला ।” त्यसैले यस मन्त्रिलाई सजाय दिनुपर्छ भन्ने सोची उसलाई थुन्ने आदेश दिए र मन्त्री थुनिए । 

केही दिनपछी राजा सेनासँगै घना जङ्गलमा शिकार खेल्न गए । शिकारको खोजी गर्दा गर्दै राजा र सेनाबिच बिछोड भयो । राजा अलपत्र पनि सेनाको खोजिमा हिँडे । हिड्दा हिँडदै जङ्गलमा नै रात पर्यो तर सेनासँग भेट हुन सकेन । राजा निराश भएर भौतारिरहेको बेला राक्षससँग जम्का भेट भयो र राक्षसले मिठो खानेकुरा भेटियो भनेर राजा विराटलाई लिएर गए । राक्षसहरु जती शिकार भेतेपनी वनदेवीलाई भोग नचढाइ नखाने रहेछन । त्यसैले राजालाई वनदेवीको मन्दिरमा लिएर गए । वनदेवीलाई भोग दिँदा कुनै पनि खोट र चोटपटक भएको हुनु नहुने रहेछ । त्यसकारण राजा विराटलाई भोग दिने क्रममा कुनै खोट छ कि भनेर हेर्दा हातमा काम्रो बाधेको देखियो र राजा भोगकालागी उपयुक्त नभएको भनी राक्षसले जा बाचिस भनी छोडिदिए । 

त्यसपछी राजाको आँखा खुल्यो । “मन्त्रिले जे भयो राम्रै भयो भनेको ठीक रहेछ । मैले बेकारमा उसलाई थुनेछु,” भनी पछुतो लाग्यो र सोच्दा सोच्दा उज्यालो पनि भयो । सेनासँग पनि भेट भयो र घर गइ आफूले शिकार खेल्ने क्रममा भोगेको सबै कुरा सुनाई मन्त्रिसँग उनले माफी मागे । पुन: मन्त्रिको उत्तर आयो । “पीर नगर्नु होला सरकार जे भयो राम्रै भयो ।”
    
राजाले फेरी सोधे - “तिमीलाई थुनेको पनि राम्रै भयो?” 

“हो सरकार राम्रो भयो,” मन्त्रिले जवाफ दिए। 

फेरी राजाले प्रश्न गरे कसरी? 

मन्त्रिले उत्तर दिए “सरकार तपाईंले मलाई नथुनेको भए म पनि तपाईंसँगै हुन्थे । हामी दुवै राक्षसको कब्जामा पर्थो । तपाईंको त खोट थियो, तपाईं बाच्नु भयो । म मर्थे । त्यसैले तपाईंको हात काट्यो तपाईं जोगिनुभयो, म थुनीए म पनि बाँचे ।”

“त्यसैले जे भयो राम्रै भयो । जे भईरहेको छ राम्रै भईरहेको छ । जे हुनेवाला छ राम्रै हुनेछ भनेको हुँ सरकार ।” मन्त्रिका यस्तो कुरा सुनेपछी चित्त बुझाएका राजाले मन्त्रिलाई स्याबासी दिँदै छाडिदिए र पूर्ववत उनलाई साथ लिएर हिँडन थाले ।    
 
सिकाई : कहिले कहीँ आफूभन्दा सानाले भनेको कुरा पनि मान्नु पर्दछ । आफ्नो चित्त सफा राखौँ । सबैको भलो चिताऔं । सूविचार राखौं, जे हुनु पर्ने छ त्यो भएर नै छाड्छ । हामीले हुने कुरालाई टार्न सक्दैनौँ । जे छ त्यसैमा सन्तोष गर्न सिक्नुपर्दछ । भविष्यको किन चिन्ता गर्ने? बरु वर्तमान राम्रो बनाए भविष्य त्यसै सुन्दर भएर आउँछ । कतिपय कुरा तत्कालका लागि नमिठा र असान्दर्भिक लागे पनि अन्तत: ति समयनुकुल पनि हुन सक्दछन् । एकै वचनमा, एक भेटमा, एकै प्रसँगमा कुनै पनि मनिसमाथी मूल्याङ्गकण गरी उनिहरुलाई सजाय वा पुरस्कार दिहाल्नु हुँदैन ।

त्यसैले सकारात्मक मान्छेले जीवनलाई फूलको रुपमा हेर्छ भने नकाराम्तक मानिसहरु काँडाको रुपमा । मनिसको जीवन समुन्द्र जस्तै हो- धेरै जटिल, गहिरो, अमूल्य, शक्तिशाली र प्रेरणादायी । लाखौँ विचारहरुको स्रोत, लाखौं खुशी र पिडाहरुको पनि स्रोत, मायाको स्रोत, सारा सन्तुष्तिको स्रोत । यही अथाह स्रोतभित्रका हामी मानव हासेर बाचौं, कर्म गरेर बाचौं, अरुलाई बचाएर बाचौं । अरुलाई बचायौं भने हामीलाई त उनिहरुले नै बचाउने छन् । तर हामी सामान्य भन्दा सामान्य अर्थात दैनिक जीवनमा आँफैले गर्न सक्ने काम पनि गर्न हिच्किचाउछौँ, अरुको भर पर्दछौँ । हामी पर निर्भरतामा विश्वास गर्दछौँ । यसै बिषयमा एउटा सानो प्रसँग यहाँ प्रस्तुत छ –

एकपटक एकजना मान्छे गान्धीजीलाई भेट्न गएका रहेछन । उनले लगाएको लुगा ठाउँठाउँमा उध्रेको रहेछ । गान्धिका आँखा उध्रेको ठाउँमा पुग्यो । त्यो मनिसले गान्धिदेखी लज्जित हुँदै भन्यो “हजुर श्रीमती माइत गएकी थिईन, त्यसैले यो सिलाउनै पाईन ।” गान्धी मुसुक्क  हाँसे । सियो धागो निकाले र एकैछिनमा आँफैले सिलाई दिए । त्यो मानीस त लाजले भुत्तुक्कै भयो । गान्धिलाई हेर्न पनि सकेन । त्यस दिनदेखी आफ्नो काम आँफै गर्न थाल्यो ।

Back to top