×

वीरगञ्ज । आपत्ति, दुःख र शोक जीवनका वास्तविक छायाहरु हुन् । यो संसारमा कुनै त्यस्तो हृदय छैन जो सँधै सँधै खुशी भईरहेको होस् । त्यस्तो कुनै आँखा छैन जो कहिल्यै नरोएको होस् । त्यस्तो कुनै दिमाग छैन जसले हर्दम सकारात्मक  मात्र सोचेको होस् । त्यस्तो कुनै घर छैन जहाँ सधै मेलमिलाप भएको होस् । कसैलाई कुनै रोग व्याध नलागेको होस र कसैको मृत्‍यु नभएको होस् । 

यि जीवनका स्वभाविक प्रक्रिया र अवस्था हुन् भन्ने कुरालाई बुझ्न नसक्दा मानिस झनै दुखी बन्न पुगेको छ । हामी एउटा गरीब रुँदा उ अभावले रोयो भन्दछौ । दुःखको कारण गरीबी हो भन्ने अर्थ लगाउँछौ । तर यहाँ कैयौँ धनी मानिस दिनदिनै रोईरहेका छन् । यदि गरीबी नै दुःखको कारण भएको भए अथाह सम्पत्ती भएका धनीहरु किन रोए त ? यसलाई हामीले राम्ररी अध्ययन र विश्लेषण गर्नुपर्दछ । 

गरीबलाई सम्पत्ती भएन भन्ने पिर तर धनीलाई सम्पत्ती गुम्छ कि भन्ने पिर । सबैतिर पिरै पिर । त्यसैले यदि साच्चै नै सुखी भएर बाँच्ने हो भने कर्मलाई जीवनको अभिन्न अङग बनाउनु जरुरी छ । जे प्राप्ती हुन्छ त्यसैबाट सन्तुष्ट हुन सिक्नु पर्दछ । दुःख र सुखको आधार सम्पत्तिलाई बनाउन हुँदैन । बाहिरी कारणभन्दा पनि आफ्नै आन्तरिक कारणबाट जीवन दुखी र सुखी हुन्छ । एउटी आमा र बच्चा सँधै मैनबत्ती बालेर सुत्ने गर्दथे । बालक सानो र अबोध भएकाले मैनबत्तीको तापको रहस्य र असर उसलाई थाहा थिएन । एकदिन आमा सुतेको बेलामा उसले बलिरहेको मैनबत्तीको ज्वाला छुन पुग्यो । ज्वालाले उसलाई पोल्न पुग्यो । त्यस दिनदेखी उसले बलिरहेको मैनबत्ती छुन हुँदो रहेनछ भन्ने सिक्यो । उसको लागि त्यो सिकाइको मौका भयो । आगोलाई सराप्नु भन्दा त्यसबाट प्राप्त सिकाईको महत्वबाट आनन्दित हुन पुग्यो त्यो बालक । यो क्रिया कहिल्यै दोहो-याएन । 

हो मानिसबाट गल्ती हुन्छ , दुःख र आपत्ति आइपर्दछ । त्यसलाई सकारात्मक रुपमा लिई बाँकी जीवनका लागि त्यसबाट प्राप्त सिकाईलाई प्रयोग गर्न सकियो भने मात्र जीवन सार्थक बन्न पुग्दछ ।
त्यस्तै कुनै एउटा गाउँमा दुई जना व्यापारी थिए । उनिहरुले वर्षौदेखी पैसा जम्मा गर्दै गरेको बैंक घाटामा गएर टाट पल्टियो । अब त्यो पैँसा फिर्ता आउने कुनै सम्भावना नै थिएन । ति दुइमध्ये एउटा साहै्र विचलित र निराश भयो । उसले पुनः व्यापार गर्नै छाडिदियो तर अर्कोले भने चिन्ता गरेर आफ्नो त्यो घाटा पुर्ती नहुने तर फेरी ईमान्दारिपुर्वक काम गरे गुमेको पैसा पुन आर्जन गर्न सकिने निष्कर्ष निकाल्यो र फेरी कर्म गर्न थाल्यो । नभन्दै उसले पुरानो घाटा असुल गरेरै छाड्यो । 

फेरी कर्म गर्न जानेर मात्र पनि हुँदैन मौकालाई पनि चिन्न सक्नु पर्दछ । असल कर्म गर्नेले असल परिणाम पाउने कुरामा कुनै द्विविधा राख्नु हुँदैन । कर्म गर्ने तर कर्मको फल वा परिणामलाई चिन्न नसक्ने हो भने भएको प्राप्ती पनि गुम्न सक्छ । असल कर्म गर्दै जाँदा प्रकृतीले पनि न्याय गरिरहेको हुन्छ तर त्यो न्याय गरेको मौकालाई चिनेर आफ्नो वशमा पार्न सक्नु नै महानता हो । त्यसैले ज्ञान, विवेक र होश गुमाएका चेतनाविहिन मान्छेहरु गुनासोलाई अंगाल्दछन् तर कर्ममा विश्वास गरेर अगाडि बढ्नेहरु सकारात्मक परिणाममा विश्वास गर्दछन् । उनीहरु मौकालाई आफ्नो वशमा पार्न सिपालु हुन्छन् । 

यसै प्रसङ्गमा ईश्वरको आराधना र स्तुतिमा विश्वास गर्ने तर प्राप्त मौकाको सही सदुपयोग गर्न नसक्ने व्यक्तिको बारेमा एउटा प्रसँग छ ।   वर्षा ऋतुमा भारी वर्षाका कारण तराइका धेरै गाउमा बाढी पस्यो । बाढीको डरले सिङगो गाउँका मानिसहरु सुरक्षित ठाउँतिर सर्न थाले । त्यस गाउँका एकजना पुराना वृद्धले भने त्यस ठाउबाट हलचल गरेनन् । 

सबै गाउँलेले उनलाई अनेक आग्रह गर्दा पनि उनले त्यो गाउँ नछोड्ने दृढता देखाए, अब त्यो गाउँमा उनी मात्र रहे । यत्तिकैमा अविरल वर्षाका कारण पानीको सतह बढ्दै गयो । उनलाई सबैले टाढाबाट चिच्याएर बोलाउन थाले तर उनी आफु भगवानमा विश्वास गर्ने भएकाले आफुलाई बचाउन भगवान आउने कुरा बताएर त्यहाबाट कतै नजाने कुरा गरे । यसैबिच उनलाई बच्चाउनका लागि त्यही एउटा मोटर आईपुग्यो र उनलाई चढ्न आग्रह ग-यो तर उनले त्यसमा चढ्न मानेनन् । उनले त्यस मोटरलाई पनि आफु भगवानमा विश्वास गर्ने भएकाले भगवानले नै मलाई बचाउने छन् भनेर रित्तै फर्काइदिए ।    

वर्षा कम हुने कुनै छेकछन्द नै थिएन । बाढी अझ तिब्र रुपमा बढ्दै थियो । गाउँका सबै कच्ची घरहरु बगिसकेका थिए भने पक्की घरहरु पनि क्रमश : डुब्दै थिए । ति व्यक्ती अब घरको छतमाथि बसेर आफुलाई सुरक्षित राखिराखेका थिए । पुरै गाउँ जलमग्न सागर जस्तै भईसकेको थियो । त्यसैबिच उनको सहयोगका लागी एउटा डुंगा त्यहा आईपुग्यो र उनलाई त्यसमा चढेर अन्यत्र जान आग्रह गरियो । उनले आफु भगवानप्रत्ती पूर्ण समर्पित भएको हुनाले आफुलाई भगवानले नै बचाउने कुरा गर्दै त्यो डुंगामा चढ्न पनि अस्विकार गरे । अब भने बाढिले उनी बसेको घर पनि बगाउन थालिसकेको थियो । उनको घरको छतभन्दामाथि पानी पुगेकोले अब उनी नजिकैको ठुलो सिमलको रुखमा बसेर बाढीबाट बचिरहेका थिए । यसैबिच उनलाई बचाउन हेलिकप्टर उनको नजिकै आएर त्यसमा चढन आग्रह ग-यो । तर उनले त्यो पनि मानेनन र भगवानलाई पुकारीरहे । 

अब त्यो सिमलको रुख पनि डुब्न लागेपछी पनि भगवान नआएको देखेर ति मानिस भगवानसित रिसाएर प्रश्न गर्न थाले, ‘ हे भगवान ! आजदेखी तपाईप्रती मेरो आस्था हराएको छ, मैले भगवानप्रती कती ठूलो श्रद्धा राखे तर मलाई यो आपत पर्दा हजुरले बचाउनुभएन । यतिभन्दा भन्दै त्यो ठुलो सिमलको रुख पनि बाढिको ठुलो प्रवाहले लड्यो । ति मानिस पानीमा डुब्दै गर्दा भगवानको उत्तर आयो, ‘तिम्रो म प्रतिको आस्था र विश्वासकै कारण त मैले तिमीलाई बचाउनका लागि क्रमशः मोटर, डुंगा र हेलिकप्टर पठाएको थिए । तर तिमीले त्यसको प्रयोग गर्न सिकेनौ ।’ भगवानले यसो भन्न् नभ्याउदै ति मानिसको इहलीला समाप्त भईसकेको थियो । 

सिकाइ : भगवानप्रती  आस्था छ भन्दैमा कर्म नगरि बस्नु हुँदैन । आखिर भगवानका अनेक रुप छन् । उनले असल काम गर्नेहरुको हित चिताउने र आफुले आफैलाई चिन्ने मान्छेलाई मात्र साथ दिन्छन् । उनी बहुरुपी छन् । उनले हाम्रा व्यवहारलाई अनेक रुपमा अनेक रङमा प्रकट भएर नियालिरहेका हुन्छन् । त्यसलाई हामीले पहिचान गर्न सक्नु पर्दछ । भगवानले सबैलाई मौका प्रदान गर्दछन् । त्यो मौकाको सही पहिचान गर्न सक्ने जो कोहिले पनि आफुलाई खुशी, सुखी र सम्पन्न बनाउन सक्छन् भने मौका नचिन्ने मान्छे चाँही सँधै असन्तोषी, दुखी र अभावग्रस्त बन्न पुग्दछन् ।     

जाँदाजाँदै,  “छुटेको अवसर भन्दा महँगो केहि हुँदैन ।”

Back to top