×

प्रकाश उपाध्याय ।   नेपाली राजनीतिमा गांधीवादी नेताका रुपमा परिचीत प्रदीप गिरीको भौतिक शरीर हामीबाट सदाका लागि टाढिएपनि उहाँका चिन्तन र जीवन दर्शन नेपाली समाजका लागि प्रेरणाको रुपमा युगौँसम्म रहीरहन्छन् । 

अध्ययन र चिन्तनमा रमाएर सादगीपूर्ण जीवन व्यतित गरी लोकतान्त्रिक आन्दोलन र समाजवादका लागि आफूलाई समर्पीत गर्ने, पद पैँसा र परिवारभन्दा समाज र राष्ट्रका लागि निर्धक्क सँग स्पष्ट बिचार राख्न सक्ने प्रतिभाशाली बौद्धिक व्यक्तित्व स्व.गिरी इतिहासको पानामा स्वर्णीम अक्षरले लेखिने नाम हो ।

विद्यार्थी जीवनमा भारतको बनारसमा हुँदादेखि वी.पी. कोराला, कृष्ण प्रसाद भट्टराई, आदि शीर्षस्थ बौद्धिक नेतृत्वको सानिध्यमा रहँदा वा त्यसपछि कृष्णप्रसाद भट्टराईसँग नख्खु जेलमा लामो समय बसेको हुँदा स्व. गिरीमा किशुन जीको जिवन शैली र गांधीवादी दर्शनको बढी प्रभाव परेको देखिन्छ । 

रामायण, गितादेखि कुरान बाइबलसम्म गांधीवाददेखि माक्सवाद, लेनिनवाद हुँदै माओवादसम्म,  कविरदासदेखि सुरदाससम्मको अध्ययनमा परांगत उर्दु, अंग्रेजी, हिन्दी सबै भाषामा गिरीको दक्षता देखिन्थ्यो । कुनै साहित्यीक रचना प्रकाशन नगरेपनि साहित्यको क्षेत्रमा समेत अब्बल दर्जाको ज्ञान हासिल गर्नु भएको स्व. गिरी नेपाली कांग्रेसका लागि मात्र नभइ नेपालका कम्युनिष्टहरु समेतका लागि कुशल प्रशिक्षक हुनुहुन्थ्यो । 

सामाजिक सञ्जालदेखि छापाहरुमा लेखिएका र बोलिएका अन्र्तवार्ता, वैचारिक बहसहरु सुन्न, पढ्न रुचाउने लाखौ स्रोता, पाठकका लागि प्रदीप गिरी एउटा बौद्धिक खुराक पनि हुनहुन्थ्यो । त्यति मात्र नभई संसदमा उहाँले आफ्नो सार गर्भत विचारहरु राख्दै गर्दा लाग्थ्यो, कुनै दलको एउटा सांसदले भन्दा पनि कुनै विद्वान दार्शनिकले प्रवचन दिइरहेका छन् । कोही पक्ष, विपक्ष नभई सिंगो संसदले गम्भिरताका साथ सुन्ने उहाँका उत्प्रेरक विचार अब संसदमा सुनीने छैनन् ।

भनिन्छ, “राजा स्वदेशमा पुजिन्छ, विद्वान सबैतिर” यस अर्थमा नेपालमा मात्र नभई छिमेकी राष्ट्र भारतदेखि अन्तराष्ट्रिय समाजवादी फोरमहरुमा पनि प्रदीप गिरीको लाखौ शुभेच्छुकहरु छन् । 
नेपालको समाजवादी आन्दोलनमा प्रदीप गिरीको अनुपस्थितीले ठूलो रिक्तता भएपनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा बी.पी. कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराइ, मनमोहन अधिकारी, गिरिजा प्रसाद कोइराल देखि मदन भण्डारीसम्मका ऐतिहासिक व्यक्तित्वका बिच समाजवादी चिन्तकका रुपमा नेता प्रदिप गिरीको नाम अंकित हुनेछ । 

समकालिन राजनीतिमा पद, प्रतिष्ठा र पैसाका लागि जस्तोसुकै कर्म, कुकर्म गर्न पछि नहट्ने नेताहरु ठूलै पदमा पुगेपनि इतिहासमा अजर अमर हुने देखिदैन । तर जिवनमा कहिले पनि मन्त्रीसम्मको चाहना नराख्ने भौतिकवादी, बिलासी जीवनलाई त्यागेर समाजवादी चिन्तनलाई व्यावहारमा उतार्दै दुःखमा पनि रमाएर बाँच्न रुचाउने महान व्यक्तित्व प्रदिप गिरी बर्तमान राजनीतिका लागि पनि एउटा प्रेरणाका स्रोत हुनुहुन्थ्यो । वास्तवमा भन्ने हो भने प्रदिप गिरी नेपाली कांग्रेसका नेता भन्दा पनि माथि राष्ट्रकै नेता धरोहर हुनुहुन्थ्यो । उहाँका बिचार प्रस्तुतीलाई संग्रह  गरी जगेर्ना गर्ने काम नेपाल सरकारले गर्दा भावी पुस्ताका लागि ठूलो अध्ययन सामाग्री वा राजनीति गर्नेका लागि मार्गदर्शक सिद्धान्त बन्नेछ । 

अन्त्यमा राजनीतिक नेताका रुपमा मैले प्रदिप गिरीसँग धेरै नजिकबाट सानिध्य हुने अवसर पाएको थिएन । तथापी एउटा दार्शनिक चिन्तनका रुपमा म स्वयम पनि उहाँको प्रसशंक शुभचिन्तक हो । छोटो समय श्रेद्धय नेता कृष्ण प्रसाद भट्टराईको सामिप्यतामा बस्ने सुअवसर प्राप्त हुँदाको कालखण्डमा मैले किशुन जी र प्रदीप दाइ बिचको अध्यात्मिक वा राजनीतिक बैचारिक वार्तालाप सुन्ने र सामिप्य हुने अवसर प्राप्त गरेको थिए ।

कुनै समय किशुन जी जस्तो उच्च व्यक्तित्वका सम्मुख आफ्नो प्रस्ट कुरा राख्ने वा दोहोरो संवाद गर्ने साहस ठूला भनाउँदा नेताहरुमा पनि थिएन । त्यसबेला पनि बडो सहज एवम् सरल रुपमा किशुन जीसँग समय सापेक्ष विषय सन्दर्भमा प्राय जसो हिन्दीमा दोहोरो संवाद गरी किशुन जीलाई समेत आफ्नो बौद्धिक प्रभाव पार्न सक्ने क्षमता राख्ने नेपाली कांग्रेसका गांधीवादी नेता, समाजवादी चिन्तक, दार्शनिक श्रेद्धय प्रदिप गिरीलाई १३ औँ दिनको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । 

Back to top