×

वीरगञ्ज २६ वैशाख । 

गत स्थानीय तहको निर्वाचनमा सुशील कुमार कानु जम्मा २६ वर्षका थिए । संविधानविरुद्ध चलिरहेको मधेश आन्दोलनको केन्द्रविन्दु बनेको वीरगञ्जमा तर्कसहित भाषण गर्ने आफ्नो कुशलताका कारण सुशीललाई छोटो समयमै सबैले चिने । स्पष्ट बोल्ने उनको भाषण सुनेर जोकोही पनि प्रभावित हुन्छन् । लाग्छ उनीसँग वर्षौँको राजनीतिक अनुभव छ । 

मधेश आन्दोलन सेलाएसँगै स्थानीय तहको निर्वाचन घोषणा भयो । झण्डै २ दशकपछि भईरहेको स्थानीय निर्वाचनमा साथीहरुले सुशीललाई पनि प्रतिस्पर्धा गर्न सुझाव दिए । तर भर्खरकै युवामाथि कसले विश्वास गर्ला, भोट आउँला की नआउँला भन्ने लामो असमञ्जस पश्चात उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बाट वडा अध्यक्षमा उम्मेदवारी दिने निधो गरे । 

परिवार र आफ्नो सामाजिक योगदान तथा मधेश आन्दोलनको पृष्ठभूमिसहित सुशील चुनावी मैदानमा उत्रिए । तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालले पनि उनीमाथि विश्वास गर्यो र वडा अध्यक्षको टिकट दियो । अब निर्वाचनको महाकुम्भबाट पछाडि हट्ने उनीसँग विकल्प थिएन । उनकै शब्दलाई सापटी लिने हो भने उनको जीवनकै सबैभन्दा ठूलो परीक्षा सुरु भइसकेको थियो । 

‘पहिलो पटक निर्वाचन लड्नु आगोमा हिड्नु सरह हुँदो रहेछ’ सुशील सुनाउँछन्, ‘हरेक कदममा खतरा । तर मैले निधो गरिसकेको थिएँ । जे हुन्छ हुन्छ । पछाडि हट्दिन । अन्तिम घडीसम्म डटेर उभि रहन्छु ।’ 

सुशील चुनावको तयारीमा जुटे । निर्वाचन लक्षित कार्यक्रमहरु सुरु गर्दा आफूलाई अनपेक्षित समर्थन पाएको उनी सम्झन्छन् । युवा मात्र नभएर वडाका वृद्ध, बुद्धिजीवी र व्यपारीले पनि साथ दिएको उनले बताए । ‘सुरुमा त म जस्तो राजनीतिक रुपले अपरिपक्क व्यक्तिलाई कसले साथ दिन्छ भन्ने लाग्थ्यो । तर घरदैलो गर्दा स्थानीयहरूबाट पाएको सहयोग र समर्थनले म आश्चर्यचकित भए । सबैले तिमी अगाडि बढ, हामी तिम्रो साथ छौँ भन्थे । यसले हिम्मत मिल्थ्यो ।’ 

जीवनको पहिलो निर्वाचन लडिरहेका सुशीलले वडावासीको सहयोग पाएर आफूमा हौसला थपिएको र अझै मेहनत गर्न ऊर्जा मिलेको बताउँछन् । 

यद्यपी उनका प्रतिद्वन्द्वी पनि कमजोर थिएनन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले जस्ता ठूला पार्टीका वयस्क र २ दशक लामो राजनीतिक पृष्ठभूमि बोकेका व्यक्तिसँग थियो । ‘प्रतिस्पर्धीको तुलनामा सुशीलसँग न पैसा र पहुँच थियो, न थियो यसअघि निर्वाचन लडेको कुनै अनुभव । थियो त केवल निर्वाचन लड्ने दृढ सङ्कल्प’ स्थानीय प्रदीप बरनवाल भन्छन्, ‘त्यही दृढ सङ्कल्पले सुशीललाई अगाडी धकेल्थ्यो, अविचलित हुन दिन्थेन । उनि निरन्तर खटिरहे । हामीबाट पनि उनको हौसला बढाउने काम हुन्थ्यो ।’ 

बिहानै जनताको घरदैलोमा जाने, भोट माग्ने, पार्टीको सम्पर्क कार्यालयमा आएका मान्छेलाई भेट्ने, उनीहरूको समस्या सुन्ने, समाधान गर्ने उनको दैनिकी कार्य बन्यो । प्रत्येक दिन उनले निर्वाचन लक्षित कार्यकम गर्थे । अघिल्लो दिन भएका त्रुटिहरू सच्याउँदै फेरि अर्को दिन जनताको घर दैलोमा पुग्थे । 

आँट भए जस्तो सुकै आँधिलाई पनि पार गर्न सकिन्छ भन्ने पाठ चुनाव लडेर  सिकेको सुशील बताउँछन् । “म त नयाँ थिएँ । जीवनमा पहिलो पटक चुनाव लडिरहेको एक २६ वर्षिय युवक । सँगै भएका अधिकतम साथीहरुसँग पनि राजनीतिक अनुभव खासै थिएन” सुशील सम्झन्छन्, “अर्को तर्फ प्रतिस्पर्धीहरुको गतिविधि जारी थियो । म मान्छे जोड्थे । उनीहरूले आएर तोडी दिन्थे । म जहिले पनि के गर्ने, कसरी गर्ने भन्ने दुविधामा हुन्थे । तर, जसरी पनि जित्नु छ भन्ने मसँग आँट चाहीँ थियो । त्यही आँटले मलाई अगाडि बढाइ रह्यो ।”

निर्वाचनको अघिल्लो रात के होला कस्तो होला भन्ने कौताहुलताले सुशीललाई निन्द्रा लागेन । “मौन अवधि चलिरहेका कारण कुनै गतिविधि गर्ने कुरै भएन । जसोतसो रात बिताए । बिहान हुने बित्तिकै मतदानस्थलमा पुगीयो” सुशील बताउँछन् ।

वीरगञ्जको दोस्रो ठूलो वडा भएको कारण दुई स्थानमा मतदान हुँदै थियो । कहिले घर नजिकैको कबर्ड हल त कहिले बाल मन्दिर पुगेको सम्झदै सुशीलले सुनाए, “मतदान चलिरहेको थियो । दुवै ठाउँमा पुगेर भोट माग्थे । कहिले यहाँ, अनि कहिले त्यहाँ । मत खसाएर आएका युवाहरुले तिम्रो जित निश्चित छ भनेर अँगालो मार्थे भने ठूलाहरुले पिठ्यु थपथपाउँदै आशिर्वाद दिन्थे । मलाई पनि आफ्नो तयारीमा विश्वास थियो । मेहनत गरेको थिएँ । बिहान उठ्दादेखिको बेचैनी मतदाताहरुको कुरा सुनेपछि कम भयो ।”

मतदान पश्चात आयो मतगणनाको समय । निर्वाचन आयोगले पहिले सुरुको वडा नम्बर १ र अन्तिमको वडा नम्बर ३२ को मतपेटिका खोल्ने निर्णय गर्यो । सुशीलको वडा नम्बर १० को मतपेटिका खोल्न अँझै समय थियो । आफ्नो वडाको पालो नआएसम्म सुशीलको भोक प्यास सबै हराएको थियो । अन्ततः मतगणनाको अद्यावधिक सूचना दिइरहेका व्यक्तिले कराएँ, ‘वडा नम्बर १० को मतगणना सुरु हुँदैछ । उम्मेदवारहरुले आ–आफ्ना प्रतिनिधि पठाउनु होला ।’ यति सुनेपछि सुशीलले हतार हतारमा आफ्नो प्रतिनिधि भित्र पठाए ।

मतपरिणामहरुको गन्ती सुरु भयो, पहिलो चरणमा घडिअर्वास्थित कबर्ड हलको मतपेटीको गन्ति हुँदा सुशील अगाडि थिए र त्यहाँको मतगणना सक्दासम्म पनि उनको ३६ मतले अग्रता कायम रह्यो । दोस्रो चरणमा आदर्शनगरस्थित बालमन्दिरको मतपेटिकाको गन्ति सुरु भयो तर त्यहाँ उनले सोचे जस्तो परिणाम आएन, अन्त्यमा गएर उनि सय भोटको झिनो मतान्तरले उपविजेता बन्न पुगे । 

दशकौँ लाम राजनीति इतिहास बोकेकाहरुसँग जीवनको पहिलो निर्वाचनमा सुशीललाई सानो मतको अन्तरले हार व्यहोर्नु पर्यो ।

‘मतपरिणामको अन्तिम नतिजा साथीहरुले सुनाउँदा एक छिनको लागि म आतिएँ । तर एउटा निर्वाचन हार्दैमा जीवननै सक्ने होइन भन्ने कुरा बडाबुजुर्गहरुले सम्झाउँदा म सम्भालिए,’ सुशीललाई सम्झना छ, ‘उहाँहरुले भन्नुभएको थियो तिमि अर्को पटक निश्चित रुपले जित्छौं, आफ्नो महिनेतलाई निरन्तरता देउ भन्नुभयो । मैले उहाँको सुझावलाई माने र पाएको मतलाई वडावासीहरुको माया बुझेर नपाएको मतलाई महिनेत गर्नुपर्ने पाठ बनाउँदै र अगाडि बढे ।’ 

निर्वाचनमा हारेपनि महानगरपालिकामा जानु सुशीलको भाग्यमा लेखिएको रहेछ । सांगठनिक रुपमा गरेको कामलाई मूल्यांकन गर्दै पार्टीले फेरी पनि उनीमाथि विश्वास गर्दै महानगरपालिकाको कार्यपालिका सदस्यको रुपमा लड्न अवसर दियो र यस पटक मतपरिणाम पनि उनको पक्षमा आयो । कार्यपालिका सदस्यको रुपमा सुशीलले आफ्नो क्षमताभन्दा पनि बढी काम गरेर देखाए र कुशलता पूर्वक जिम्मेवारी निर्वाह गर्दै विशेष पहल गरेर आफ्नो वडामा विकास निर्माणका विभिन्न योजनाहरु ल्याएर सम्पन्न पानी गराए । 

वीरगञ्ज कोभिड-१९ महामारीको  हटस्पट बन्दा सुशीलले महानगरनगरपालिका र अन्य सङ्घ संस्थाहरुसँग समन्वय गरेर वडा मात्र नभएर नगरका विभिन्न ठाउँमा पुगेर गरिव, विपन्न र असाहयहरुलाई राहत वितरणदेखि, स्वास्थ्य उपचार, औषधी, अक्सिजन व्यवस्थापनसम्ममा पनि सहयोग गरे । कोभिड कालमा उनले गरेको कार्यको वीरगञ्जवासीले आज पनि उदाहरण दिन्छन ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सुशीलले त्यही सक्रियताको परिणामस्वरुप पार्टीबाट पुनः वडा अध्यक्षको टिकट पाएका छन् ।

गत निर्वाचनबाट सिकेको पाठ र विगत साढे ४ वर्षमा कार्यपालिका सदस्यका रुपमा उनले बटुलेको अनुभवलाई लिएर उनि फेरी पनि चुनावी मैदानमा छन् । पराजित भएर पनि सुशिलकै पहलमा वडा नम्बर १० मा स्वास्थ्य चौकी निर्माण हुनु, बौधि माई मन्दिर प्रांगनमा ढलान हुनु, कुमारी माई मन्दिरमा धर्मशाला मर्मत सम्भार हुनु, ठाकुरराम क्याम्पसमा छात्रावास मर्मत हुनु, ग्यालेक्सी स्कुल नजिक सडक ढलान हुनुलगायतका कामहरुको वडाबासीले मूल्यांकन गर्ने उनको भनाई छ ।

पराजित भएर पनि धेरै काम गर्ने व्यक्तिले निर्वाचित भएपछि वडाको कायापलट गर्ने वडाबासीको प्रतिक्रिया छ । वडाबासीको आशिर्वाद, माया र समर्थनले गत निर्वाचनमा पराजय भोग्दा एकजना अग्रजले भन्नुभएको कुरा ‘तिमी अहिले हारेपनि पिर नगर अर्को पटक जित्छौ’ म स्मरण गर्छु । त्यही कुरालाई सार्थकतामा बदल्ने भन्ने दृढता पनि बोकेको छु । 

अटल आत्मविश्वास र दृढ संकल्पका साथ वडाबासीको सेवा गर्ने र वडाको बिकास गर्ने सुशिलको अठोटलाई उनका अभिभावक र सहपाठीसँगै समर्थकहरुको शुभेच्छाले पनि थप टेवा पुगेको छ । 

Back to top