×

नीरज पिठाकोटे ।  स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलहरु मतदाता रिझाउन लागिरहेको बेला नेकपा माओवादी केन्द्र पर्सामा भने रमिता भएको छ । व्यवस्था परिवर्तनको लागि सर्वहारा वर्गको नेतृत्व गरेर जनयुद्धको जगबाट स्थापित नेकपा माओवादी केन्द्र पर्सामा भने बलियो आधार बनाउन सकेको छैन । कार्यकर्ता भन्दा नेता धेरै भएर माओवादी केन्द्र पर्सामा पार्टीको जनाधार बन्न नसकेको हो ।

जनयुद्धकालका नेता कार्यकर्ता र नवआगन्तुक नेता कार्यकर्ताहरुबीचको मतभेदका कारण नेकपा माओवादी केन्द्र पर्साको संगठन कमजोर बन्दै गएको छ । लामो समयदेखिको आन्तरिक विवाद बुधबार पार्टी कार्यालयमा भएको तोडफोडले छताछुल्ल पारेको छ । बुधबार दिउँसो नेकपा माओवादी केन्द्रको राधेमाई स्थित पार्टी कार्यालयमा तोडफोड भएको छ ।

तोडफोडमा महानगर अध्यक्ष रहबर अन्सारी पक्षका नेता कार्यकर्ताहरु रहेको पर्सा जिल्ला इन्चार्ज विजय महतोले आरोप लगाएका छन् । रहबर अन्सारीले भने घटनामा आफ्नो नाम मुछेकोप्रति आपत्ति जनाएका छन् ।  उनले त्यस घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । महतो र अन्सारी उर्मिला अर्याल पक्षकै भएपनि उनीहरुबीच पार्टीमा विवाद छ भन्ने बुधबारको घटनाले पुष्टि गरेको छ ।

संगठन आसन्न स्थानीय तहको निर्वाचनमा कसरी जित्ने भन्ने रणनीतिका साथ अगाडि बढ्नुपर्ने समयमा आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेर विपक्षीहरुलाई घेराबन्दी गर्न सहज मात्रै बनाएका छैनन् । जग नै हँसाएका छ् । जनयुद्धको जग र ०६२÷०६३ को संयुक्त जनआन्दोलनबाट ल्याईएको व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका नेकपा माओवादी केन्द्रको रहेपनि माओवादीकै सहयोगमा ल्याएको व्यवस्थाको फाईदा उठाएर अहिले माओवादीलाई नै हत्यारा भन्दै चौतर्फी घेराबन्दी गरिरहेको अवस्थामा आफै आफैमा विवाद गरेर संगठनलाई बदनाम र कमजोर बनाउदै छन् ।

संगठन बलियो बनाउने भन्दा पनि आफ्ना नजिकका व्यक्तिहरुलाई पार्टीमा बोकेर हिड्ने प्रवृत्तिले संगठनको जग धरासायी बन्दै गएको छ । खास गरी उर्मिला अर्यालको नेकपा माओवादी केन्द्रमा प्रवेशपछि पर्सामा जनयुद्धकालका नेता कार्यकर्ताहरु पाखा लाग्दै आएका छन् । उर्मिला अर्यालसँगै  नारायणकाजी श्रेष्ठ र मातृका यादव समूहका नेता कार्यकर्ताहरुको त्रीपक्षीय आन्तरिक द्वन्द्वले नेकपा माओवादी केन्द्र पर्साको संगठन कमजोर बन्दै गएको छ ।

त्रीपक्षीय द्वन्द्वलाई पार्टीको केन्द्रले समेत व्यावस्थापन गर्न सकेको छैन । कुनैपनि राजनीतिक विचारसँग आवद्ध हुनेहरु पार्टी संगठनको विधि, पद्धति र निर्णय मान्न बाध्य हुन्छन् । त्यो कार्यकर्ताको अनुशासन पनि हो । तर, आफू र आफ्नो मान्छे भए ठिक नभए बेठिक भन्नेहरुकै जमातका कारण नेकपा माओवादी केन्द्रको पर्सामा संगठन कहिल्यै बलियो बन्न सकेन । विवाद मिलाउन र व्यावस्थापनमा पनि माओवादी केन्द्रको केन्द्रीय नेतृत्व चुकेको छ ।

नेकपा माओवादी केन्द्रले आयोजना गर्ने जुनसुकै कार्यक्रममा पनि असन्तुष्टी नरहेको सम्भवतः कमै होला ! यति अराजकता पार्टी संगठनमा हुन्छ ? जनयुद्धबाट आएका र २०६४ सालपछि माओवादी केन्द्रमा प्रवेश गरेकाहरुबीच वैचारिक अन्तरघुलन हुन नसक्दा पार्टीमा समस्या देखिएको छ । नवप्रवेशीहरुले अवसर पाईराख्ने र जनयुद्धकालदेखि नै लागेका नेताहरुलाई नेतृत्वमा विश्वास नगर्दा हिजो ज्यानको बाजी लगाएर पार्टीमा लागेका नेता कार्यकर्ताहरुको मनोवल कमजोर भएको र पार्टी पनि कमजोर बन्दै गएको पूराना माओवादी नेता कार्यकर्ताहरुको बुझाई छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको तीनवटा स्थानीय तहमध्य अहिले दुईवटा स्थानीय तहका प्रमुखहरु नै एमालेमा प्रवेश गरेका छन् । त्यसबेला जितेका स्थानीय तह मध्य ठोरी गाउँपालिका मात्रै आगामी स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा आउन सक्ने अनुमान गर्न सकिन्छ । अन्य स्थानीय तहमा जतिसुकै दावी रहेपनि पार्टी संगठनको कमजोर उपस्थितिले जित्न सक्ने सम्भावना कमै छ । बुधबार पार्टी कार्यालयमा भएको घटनाले झन पार्टीलाई कमजोर बनाउने देखिन्छ ।

पाँचदलीय गठबन्धन गर्दा पनि सबैभन्दा कमजोर देखिएको नेकपा माओवादी केन्द्र भर्खरै एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको जति पनि हैसियत राख्न सकेको छैन । गठबन्धन गर्ने केन्द्रीय निर्णयका विरुद्धमा नेपाली कांग्रेस वीरगञ्ज महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर गठबन्धनको निर्णय नमान्ने बरु एक्लै चुनाव लड्ने केन्द्रलाई चुनौती दिएको छ ।

नेकपा माओवादी केन्द्रको हैसियत आंकलन गरेर नै गठबन्धन भन्दा अलग भएर निर्वाचन जित्न सकिन्छ भन्ने अन्य राजनीतिक दलहरुको आत्मबल बढाउन बुधबारको घटनाले मद्दत पु–याएको छ । पार्टीको आन्तरिक विवाद पार्टी भित्रै मिलाउनुपर्ने ठाउँमा पार्टीका जिल्ला अध्यक्ष र इञ्चार्जले महानगर अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी गरिएको कारवाही झन पार्टीको कमजोर नेतृत्व प्रष्ट्याएको छ । 

किनभने, माओवादी केन्द्रको पार्टी संरचना अनुसार अहिले जिल्ला समन्वय समिति मात्रै छ । महानगरलाई जिल्ला सरहको समानान्तर कमिटिको मान्यता दिएको छ । महानगरका अध्यक्षलाई कारवाही गर्ने हैसियत प्रदेश कमिटिको सिफारिसमा केन्द्रले मात्रै गर्न सक्ने व्यवस्था छ ।

पार्टीका इञ्चार्ज विजय महतोको आधारलाई सही मान्ने हो भने । महानगर अध्यक्ष रहबर अन्सारीलाई पार्टीले कडा कारवाही नै गर्नुपर्छ । किनभने स्थानीय तहको निर्वाचनका लागि एकतावद्ध भएर अगाडि हिड्नुपर्ने समयमा पार्टीलाई नै क्षति पुग्नेगरी तोडफोड गर्नु, पार्टीको हित विपरीतका कार्य गर्नु वाञ्छनीय होईन ।

संगठनको विधि, पद्धतिमा नेता कार्यकर्ताहरु अनुशासनमा नबस्ने र आचरण नसुधार्ने हो भने जोसुकै भएपनि कारवाहीको भागीदार बन्नुपर्छ । अझ आफ्नै पार्टीको कार्यालय नै तोडफोड गर्नेलाई राजनीतिक भविष्य नै नरहने गरी कठोर कारवाही गरिनुपर्छ । तर, पार्टीभित्र मतभेद भयो भन्दैमा विपक्षीहरुलाई रमिता हेर्न र जग हसाउँने काम भने कुनै पक्षबाट नहोस भन्ने आम माओवाद विचारधारासँग आवद्ध क्रान्तीकारीहरुको चाहाना र इच्छा हो । सबैले बेलैमा सच्चिन जरुरी छ ।

ट्रिब्युन न्युजबाटा साभार । 

Back to top