वीरगञ्ज, १ फागुन । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेसँगै पर्सामा चुनावी सरगर्मी बढेको छ ।
जिल्लामा रहेका १४ वटै स्थानीय तहमा प्रमुख, उपप्रमुख र वडाअध्यक्षदेखि वडा सदस्यसम्मका उम्मेदवार अहिले आ–आफ्नो हिसाबले निर्वाचनको तयारीमा लागेका छन् । केहीले आफुलाई उम्मेदवार हुँ भनेर सामाजिक सञ्जालमा अरुमार्फत आफ्नो विज्ञापन गराइरहेका छन् भने केहीले त घरदैलो नै सुरु गरिसकेका छन् । अर्कोतर्फ आफ्नो टिकट सुरक्षित गर्न केही नेताहरु पार्टी परित्याग गरेर अन्यमा प्रवेश गरिरहेका छन् ।
निर्वाचन घोषणासँगै पर्सामा यस्ता गतिविधिको सुरुवातलाई सामान्य भन्न सकिन्छ । किनभने, गत स्थानीय तहको निर्वाचनमा पनि हामीले केही यस्तै दृष्यहरु देखेका थियौँ ।
घरदैलो सुरु गरिसकेका एक नेता हुन् पोखरिया नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट मेयर पदका उम्मेदवार नेजामुदिन समानी (मियाँ) । सरकारले गत साता निर्वाचनको मिति घोषणा गरेसँगै उनले घरदैलो सुरु गरिसकेका छन् । अघिल्लो निर्वाचनमा पनि तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयर पदका लागि उम्मेदवारी दिएका समानी नेपाली जनता दलका उम्मेदवार दीपनारायण रौनियारसँग २ हजारभन्दा पनि बढीको मतान्तरले पराजित भएका थिए । तर यसपटक जनता आफ्नो पक्षमा रहेकोमा समानी विश्वस्त छन् ।
“गत निर्वाचनमा धेरै मत ल्याउन सकिन तर यसपटक निश्चित रुपले जित्छु । किनभने हारेपनि मैले ४ वर्षसम्म जनताको बीचमा रहेर काम गरेको छु” समानीले यात्राडेलीलाई भने । निर्वाचित जनप्रतिनिधिहरुले विकासको कुनै काम नगर्दा जनतामा उनीहरु प्रतिको विश्वास घटेर गएको समानी बताउँछन् । आफुलाई जनताले यस पटक उम्मेदवारी दिन लगाएको उनको दावी छ ।
त्यसैगरी विन्दवासिनी गाउँपालिकामा अध्यक्ष पदका दावेदार मधुसुदन चौरसियाले पनि गाउँ–गाउँमा पुगेर राजनीतिक भेटघाट र सङ्गठन विस्तारलाई तीव्रता दिएका छन् । पूर्व डीआईजी रमेश खरेलको संयोजक्वमा गठित नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिन लागेका चौरसिया जिल्लाकै सबैभन्दा कान्छो उम्मेदवार पनि हुन् । ठाकुरराम क्याम्पसको विद्यार्थी हुँदादेखि राजनीति सुरुवात गरेका चौरसिया अहिले धेरै अगाडी बढिसकेका छन् ।
विन्दवासिनी गाउँपालिकाको अध्यक्ष जितेर युवाले पनि नेतृत्व गर्न सक्छन भन्ने उदाहरण बन्ने उनको सपना छ । सपनालाई सार्थक बनाउन आफुले जनताको सहयोग पनि पाइरहेको बताउँदै उनले भने, “गरिवको छोरा हुँ भनेर जनतासँग भोट मागी अहिले राजा बनेकाहरुसँग सबै आजित छन् । कमिसनखोरी र भ्रष्टचारी बाहेक हाल निर्वाचित जनप्रतिनीधिले केही गर्न जानेकै छैनन् । जनताले परिवर्तन खोजिरहेका छन् र त्यो परिवर्तन म हुँ ।” युवाहरुका विच लोकप्रिय रहेका चौरसियाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई आफ्नो मुख्य अजेण्डा बनाएका छन् । नयाँ सोचका साथ अगाडी बढिरहेका उनलाई जनसमर्थन पनि राम्रो पाइरहेको छ ।
मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जमा फेरिपनि उपमेयरमा उम्मेदवारी दिने सोच बनाएकी लोसपा नेतृ रम्भा मिश्राले पनि घरदैलो सुरु गरेकी छन् । वडा–वडामा पुगेर जनतासँग भेटघाट गर्नेदेखि सङ्गठन विस्तार र पार्टी भित्र छलफलमा मिश्राको अहिले व्यस्तता छ । गत निर्वाचनमा तत्कालिन राजपाबाट उपमेयर उठेकी मिश्रा नेपाली काङ्ग्रेसकी शान्ति कार्कीसँग पराजित भएकी थिइन् । तर यस पटक उपमेयरमा आफू निर्विकल्प रहेको उनको विश्वास छ ।
“वीरगञ्जको उपमेयर शिक्षित र नेतृत्व क्षमता भएको व्यक्ति हुनुपर्छ । महिला अधिकारसँगै सामाजिक काम र राजनीतिमा पनि सक्रियताका साथ मैले गरेको योगदानको जनताले पनि मूल्याङ्कन गर्नेछन् भन्नेमा म ढुक्क छु”, मिश्राले यात्राडेलीसँगको संवादमा भनिन् । अहिलेको अवस्थामा महिलालाई कसरी अगाडी बढाउँने, सक्षम र योग्य कसरी बनाउने विषयमा गहन अध्ययन गरेर आफूले गुरु योजना बनाएको दावी गर्दै मिश्राले थपिन्, “उपमेयरले कसरी काम गर्छ र उसको अधिकार के हुन्छ त्यो म निर्वाचित भएपछि सबैले देख्नेछन ।”
विद्यार्थी र मधेस आन्दोलनको पृष्ठभूमि बोकेका यसवन्त यादवले फेरी पनि सखुवा प्रसौनी गाउँपालिकामा अध्यक्ष पदका लागि दावेदारी दिन लागेका छन् । पछिल्लो पटक स्वतन्त्र उम्मेदवार रहेका यादव यसपटक नेकपा एमालेबाट लड्दै छन् । यादवले पनि वडा भेला र सङ्गठन विस्तारलाई तीव्रता दिएका छन् । निर्वाचित व्यक्तिले अपेक्षाअनुसारको काम नगरेर भ्रष्टाचारमै तल्लिन भएको आरोप लगाउँदै यादवले अबको जिम्मेवारी युवाको काँधमा आउनुपर्ने अडान राखेका छन् ।
गाउँपालिकाबासीले स्थानीय सरकार स्थापनापश्चात कुनै पनि विकासको आभाष गर्न नपाएको हुँदा असक्षम जनप्रतीनीधिको विकल्पमा जनताले युवालाई अवसर दिने यादवको दावी छ । “विकास कसरी गरिन्छ त्यो अहिलेका जनप्रतिनिधिलाई थाहा नै छैन । पैसा खर्चेर जितेका उनीहरुलाई राजनीति पनि व्यापार जस्तै लाग्छ,” यादवले यात्रा डेलीलाई भने, “जनताको चाहनाभन्दा पनि आफ्ना नेताको चाहना अनुसार चल्नेहरुलाई अब वहिष्कार गर्नुपर्छ र आगामी निर्वाचनमा जनताले सबैको घमण्ड तोड्ने छन् ।” गाउँपालिकाले युवा उम्मेदवार पाउँदा जनता पनि खुशी छन् ।
अन्य नेताहरुले घरदैलो र सङ्गठन सुद्धिढ गरिरहेका बेला जिल्लामै प्रभावशाली नेता मानिने राजेशमान सिंहले पार्टी परिवर्तन गरेर सबैलाई चकित पारेका छन् । लामो समयदेखि मधेस मुद्दालाई आफ्नो प्रमुख अजेण्डा बनाएर राजनीति गर्दै आएका सिंहले एकाएक लोसपा त्यागेर नेकपा एमाले प्रवेश गरेका हुन् । सिंह गत निर्वाचनमा वीरगञ्ज महानगरको मेयरका उम्मेदवार थिए । उनलाई तत्कालिन सङ्घीय समाजवादीका विजयकुमार सरावगीले ठूलै मतले पराजित गरे । आगामी निर्वाचनमा पनि मेयरमा उनले आफ्नो दावेदावी दिने निश्चित छ । तर लोसपाबाट यस पटक वीरगञ्जका पूर्वमेयर र हाल प्रतिनिधिसभा सदस्य विमलप्रसाद श्रीवास्तवले टिकट पाउने देखेपछि सिंहले पार्टी परित्यागलाई सेफ ल्याण्डीङ देखेर एमाले रोजेका छन् ।
यद्दपी लोसपाले मधेस आन्दोलनलाई भजाएर सत्ता कब्जा गर्ने राजनीति मात्र गरेको कारण आफुले एमाले रोजेको सिंह बताउँछन् । मधेसवादी दलभन्दा पनि बढी मधेस मुद्दाको चिन्ता एमालेलाई रहेको दावी गर्दै उनले भनेका छन्, “मधेसको माग पूरा गराउने कुनै पार्टीले हैसियत राक्छ भने त्यो एमाले मात्र हो । त्यसले मधेसवादी दल जस्तो अधुरोमा सत्ता कुम्ल्याउनका लागि मात्र राजनीति गर्दैन, नगदीमा मधेसको मागलाई सम्बोधन गरेर देखाउँछ ।”
बाहिरी रुपमा सक्रिय नदेखिएपनि सिंहका सहयोगी र समर्थकहरुले सामाजिक सञ्जालमा उनलाई मेयर घोषणा गरिसकेका छन् । चार वर्षसम्म सिंहले वीरगञ्जका मेयरको विपक्षीका रुपमा खासै गतिविधि नगरेका उनले पछिल्लो समय महानगरको कमीकमजोरीमाथि बोल्न सुरु गरेका छन् ।
निर्वाचन मिति निजिकिंदै जाँदा अहिले अझैपनि धेरै उम्मेदवारहरु आ-आफ्नो अजेण्डा र प्रतिबद्धताहरु लिएर अगाडी आउने नै छन् । यद्दपी उम्मेदवारहरुले जती तिकडमबाजी गरेपनि अन्त्यमा जनताले मन पराएका व्यक्तिले नै सत्ताको साँचो पाउने हो । जनता मासु र रक्सीमा अनि सानोतिनो प्रलोभनमा फसेर भोट दिन्छन् भन्ने आम बुझाईलाई गलत साबित गर्न र जनता सचेत भईसकेका छन् भन्ने कुरा प्रमाणित गर्न पनि सक्षम व्यक्तिलाई नै सत्ता सुम्पिनुपर्ने जनतामाझ चुनौती आएको छ ।