वीरगञ्ज, २८ माघ । जिल्लाका एक प्रभावशाली नेता राजेशमान सिंहले पार्टी त्याग गरेकै दिन लोकतान्तिक समाजवादी पार्टी (लोसपा) नेपाल पर्साका अर्का नेताले पनि पार्टीबाट विदा लिएका छन् ।
लोसपा पर्साका पोखरिया नगर कमिटीका अध्यक्ष राजु साह तेलीले पनि पार्टी परित्याग गरेका हुन् ।
सिंहले एमाले प्रवेश गरेका छन् भने तेलीले अर्को मधेसवादी दल जनता समाजवादी पार्टी (जसपा) लाई रोजेका छन् ।
तेलीले शुक्रबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी लोसपा परित्याग गरेको जानकारी गराएका छन् ।
लोसपा ओलिको मतियार बनेर मधेसको भवना विपरित क्रियाकलापमा सक्रिय भई विधिविधान बाहिर गैर पार्टी सञ्चालन गरेको तेलीले आरोप लगाएका छन् ।
आफू मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरि मधेसको लागि लडाइ गर्दै आएको बताउँदै तेलीले अब मधेसी जनताको अधिकारका लागि सङ्घर्ष जसपामा रहेर गर्ने जनाएका छन् ।
तेलीले आफूसँगै एउटा ठूलो कार्यकर्ताको समूहले लोसपा त्यागेर जसपा प्रवेश गर्न लागेको जनाएका छन् । पार्टी प्रवेशको विषयमा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट र छलफल गएको तस्विर पनि तेलीले सार्वजनिक गरेका छन् ।
पोखरियामा केही दिन भित्रै उपेन्द्र यादवको उपस्थितिमा हुने पार्टी प्रवेश कार्यक्रममा तेलीलगायत पोखरिया क्षेत्रका अन्य नेताले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जसपा पर्साको एउटा समूहका अध्यक्ष रामनरेश यादवले जानकरी दिए ।