वीरगञ्ज, २८ माघ । बैँशाख ३० गते स्थानीय तहको निर्वाचन हुने निर्णयसँगै मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जमा चुनावी सरगर्मी बढ्दै गईरहेको छ । अब पार्टीका नेताहरु पुनः भोट कसरी हात पार्न सकिन्छ भन्ने रणनीति बुन्न लागिरहेका छन् ।
यसअघिको निर्वाचनमा गरेका प्रतिबद्धताहरु नै पूरा नगरेपछि अब यो निर्वाचनमा के आश्वासन देखाउने भन्ने ध्याउन्नमा नेताहरुको व्यस्तता बढेको पाइन्छ । देशमा संघीयता आईसकेपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनीधिहरुका लागि अवसर र चुनौती एकैपटक आयो ।
यद्यपी कतिपयले अवसरको सदुपयोग गर्दै पुनः भारी मत आफ्नै पोल्टोमा पार्न सक्ने गरी जनविश्वास जिते भने कतिपय आलोचित बने । अबको चुनावमा त्यसको प्रतिफल त देखिने नै छ । तर एकपटक यसअघिकै निर्वाचनको परिणामअनुसार कसको क्षमता कति थियो भन्ने कुरा स्मरण गरौँ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको नगरप्रमुखका लागि रस्साकस्सीका बिच तत्कालिन संघीय समाजवादी फोरमका उम्मेदवार विजय कुमार सरावगी बिजयी भए । उनले १९ हजार ३ सय ९३ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका अजय कुमार द्विवेदीले १७ हजार १ सय ९७ मत ल्याएका थिए ।
तत्कालीन राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १२ हजार १ सय ६५ मत ल्याउँदा नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएका विमलप्रसाद श्रीवास्तवले ८ हजार ७ सय १ मत प्राप्त गरेका थिए । नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार महम्मद बसरुद्दिन अन्सारीले ८ हजार ६ सय ९९ र एकाएक विदेशबाट आएर नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका रहवर अन्सारी सबैभन्दा पछि पर्दै ८ हजार ३ सय ५ मतमै सिमित भए ।
वि.स. २०६८ सालको जनगणनाअनुसार वीरगञ्ज महानगरपालिकाको २ लाख ४४ हजार ८६ जनसंख्यामध्ये १ लाख ८ हजार ५ सय १ मतदाता रहेका थिए । तिमध्ये ८४ हजार ३३ मत खसेको थियो । नगरप्रमुखका लागि ३४ जनाले उम्मेदवारी दिएका थिए ।
अब आगामी निर्वाचनमा हालका नगरप्रमुख सरावगी र राजेशमान सिँहले पुनः उम्मेदवारी दिने घोषणा गरीसकेका छन् भने अरु कसको अनुहार दोहोरिन्छ र को नयाँ थपिन्छन् हेर्न बाँकी नै छ । अहिले पार्टीमा आएको उथलपुथल र राजनीति उतारचढावका कारण यसअघिको भन्दा आगामी निर्वाचनको नतिजामा उल्लेख्य परिवर्तन हुन सक्ने अनुमान लगाउन सकिन्छ ।