×

वीरगञ्ज २७ माघ । वीरगञ्जमा बिहिबार नेपाली कांग्रेस पर्साले गरेको विरोध प्रदर्शनलाई स्थानीयले "राजनीतिक स्टन्ट" को संज्ञा दिएका छन् ।

कांग्रेसले वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधिविरुद्ध यहाँको घण्टाघरदेखि र्‍याली निकालेर नाराबाजी लगाउँदै गरेको विरोध प्रदर्शनलाई स्थानीयहरुद्वारा राजनीतिक स्टन्टको संज्ञा दिइएको हो ।

विगत चार वर्षदेखि विपक्षी दलका रुपमा महानगरका जनप्रतिनिधिलाई खबरदारी नगरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा पश्चात विरोध प्रदर्शन गरिएको भन्दै कार्यक्रमलाई धेरैले सामाजिक सञ्जाल मार्फत राजनीतिक स्टन्ट भनेका छन् ।

नेपाली कांग्रेसले विपक्षीको भूमिका नखेल्दा नगरप्रमुख (मेयर) विजयकुमार सरावगीले मनपरी गरेको, आफुखुसि निर्णय गरेको, कर्मचारी भर्ना गरेको, विकासको नाममा भ्रष्टाचारी गरेको वीरगञ्ज-९ का हिरालाल ठाकुरले बताए । "कांग्रेसले आज नौटंकी गर्दै छ, चार वर्षसम्म चुप बस्ने अनि निर्वाचन घोषणा भएपछि सडकमा आएर विरोध गर्ने, 'ठाकुरले भने, 'विपक्षीको भूमिका मात्र खलेको भए वीरगञ्जमा विकास हुन्थ्यो, मेयरले आफुखुसि गर्न थिएनन्  ।'

ठूलो संख्यामा कांग्रेसका जनप्रतिनिधि वीरगञ्ज महानगरको वडा अध्यक्ष र कार्यपालिकाको सदस्यका रुपमा रहेपनि नगरप्रमुख विजयकुमार सरावगीले गरेको निर्णयहरुको कांग्रेसले विरोधसमेत नगरेको स्थानीयहरुको आरोप छ । वीरगञ्ज महानगरमा उपमेयर शान्ती कार्कीसहित कांग्रेसका १० जना वडा अध्यक्ष र कार्यपालिका सदस्य छन् ।

महानगरको बोर्डमा बाक्लो उपस्थिति हुँदाहुँदै पनि चारवर्षसम्म विरोध नगरी अहिले आएर निर्वाचन घोषणा पश्चात सडकमा आएर कांग्रेसले राजनीतिक स्टन्ट नै गर्न खोजेको वीरगञ्ज-८ का रोशन शर्मा बताउँछन् ।    

नेपाली कांग्रेस वीरगञ्ज महानगरको प्रमुख प्रतिपक्षी दल भएपनि चार वर्षदेखि स्थानीयहरुले विपक्षीको भूमिका नदेखे र मेयर अगाडी कांग्रेसका निर्वाचित जनप्रतिनिधि नत्मस्तक रहेको आरोप लगाउँदै स्थानीय युवा सुमित चौरसियाले लेखेका छन्, "यो जुलुस देख्दा हासो उठेर आएको छ । यो चुनावी स्टन्ट मात्रै हो, महानगरमा सबै भन्दा हूलो प्रतिपक्षी पार्टी नेपाली कांग्रेस पार्टी हो, उपमेयर तपाईको पार्टीबाट निर्वाचित हुनुभएको छ तरपनि महानगरमा प्रतिपक्षी दल छ भन्ने वीरगञ्जवासीहरुलाई कहिले लागेन । अहिलेसम्म मेयरको प्रत्येक एजेण्डा र मुद्दामा तपाईहरुको पार्टी सधै नत्मस्तक रहेको छ । मेयरले जे चाहे त्यो निर्णय गरेकाका छन् तर तपाईहरुको जनप्रतिनीधिले कहिल्यै विरोध गरेनन्, नोट अफ डीसेन्ट लेखेनन्, यसको राज के थियो त? के त्यो बताउनु हुन्छ तपाईहरुले ? वीरगञ्जको जनताले सब हेर्दैछ, तपाईहरुको चुनावी स्टन्ट ।"

बिहिबार वीरगञ्जमा निर्वाचित जनप्रतिनिधिले काम नगरेर सुतिरहेको आरोप लगाउँदै कांग्रेस नेता कञ्‍चन झा र क्षेत्रीय सभापति मोहम्मद शहाबुद्दीनको नेतृत्वमा निस्केको विरोध र्‍याली माइस्थान पुगेको थियो । त्यहाँ पुगेको र्‍यालीले सांकेतिक विरोध स्वरूप गहवामाई मन्दिरमा वीरगञ्जको कल्याण गरिदिने प्रार्थना गर्दै एक सुत्रीय गुहार पत्र बुझाएको थियो । गुहार पत्र मार्फत वीरगञ्जको वजूद जोगाइराख्न र यहाँको वैभव फर्काउँदै समृद्धितर्फ अघि बढाउन गहवामाईसँग माग गरिएको छ ।

गुहार पत्र बुझाउँदै नेता झाले वीरगञ्जको उत्थान गर्ने र वैभव फर्काउने दृढ संकल्प बोकेको क्षमतावान व्यक्ति अहिलेसम्म नभेटिएको बताए । वीरगञ्जका यावत समस्याहरू समाधान गर्न सक्ने व्यक्ति नभेटीएपछि युवाहरू आज विरोध गर्न बाध्य भएको उनको भनाई थियो ।

Back to top