वीरगञ्ज २७ माघ । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का नेता राजेशमान सिंहले नेकपा एमाले प्रवेश गरेको विषयमा आएको समाचार र टिप्पणीका विषयमा मुख खोलेका छन् ।
सामाजिक सञ्जालमा बुधबार साँझ नेता सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको एउटा तस्विर सार्वजनिक भएसँगै उनि एमालेमा प्रवेश गरेको भन्ने समाचार र टिप्पणीका विषयमा बोलेका हुन् ।
बिहिबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै नेता सिंहले आफ्नो विषयमा आफूखुशी व्याख्या नगर्न आग्रह गरेका छन् ।
केपी ओलीसँग भेटघाटको विषयमा आएको समाचारका विषयमा ध्यानकर्षण गराउँदै सिंहले ओलीसँगको भेटघाट र छलफलको विषयमा आफूले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने बताएका छन् ।
सिंहले मुलुकको विकसित राजनितीक परिस्थिति, स्थानीय निर्वाचन र समसामयिक घटनाक्रमको विषयमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको बताउँदै ओलीले राखेका विचारबाट आफु उत्साहित भएको बताएका छन् ।
"मुलुककाे विकसित राजनितीक परिस्थिति, स्थानिय निर्वाचन र समसामयिक घटनाक्रमकाे विषयमा हामिले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलिज्यूसँग उहाँकै निवासमा भेटघाट तथा छलफल गरेका छौँ" सिंहले लेखेका छन्, "त्यसक्रममा अध्यक्ष ओलीले राख्नुभएको विचारबाट हामी उत्साहित भएका छौँ र उहाँले देखाउनुभएकाे हार्दिकताकाे लागि धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।"
उनले छलफलबाट प्राप्त निष्कर्षका बारेमा छिट्टै पत्रकार सम्मेलन मार्फत प्रष्ट पार्ने बताउँदै यस विषयलाई आफुखुसी व्याख्या नगर्न पनि आग्रह गरेका छन् ।
सिंहले नेकपा एमालेमा प्रवेश गरेको स्वीकार नगरेपनि उनि पार्टी प्रवेश गर्ने पक्कापक्की भएको नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका सचिव सुन्दर प्रसाद कुर्मीले जानकारी दिए । कुर्मीका अनुसार आगामी फागुन १४ गते सिंह एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वीरगञ्जमा हुने एउटा कार्यक्रम बीच नेकपा एमाले प्रवेश गर्ने सहमति भएको छ । यस विषयमा जानकारी गराउन सिंहले भोली वीरगञ्जमा पत्रकार सम्मेलन पनि आयोजन गर्ने कुर्मीले बताए ।
स्रोतका अनुसार सिंह पार्टी प्रवेश र आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि एमालेबाट टिकटको आश्वासन लिन केपी ओलीसँग काठमाडौँ भेट्न पुगेका थिए । एमालेबाट मेयरको टिकट दिने ओलीले आश्वासन जनाएपछि सिंह पार्टी प्रवेश गर्न प्रतिबद्धता जनाएका हुन् । यद्दपी, यसलाई सिंह निकटका नेताले नकारी रहेका छन् ।
लोसपा देखिएको विवाद र किचलोका कारण उनि लगायत कयौँ नेताहरुले पार्टी त्यागेर एमाले रोजेको बुझिएको छ । सिंहले लोसपा त्यागेसँगै पर्सा जिल्लामा पहिलादेखि कम्जोर रहेको लोसपा झन् कम्जोर बन्ने राजनीतिक विश्लेषकहरुको बुझाई छ ।