×

सूर्यनारायण वि.क. (शुभचिन्तक) 
 

म अचेल यही प्रश्न सोचिरहन्छु ।
किन जन्मिएँ म छोरी भएर ?

बाँचेर के नै गर्न सक्छु अनि
के नै गर्नु छ र मरी गएर ।

बुबाको बुबा र आमाको आमा बन्ने
सपनालाई पूरा गर्न
म छोरी भएर जन्मिएँ ।

फेरि पनि म सोचिरहन्छु
किन जन्मिएँ म छोरी भएर ?

छोरा जन्मिँदा र छोरी जन्मिँदाको
खुसीमा पनि विभेद छ भने ।
पहिलो सन्तान नै छोरी हुँदा
आमाबुबालाई पनि खेद छ भने ।
म फेरि पनि सोच्न बाध्य हुन्छु
किन जन्मिएँ म छोरी भएर ?

बरु जन्मिनुभन्दा पहिला नै
भगवान्‌लाई ढोगेको भए
सुरक्षित गर्भपतन गरेर मलाई
जन्मिनबाट रोकेको भए ।

आज यसरी जिएर पनि मर्नुपर्ने त थिएन होला
छोरा भएर जन्मिन सायद कर्मले पनि दिएन होला ।
मलाई आफ्नै शरीर पनि आफ्नै जस्तो लाग्न छोडेको छ
जिज्ञासाका भावनाहरू जाग्न छोडेको छ ।

मलाई मेरै शरीरमा कुनै अधिकार छैन
म मान्छे हुँ कुनै खेलौना हैन ।
पटक-पटक म कराइरहन्छु
तर पनि कोही सुन्दैन ।

बोल्दा बोल्दै म हारिसकेँ
अब बाँच्ने आश पनि मारिसकेँ
फेरि सोच्छु म किन खानु हरेस !
हिँड्छु, दौडिन्छु बरु लागे पनि ठेस ।

अब म सोच्दिन पहिलाजस्तो
किन छोरी भएर जन्मिएँ भनेर
बढ्दै पढ्दै जाँदा जब ज्ञानले छायो
मेरो सोचाइमा पनि बदलाव आयो ।

छोरा भएकामा गर्व गर्नेलाई जन्माउने पनि तिनै छोरी हुन्
त्यसैले मलाई कुनै पछुतो छैन
गर्व छ मलाई छोरी हुनुमा ।।

Back to top