×

वीरगञ्ज २२ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै पार्टी अनौपचारिक रुपमा विभाजित भएको छ ।

अर्का अध्यक्ष उपेन्द्र यादवसँग छुटिएर ठाकुर पक्षबाट राजेन्द्र महतोसहित १० जना प्रधानमन्त्री ओली सरकारको नेतृत्वमा मन्त्री भएपछि जसपा अनौपचारिक विभाजित भएको हो । 

यसअघिनै अध्यक्षद्वय यादव र ठाकुरले एक अर्कालाई कारबाही गरेपछि विषय निर्वाचन आयोगसम्म पुगेको थियो । तर ठाकुर पक्ष सरकारमा सहभागी भएपछि पार्टी भित्रको विवाद उत्कर्षमा पुग्दै अनौपचारिक रुपमा विभाजन भएको छ । 

अनौपचारिक रुपमा पार्टी विभाजन भएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिने भएको छ । अहिले प्रदेश नं. २ मा जसपा नेतृत्वको सरकार छ । 

जसपाको दुवै पक्षले अहिले प्रदेश नं. २ मा सत्ता परिवर्तनका लागि विपक्षी दलहरुसँग छलफल तिब्र पारेका छन् । उपेन्द्र यादव पक्ष विपक्षित गठबन्धनका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र मादव नेपाल पक्षका एमालेसँग मिलेर सरकार बनाउन खोज्दै छ भने ठाकुर पक्ष पनि अंकगणित मिलाउन ओली पक्षको एमाले र अन्यसँग मिलेर अगाडी बढ्न खोजिरहेको छ ।

यता नेपाली काङ्ग्रेसले पनि सत्तारुढ दलमा देखिएको विभाजनको फाईदा उठाउँदै सत्ता सहकार्यका लागि गृहकार्य सुरु गरेको बुझिएको छ । प्रदेश नं. २ मा अहिलेको अवस्थामा सरकार बनाउन नेपाली काङ्ग्रेसको भूमिका निर्णायक छ ।

दुबै पक्षका नेताहरुले सत्ता सहकार्यका लागि आफूसँग छलफल गरिरहेको काङ्ग्रेसका एक नेताले बताए । उनका अनुसार मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सत्ता सहकार्यका लागि छलफल गरेका हुन् । ‘दुबै जनाले सत्ता सहकार्यका लागि आग्रह गर्नुभएको छ’ उनेल भने, ‘पार्टी फुटिनसकेको अवस्थामा कसरी सहकार्य गर्ने ? दुबै जनालाई यही भनेको छु ।’

मुख्यमन्त्री राउत तत्कालीन सपा पक्षका हुन् भने मन्त्री सोनल तत्कालीन राजपा पक्षका नेता हुन् ।

उनका अनुसार जसपा फुटेको अवस्थामा सहकार्य गर्न काङ्ग्रेस तयार छ । ‘दुबै नेताले सत्ता सहकार्यबारे गरेको कुरा पार्टीको माथिल्लो निकायसम्म पुर्याउँछौँ,’ उनले भने, ‘उताबाट आउने निर्देशनअनुसार अघि बढ्छौं ।’

जसपाका एक सांसदले पनि नयाँ सत्ता समीकरणका लागि प्रयास भइरहेको स्वीकार गर्छन् । उनका अनुसार उपेन्द्र यादव पूर्व राजपालाई सरकारबाट निकालेर काङ्ग्रेस माधव नेपाल समूहको एमाले र माओवादीसँग सरकार बनाउन खोजेका छन् ।

प्रदेशमा कुल १ सय ७ सांसद रहेकोमा नेकपा माओवादी केन्द्रले ३ जनालाई कारबाही गरेपछि अहिले सांसदको संख्या १ सय ४ छ । सत्तारुढ जसपासँग ५५ सांसद छ, जसमा ३० तत्कालीन समाजवादी र २५ जना तत्कालीन राजपा पक्षका हुन् ।

यसैगरी नेकपा एमालेको कुल २१ सांसद छन्, जसमध्ये १३ जना माधव नेपाल र ८ जना केपी ओली पक्षमा छन् । नेपाली काङ्ग्रेसका १९, नेकपा माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

यदि सत्तारुढ दलमा विभाजन आयो र तत्कालीन सपा र राजपाले आफ्नो सांसद संख्या कायमै राखेमा दुई दल मिलेर सरकार बन्दैन । उपेन्द्र यादव पक्षले केन्द्रमा विपक्षी गठबन्धनमा रहेको काङ्ग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन सक्छ । त्यसो भएमा सहजै सरकार बन्छ । तर राजपाले एमालेको मात्र साथ पाएर सरकार बनाउन सक्दैन । काङ्ग्रेस वा माओवादी केन्द्रमध्ये कम्तीमा एक दलको समर्थन जुटाउनुपर्छ । जुन सहज देखिँदैन ।

Back to top