वीरगञ्ज, २० जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को विवादका कारण प्रदेश नम्बर २ मा मन्त्रीमण्डल पूर्णगठनको सम्भावना बढेको छ ।
पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव गुठ बीचको विवाद उत्कर्षमा पुगेपछि त्यसको प्रतिप्रभाव प्रदेश नम्बर २ को सरकारमा देखिएको हो । प्रदेशमा अहिले जसपाको बहुमतको सरकार छ ।
अध्यक्ष उपेन्द्र यादवले सङ्घ सरकारमा विपक्षीको भूमिकामा रहेका दललाई प्रदेश सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले प्रदेश नम्बर २ मा मन्त्रीमण्डल पूर्णगठनको तयारी थालेको स्रोतको दावी छ ।
यादवले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरुसँग यस विषयमा छलफलसमेत सुरु गरिसकेको स्रोतले बतायो । मंगलबार यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटघाट गर्ने क्रममा प्रदेश २ मा मिलेर सरकार बनाउन आग्रह गरेका थिए ।
त्यस्तै बुधवार उनले काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालसँग यस विषयमा छलफल गरेको बताइएको छ । उनले तीन दलको सरकार बनाएर मात्रै नीति तथा कार्यक्रम र बजेट ल्याउन शीर्ष नेताहरुलाई आग्रह गरेको बुझिएको छ ।
स्रोतका अनुसार यादवले मुख्यमन्त्री बाहेक सबै मन्त्रीलाई हटाएर नयाँ तरिकाबाट प्रदेश २ को सरकार बनाउने तयारी थालेका छन् । तर, राउतलाई मुख्यमन्त्री मान्न नेपाली काङ्ग्रेस तयार छैन ।
मन्त्रालयको सङ्ख्या १० पु¥याइ, पूर्व राष्ट्रिय जनता पार्टि (राजपा)बाट यादवलाई समर्थन गर्नेमध्येका केहीलाई मन्त्री दिने प्रस्ताव उनको छ ।
यस अघि विवादमा आएका नवल किशोर साह र रामनरेशलाई हटाएर पूर्व राजपाबाट सक्दो धेरै जनालाई समेट्ने यादवको तयारी छ । कार्यकारिणी समितिमा बहुमत पु¥याएर महन्थ ठाकुर र राजेन्द्र महतोलाई जनता समाजवादी पार्टि (जसपा)बाट निष्कासन गरिसकेपछि यी दुवै मन्त्रीको उपयोगिता पुरा भएको यादवको ठहर छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको समर्थनमा हालसम्म जसपाका ३० प्रदेशसभा सदस्य रहेका छन् ।