×

सांकेतिक तस्विर ।

वीरगञ्ज, १ जेठ । समुदाय सतरमा कोभिड-१९ (कोरोनाभाइरस) फैलिसकेको भन्दै नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा लगाएको छ ।
 
सुरुमा एक हप्ता लागि निषेधाज्ञा लगाइएपनि सङ्क्रमणको चेन ब्रेक गर्न अझै समय लाग्ने भन्दै दुई पटक गरी जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । शनिबार निषेधाज्ञा लागेको १७ दिन भयो तर सङ्क्रमणको चेन ब्रेक हुने छाँटकाट भने देखिएको छैन ।

उल्टै निषेधाज्ञा लगाएदेखि जिल्लामा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । बैशाख १५ पहिला जुन गतिले सङ्क्रमित थपिँदै थिए अहिले निषेधाज्ञा लागेको १७ औँ दिन आउँदापनि त्यो दर घट्न भने सकेको छैन ।

जिल्लामा निषेधाज्ञा लागेदेखि १ हजार ६ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निषेधाज्ञा लागेदेखि जिल्लामा दैनिक औसत ९७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमणको चेन ब्रेक गर्न लगाइएको निषेधाज्ञा प्रभावकारी तरिकाले कार्यन्वयन नहुँदा सङ्क्रमित थपिने दर घट्न नसकेको विज्ञ बताउँछन् । 'निषेधाज्ञा शहर केन्द्रित भयो, ग्रामिण भेगमा निषेधाज्ञाको कुनै प्रभाव छैन । त्यहाँ भिडभाड लाग्नेदेखि  सयौंको उपस्थितिमा विवाह र भोजका कार्यक्रम हुँदैछन् । यसरी रहे सङ्क्रमणको चेन ब्रेक गर्न सकिंदैन,' एक विज्ञले भने ।

हुनपनि जिल्लामा जारी निषेधाज्ञा शहर केन्द्रित मात्र छ । वीरगञ्ज बाहिर निषेधाज्ञाको प्रभाव देखिन सकेको छैन । जबकी गाउँगाउँमा उच्च ज्वरो, रुघाखोकी जस्ता स्वास्थ्य समस्या भएका विरामीहरु टन्नै छैन । यहाँको जगरनाथपुर गाउँपालिकास्थित चिलझ्प्टि गाउँमा लगभग प्रत्येक घरमा एकजना उच्च ज्वरो र टाईफाईडका विरामी छन् ।

सङ्क्रमितको दर बढ्ने दर देख्दा निषेधाज्ञा थप लम्भिने सम्भावना बढ्दै गएको छ  । स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपनि त्यसको प्रभावकारी कार्यन्वयन गर्न तर्फ केही गरेको देखिंदैन  । प्रमुख नाकाहरु बन्द रहेपनि ग्रामिण क्षेत्रसँग जोडिएका सिमानाकाबाट आवातजावत पनि रोकिएको छैन  । 

निषेधाज्ञाको दुई साताको अवधिमा सङ्क्रमणको ग्राफ ह्वातै बढ्यो

बैशाख १५ गते पर्सामा १ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । त्यसपछि स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा लागु गर्यो । निषेधाज्ञा लागेकै दिन बैशाख १६ गतेका यहाँ १ सय ३१ जना सङ्क्रमित भेटिए ।

त्यसपछि बैशाख १७ गते १५१ र बैशाख १८ गते १०९ जना सङ्क्रमित थपिएको नारायणी अस्पतालले दिएको तथ्यांकमा उल्लेख छ । त्यस्तै बैशाख १९ गते भने जम्मा  ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित थपिएको सङ्ख्या घटेको देखिएपनि त्यसको कारण भने परिक्षण नै कम हुनु हो । त्यसैगरी बैशाख २० गते पनि परिक्षण घट्दा जम्मा ८७ जना संक्रमित भेटिएका थिए ।

बैशाख २१ गते परिक्षण गरिनेको सङ्ख्या बढ्दा सङ्क्रमितपनि बढेका थिए । त्यस दिन १३३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पताल तथ्यांकले देखाएको छ ।

त्यसतै बैशाख २२ गते १०९, २३ गते १०७, २४ गते १०५, २५ गते ६४, २६ गते ११५, २७ गते ११०, २८ गते ५४, २९ गते ६९, ३० गते ११४ र ३१ गते ९९ मा सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको अभिलेख अनुसार जिल्लाको कुलमध्ये सदरमुकाम वीरगञ्जमा सबैभन्दा धेरै नयाँ सङ्क्रमित थपिए दर उच्च छ ।

Back to top