वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार वडा नं. ३ स्थित कृषि भवनको सभाकक्षमा आयोजित १७ औँ गाउँ सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
गाउँ सभामा उपाध्यक्ष रेखा चौधरीको अनुमतिमा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरिले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिइएको जानकारी दिए उनका अनुसार कृषि सँगै शिक्षा, स्वास्थ्य, युवा तथा महिला सशक्तीकरण र रोजगारी सृजनालाई समेत प्राथमिकतामा राखेर विभिन्न योजना समावेश गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत गिरिले आफ्नो कार्यकालमा इमानदारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै गाउँपालिकालाई स्वच्छ, समृद्ध तथा नमुना स्थानीय तहका रूपमा विकास गर्ने लक्ष्य लिएको बताए ।
गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे। उनले गाउँपालिकाभित्र भौतिक पूर्वाधार निर्माणका कार्यलाई तीव्रता दिने तथा गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई छिटो, छरितो र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष चौधरीकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरि, वडाध्यक्षहरू रामशरण खवास थारु, महादेव महतो थारु, सुरुज राय थारु, राजेश्वर दास थारु, दारा सिंह थारु, कार्यपालिका सदस्यहरू सरोज चौरसिया र ऋषि हजरा, शिक्षा शाखा प्रमुख शिवराज फुयाँल, नेपाल शिक्षक महासङ्घ गाउँपालिका अध्यक्ष कृपा चौधरी, योजना शाखा प्रमुख सरोज दास गुप्ता, स्वास्थ्य शाखा प्रमुख अजयकुमार दास थारु, सामाजिक शाखा प्रमुख जितेन्द्र मिश्र, पत्रकार, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।