×

वीरगञ्ज, ३१ बैशाख । निषेधाज्ञा उलंघन गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने पाँच जना वीरगञ्जबाट पक्राउ परेका छन् ।

कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञालाई उलंघन गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्न एक भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानमा निषेधाज्ञालाई उलंघन गर्दै जिल्ला प्रहरीबाट खटिएका पिकेट, मोबाइल तथा मोटरसाइकलका गस्ती टोलीमाथि अभद्र व्यवहार गर्दै प्रहरीको कामकारवाहीमा अवरोध पुर्‍याएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए । 

निषेधाज्ञा उलंघन गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी २६ वर्षीय साहेब शेख, वडा नम्बर ३ का १९ वर्षीय हनिफ हुसेन र वडा नम्बर १३ का ३० वर्षीय मोहम्द असरफ राइनलाई पक्राउ गरेको छ ।

त्यसैगरी पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीय भोला प्रसाद साह र भारतीय विहार राज्य बेतिया वैरिया वडा नम्बर ३ निवासी मुन्ना साहलाई पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिए ।

प्रहरीले उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर, सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कसूर मुद्दा चलाएको डिएसपी खनालले बताए ।

Back to top