वीरगञ्ज, ८ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा अहिले २९ जना कोरोनाभाइरस सङ्क्रमितहरुको अक्सिजन सपोर्टमा राखेर उपचार गरिंदै छ । उनीहरुमध्ये केहीलाई भेन्टिलेटर सपोर्टमा सारेर उपचार गर्नुपर्ने अवस्था आउन सक्ने अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास बताउँछन् ।
तर, नारायणी अस्पतालआ जम्मा पाँच वटा भेन्टिलेटर कोभिड विरामीका लागी छुट्याएर राखिएको छ । डा. दासका अनुसार पाँच जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा छैठो सङ्क्रमितलाई भेन्टिलेटर आवश्यक पर्न गएको खण्डमा अन्य वार्डका विरामीले उपयोग गरिरहेको भेन्टिलेटर माग्नुपर्छ । अथवा सङ्क्रमितलाई अर्को निजि अस्पताल सिफ्ट गर्नुपर्ने हुन्छ । नारायणी अस्पतालसँग जम्मा १० वटा भेन्टिलेटर छ ।
अर्को अस्पताल भन्न बित्तिकै वीरगञ्जमा सञ्चालित एक दर्जनभन्दा बढी निजि अस्पतालमध्ये सबै पर्दैनन् । किनभने सबै अस्पतालसँग भेन्टिलेटरको सुविधा छैन ।
वीरगञ्ज महानगरपालिका कार्यालयको स्वास्थ्य विकास महाशाखाको तथ्याङ्क अनुसार एड्भान्स हस्पिटल, सिता हस्पिटल, ओम हस्पिटल, श्रीराम हस्पिटल, कृष्णा हस्पिटल, अपोलो हस्पिटललगायत केहि अस्पतालमा भेन्टिलेटर नै छैन ।
कोरोनाभाइरसको हट्स्पट बन्दै गएको वीरगञ्जका सम्पूर्ण सरकारी र निजि अस्पतालसँग मिलाएर जम्मा ४७ वटा भेन्टिलेटर रहेको स्वास्थ्य विकास महाशाखाका रितेश जैश्वालले जानकारी दिए ।
उनका अनुसार नारायणी अस्पतालमा १० वटा, वीरगञ्ज हेल्थ केयरमा १० वटा, नेशनल मेडिकल कलेजमा ६ वटा, नारायणी वयोधामा ४ वटा, तराई हस्पिटलमा ४ वटा, गण्डकमा ३ वटा, एलएस न्युरोमा, प्रभु, अलि अर्थोमा २/२ वटा, आशाराम, सूर्या हस्पिटलमा १/१ वटा भेन्टिलेटर छन् । ४७ वटामध्ये कति वटा चलिरहेको अवस्थामा रहेको तथ्याङ्क भने जैश्वालसँग छैन ।
डा. दासले अस्पतालहरुसँग पर्याप्त बेड समेत नभएको बताए । सङ्क्रमित यही दरले बढीरहँदा अबको दुई/तिन हफ्ता भित्र वीरगञ्जका अस्पतालहरुसँग बेडको अभावसमेत हुनसक्ने उनको भनाई छ । 'वीरगञ्जका अस्पतालमा पर्साका मात्र नभएर बारा, रौतहट र सर्लाहीसम्मका सङ्क्रमित उपचारका लागि आउछन । नारायणी अस्पतालले अब सङ्क्रमित भर्न गर्न सक्दैन,' उनले भने, 'निजि अस्पताललाई २० प्रतिसत बेड छुट्याउन भनीएपनि तउनीहरुले त्यो गरेका छैनन् । सङ्क्रमित बढ्दै गए अस्पतालमा बेडसमेतको अभाव हुनु निश्चित छ ।'
कोभिड सङ्क्रमितहरुको लागि विशेष अस्पताल बनाउन प्रदेश सरकारले समय-समयमा भन्ने गरेपनि त्यो भाषणमा मात्र सिमिति भएको देखिन्छ ।
सङ्क्रमितहरु दिनानुदिन बढीरहँदा उनीहरुको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिने भेन्टिलेटर र भर्ना गर्नका लागि बेड वीरगञ्जका अस्पतालहरुसँग पर्याप्त मात्रामा नहुनुले यहाँको स्वास्थ्य प्रणालीमाथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ ।
संरचनात्मक रुपमा ठूला–ठूला भवनसहितको अस्पताल भएपनि बेड र भेन्टिलेटर जस्तो महत्वपूर्ण उपकरण नहुनुले यहाँको स्वास्थ्य प्रणाली राम्रो नभएको प्रष्ट पार्छ ।
सङ्क्रमित बढ्दै
चैत यता पर्सामा कोरोनाभाइरसका सङ्क्रमित बढ्न थालेका हुन् । भारतमा चलेको कोरोनाको दोस्रो लहरले सिमावर्ती जिल्ला पर्सा र विशेषगरी सदरमुकाम वीरगञ्जमा अवस्था भयावह बनाएको छ । यहाँ प्रत्येक दिन थपिने सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको छ । अघिल्लो दिनको तुलनामा दोस्रो दिन १० जना सङ्क्रमितको सङ्ख्या बढेकै हुन्छन् ।
थपिएका सङ्क्रमितहरुमध्ये अधिकांशको ट्राभल हिस्ट्री भारत भएको डा. दासले बताए । ’बढेका सङ्क्रमितमध्ये अधिकांश भारतबाट आएका अथवा भारतबाट आएको कोहीसँग सम्पर्कमा बसेकाहरु छन् । सङ्क्रमितहरुमा कडा किसिमको निमोनिया, झाडापखाला र रगतमा प्लेटलेटको कमि भएको पाइएको छ,’ डा. दासले भने ।
पर्सामा सङ्क्रमित मात्र बढेका छैनन् । चैत अन्तिम साता यता पर्साका ४ र बाराका १ जना गरी पाँचजनाले ज्यान समेत गुमाइसकेका छन् । मंगलबार मात्रै वीरगञ्ज बहुवरिका एक ५७ वर्षीय वृद्ध पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
सरोकारवालाले नै गर्छन स्वास्थ्य मापदण्डको उलंघन, छैन पूर्वतयारी
जिल्लामा सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपनि त्यसको रोकथाम र नियन्त्रणको पूर्व तयारीका लागि सरोकारवाला निकायले काम गर्न सकेका छैनन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले समय–समयमा बैठक बसेर विभिन्न निर्देशनहरु दिएपनि त्यसको उलंघन जनप्रतिनिधि र प्रशासनकै व्यक्तिले गरेको पाइएको छ ।
जिल्लासँग जोडिएका सिमानाकाहरुमा हुनुपर्ने खालको कडाई छैन, स्थानीयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेका छैनन्, भिडभाड हुने वैवाहिकदेखि राजनीतिक कार्यक्रममा कुनै रोकटोक छैन, होम आइसोलेशनमा रहेकाहरुको निगरानी गर्ने संयन्त्रसमेत स्थानीय तह र प्रशासनले बनाउन सकेका छैनन् ।
प्रदेश नम्बर २ को सरकारले प्रदेशका सम्पूर्ण स्थानीय तहलाई कोभिड अस्पताल सञ्चालन गर्ने निर्देशन दिएपनि त्यसको कार्यन्वयन तर्फ कसैको ध्यान जान सकेको छैन । मूख्यमन्त्री लालबाबु राउत आफै स्वास्थ्य सुरक्षा मापदण्ड उलंघन गर्दै दैनिक कार्यक्रम गर्दै हिँडेका छन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र हुँदैन
यता चिकित्सकहरु स्वास्थ्य मापदण्ड पालना गराएर मात्र नहुने बताउँछन् । उनीहरुले छिटोभन्दा छिटो आवश्यक कदमहरु नउठाए अवस्था झन् बिग्रिदै जाने सङ्केत गरेका छन् ।
नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. नीरज सिंहले वीरगञ्जमा पर्याप्त मात्रमा परिक्षण नभएको बताउँछन् । ‘लक्षण नदेखाएका बाहेकेले यहाँ परिक्षण गराएकै छैनन् । जबकी सङ्क्रमण समुदायमा फैली सकेको छ,’ डा. सिंहले भने, ’अहिले सिमानाका पूर्णरुपले ठप्प गरेर सेमी लकडाउन जस्तो कदम उठाउँदै परिक्षणको दायरा फराकिलो बनाउँनु पर्छ ।’
सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ पनि नभएको उनले बताए । उनले भने, ’सङ्क्रमित त छन् तर उनीहरुको सम्पर्कमा आएकाहरुको परिक्षण गरिएको छैन । यस्तो गर्नु हाम्रोलागि ठूलो भुल सावित हुनसक्छ ।’