फाइल तस्विर ।
वीरगञ्ज, ३ वैशाख । पर्सामा २०७६ चैत्र ३० गते भारतबाट आएका तिनजना मुस्लिम धर्मगुरुमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । तिनजनाबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमण भुसको आगो जस्तो सल्किदै गयो । हुँदाहुँदै पर्सामा सयौंको सङ्ख्यामा सङ्क्रमित भेट्न थाले ।
कोरोनाभाइरसका सङ्क्रमितहरु पर्सामा बढ्दै जाँदा सदरमुकाम वीरगञ्जलाई नेपालकै पहिलो हट्स्पटका घोषणा गरियो । लामो समयसम्म यहाँ कडा लकडाउन रह्यो । सङ्क्रमणका कारण ५० जनाभन्दा बढीले ज्यान गुमाए । मान्छेहरु घरबाट निस्किनसमेत डराउँन थाले । तर केहि समयपछि सबै सरोकालहरुको साझा प्रयासका कारण सङ्क्रमणको दर घट्न भने घट्यो । देख्दादेख्दै यहाँ सङ्क्रमितको सङ्ख्या सुन्यमै झर्यो ।
महिनौसम्म लकडाउन खेपेको वीरगञ्ज पुन: आफ्नो पूरानो लयमा फर्किंदै थियो । छोटो र लामो दूरीका सवारी साधन चल्न थालेका थिए, विवाहलगायत धार्मिक र सांस्कृतिक कार्यक्रम गर्न कुनै रोकटोक र सहभागिताको सिमा थिएन, शैक्षिक संस्थामा नियमित पठनपाठन सुरु भयो, सिनेमा हल, रेस्टुराँ, होटल सबै खुले । बन्द रहेको भारतसँग जोडिएको सिमानाका पनि अघोषित रुपमा खुल्यो । ६ महिनाभन्दा बढी समयसम्म अफ्ठ्यारोमा बाँचेका वीरगञ्जवासी फेरी एक पटक सामान्य जीवन बिताउन थाले ।
अहिले ठ्याकै त्यही समय आउँदा वीरगञ्जमा फेरी एकपटक कोरोनाभाइरसले आफ्नो कहर देखाउँन सुरु गरेको छ । छिमेकी मुलक भारतमा कोरोनाभाइरसको दोस्रो लहरले दैनिक लाखौँलाई सङ्क्रमित बनाइरहेको बेला सिमावर्ती शहर वीरगञ्ज पनि त्यसको सिकार भएको छ ।
०७७ चैतको अन्तिम सातादेखि पर्सामा फेरी सङ्क्रमितहरुको सङ्ख्यामा ह्वातै बढ्न थालेको हो । चैत २३ यता जिल्लामा १ सय ५९ जना कोभिडका नयाँ सङ्क्रमित थपिएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् । थपिएका अधिकान्स सङ्क्रमित वीरगञ्जका बासिन्दा हुन् ।
जिल्लामा सङ्क्रमण बढिरहँदा सरोकारवाला भने निर्देशन मात्र दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्दै छन् । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिले सङ्क्रमण नियन्त्रण र रोकथामका विभिन्न निर्देशनहरु जारी गरेपनि त्यसको प्रभावकारी कार्यन्वयन भएको देखिंदैन । स्थानीयहरुमा पनि कोभिड प्रोटोकल सम्बन्धि जनचेतना घट्दै गएको छ ।
चिकित्सकहरुले भने यसलाई चिन्ताको विषय बताएका छन् । उनीहरु यस पटकको सङ्क्रमण गत वर्षभन्दा धेरै गम्भीर र खतरनाक भएको बताउँछन् । आवश्यक कदम छिटै उठाए गाह्रो हुने उनीहरुको भनाई छ ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार पछिल्लो समय भर्ना भएका सबैजसो सङ्क्रमितमा उच्च ज्वरोसँगै फोक्सोमा गम्भीर कसीमको निमोनिया देखिएको छ । सबैलाई श्वासप्रश्वासको समस्या छ । जति अक्सिजन दिँदा पनि अपुग भएको डा. दास बताउँछन् ।
पछिल्लो केहि दिनमा ज्यान गुमाएका सङ्क्रमितहरुमा पनि कडा खालको निमोनिया देखिएको उनले बताए । डा. दास अनुसार सङ्क्रमितहरुमा देखिएको निमोनिया पहिलेको भन्दा जटिल र खतरनाक खालको छ । सँगसँगै सङ्क्रमितहरुमा झाडापखाला, रगतमा प्लेटलेटको कमि पनि देखिएको छ ।
सङ्क्रमण नियन्त्रण गर्न तत्काल कदम नउठाए ढिलो हुनसक्ने डा. दासले चिन्ता व्यक्त गरे । 'अहिले केहि बिग्रेको छैन । समयमै आवश्यक कदम उठाएर सङ्क्रमणको चेन ब्रेक गर्न सके राम्रो हुन्छ,' डा. दासले भने, 'पछि समुदायमा सङ्क्रमण फैलीदिए धेरै गाह्रो हुन्छ । जेगरेपनि नियन्त्रण गर्न मुस्किल हुनसक्छ ।'
डा. दासले एक हफ्ताका लागि भएपनि लकडाउन गरेर परिक्षणको दयारा फराकिलो गर्न सुझाव दिए । उनले भिडभाड हुने सबै स्थान बन्द गरेर सिमानाकामा थप कडाई गर्नुपर्ने बताए । उनले भने 'लकडाउन गरेर भएपनि कोरोना परिक्षणको दायरा फराकिलो गर्न आवश्यक छ । किनभने परिक्षण गरिएकोमध्ये ४० प्रतिसतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको पछिल्लो तथ्याङ्कले देखाएको छ ।’
बिहिबार ७८ जनाको परिक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएको थियो । त्यही ५ सय जनाको गरेको भए २ सयदेखि ३ सय जनासम्ममा कोरोना देख्न सक्ने उनले तर्क छ । 'हामीले प्रयाप्त परिक्षण गर्न सकेका छैनौँ । गर्यौंभने तथ्याङ्कले देखाए अनुसार ४० प्रतिसतसम्ममा कोरोना पुष्टि हुन्छ ।'
वरिष्ठ चिकित्सक डा. निरज सिंहले पनि सेमी लकडाउन गरेर भएपनि परिक्षणको दायर फराकिलो गर्नुपर्ने कुरालाई दोहोर्याए । उनले भने, 'सेमी लकडाउन गरेर परिक्षणको दायरा फराकिलो नगरे हामी कोरोनाको दलदलमा फस्दै जानेछौं । अहिले परिक्षण भएकै छैन । लक्षण नभएका बाहेकले परिक्षण गराएकै छैनन् । यसरी हामी कोरोनाको कुन अवस्थामा छौँ भन्न सकिंदैन ।'
डा. सिंहले गत वर्ष जस्तै सङ्क्रमित भेटिएका स्थानमा पुगेर घरपरिवारका सदस्यदेखि सम्पर्कमा आएका व्यक्तिसम्मको कन्ट्याक्ट ट्रेसिङ सुरु गर्नुपर्ने सुझाव दिए । कन्ट्याक्ट ट्रेसिङ नहुँदा लक्षण नभएका सङ्क्रमितहरुले अरुमा कोरोना सार्ने खतरा बढेको उनले बताए ।
नारायणी अस्पतालमा रहेको ३० वटा बेडको भरमा कोभिडलाई पराजित गर्न नसकिने उनि बताउँछन् । थप स्रोत र पूर्वतयारीमा नजुटे यहाँ धेरैले ज्यान गुमाउन सक्ने उनको भनाई छ ।
उनले कोभिडलाई उपचार गरेर नियन्त्रण गर्न नसकिने बताए । 'कोभिडलाई उपचार गरेर जित्न सकिन्न । रोकथाम र यसबाट जोगिएर यसलाई जित्न सकिन्छ,' उनले भने ।
यता जिल्ला प्रशासन कार्यालयले आतिहाल्नु पर्न अवस्था नभएको बताएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी भीमकान्त पौडेलले अहिलेनै आतिहाल्नु पर्ने अवस्था नभएको बताए । पौडेलले भारतमा बढ्दो कोरोना सङ्क्रमणको प्रभाव सिमावर्ती शहरमा देखिनु स्वाभाविक भएको बताउँदै अवस्था हेरेर अगाडीको कदम बारे निर्णय गरिने बताए ।
लकडाउन गर्दा सम्पूर्ण कुरा ठप्प हुनभएकोले अलि व्याहारिक किसिमको कदम उठाउने कुराको छलफल भइरहेको उनले जानकरी दिए ।