×

फाइल तस्विर ।

वीरगञ्ज, २ वैशाख । वीरगञ्जमा जेठ ४ गतेदेखि सुरु हुने भनिएको कक्षा ८ को नगरस्तरीय अन्तिम परिक्षा स्थगित भएको छ ।

बढ्दो कोरोनाभाइरस सङ्क्रमण र त्यसले पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण सामुदायिक र संस्थागत (बोर्डिङ) विद्यालयमा जेठ ४ गतेदेखि सुरु हुने भनिएको कक्षा ८ को अन्तिम नगर स्तरीय परिक्षा स्थगित गरिएको हो । 

कक्षा ८ को परिक्षा अब बैशाख १२ गतेदेखि सुरु हुने सरोकारवालाको बैठकले निर्णय गरेको छ । 

वीरगञ्ज महानगरपालिकाको नगर स्तरीय परिक्षा समितिको बिहिबार त्रिजुद्ध स्कुलमा बसेको बैठकले कोरोनाभाइरस सङ्क्रमणले निम्त्याउँन सक्ने संकटलाई मध्यनगर गर्दै समयमा परिक्षा सम्पन्न गर्ने उदेश्यले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ को नगरस्तरीय अन्तिम परिक्षा बैशाख १२ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको नगर स्तरीय परिक्षा समितिका अध्यक्ष हरि राउतले बताए ।

त्यसैगरी बैठकले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई कक्षा १ देखि ९ सम्म (८ बाहेक) का परिक्षा पनि बैशाख २० गते भित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको राउतले जानकारी दिए । 

परिक्षा सञ्चालन गर्न अनिवार्य रुपले मास्क, सेनीटाईजरको प्रयोग, भौतिक दूरी कायम गरेर बस्ने व्यवस्था र परीक्षार्थी तथा शिक्षकको शारिरीको तापक्रम नापेर मात्र परिक्षा हाल भित्र प्रवेश गर्न दिने निर्णय भएको उनले बताए ।

त्यस्तै अहिले कक्षा सञ्चालन भइरहेका विद्यालयहरुलाई अनिर्वाय रुपले विश्व स्वास्थ्य सङ्गठनको निर्देशन अनुसार स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको पाइएको खण्डमा विद्यालयलाई कारवाही समेत गरिने निर्णय भएको छ ।

बैठकमा निजि तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) पर्साका अध्यक्ष डा. हरिशंकर साह, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) पर्साका अध्यक्ष डा. राम सुन्दर चौधरी, प्याब्सन महानगर कमिटिका अध्यक्ष आलोक कुमार चौरसिया, सचिव छेडूप लामा, त्रिजुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, नगवा स्कुलका प्रधानाध्यापक गोपाल प्रसाद चौधरी, बाल मन्दिरकी शिक्षक राजकुमारी सिंहलगायातको उपस्थिति रहेको थियो ।

Back to top