×

वीरगञ्ज, २ वैशाख । लागूऔषध ओसारपोसारमा पछिल्लो समय बालबालिकाको प्रयोग बढ्न थालेको छ ।

नेपालमा प्रतिबन्धित लागूऔषध गाँजा, अफिम, चरेसजस्ता लागूऔषधि ओसारपोसार गर्न तस्करहरुले बालबालिकाको प्रयोग गर्न थालेका छन् ।

प्रतिबन्धित लागूऔषधि तस्करी बालबालिका प्रयोगको पछिल्लो उदाहरण पर्सामा देखिएको छ । पर्सामा एकजना १४ वर्षीय किशोरलाई प्रहरीले लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।

पर्सा प्रहरीले किशोरलाई आज बिहान पौने ८ बजेको करिवमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल-भारत सिमामा पर्ने शङ्कराचार्य द्वार नजिकबाट २ किलोग्राम गाँजासहित पक्राउ गरेको छ । प्रहरी अनुसार उनि नेपालबाट भारत तर्फ हिडेर गइरहेका थिए ।

पक्राउ परेका किशोर बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ निवासी हुन् । उनी नाबालक भएको कारण प्रहरीले उनको पहिचान नखुलाइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।

प्रहरी चौकी इनर्वाबाट खटेको प्रहरी टोलीले किशोरको गतिविधि शङ्कास्पद लागेपछि रोकेर रितिपूर्वक उनको शरीर खानतलासी गर्दा उनले बोकेको कालो रङ्गको प्लाष्टिकको झोलामा लुकाईछिपाई राखेको गाँजा बरामद गरेको डिएसपी खनालले जानकरी दिए ।

किशोरलाई पक्राउ गरेर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको डिएसपी खनालले बताए ।

Back to top