सांकेतिक तस्विर ।
वीरगञ्ज, २ वैशाख । आफै चलाउँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा बारामा दुईजनाको मृत्यु भएको छ ।
बारा जिल्लाको निजगढबाट पथलैया तर्फ तीव्र गतीमा आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
बुधबार राती साढे ११ बजे जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पूर्व पश्चिम सडक खण्डको बालगङ्गा पुल नजिक ना २७ प ६३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिराहाको सिराहा नगरपालिका वडा नम्बर ७ बस्ने ३९ वर्षे सशी कान्त झा र नुवाकोटको बिदुर गाउँपालिका वडा नम्बर ७ बस्ने ३९ वर्षका सानु काजी चित्रकारको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
मृत्यु भएका दुवैजना राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत कर्मचारी हुन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका झाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा र चित्रकारको उपचारको क्रममा वीरगञ्जस्थित गण्डक अस्पतालमा बिहीबार बिहान सवा १ बजे मृत्यु भएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए ।