×

वीरगञ्ज, २० चैत । निर्माण सम्पन्न नहुँदै वीरगञ्ज-ठोरी हुलाकी राजमार्गअन्तर्गत चमरीहोलदेखि ठोरीको चौतारासम्मको ३० किलोमिटर सडक हस्तान्तरणको स्थानीयले विरोध गरेका छन् ।

३० किलोमिटर सडक निर्माण गर्ने ठेक्का सकारेको कालिका-बानिया जेभी कन्स्ट्रकसन कम्पनिले झन्डै ५ किलोमिटर सडक निर्माण गर्न बाँकी रहँदा दातृ निकाय इण्डियन कन्सलटेन्सीले हुलाकी राजमार्ग सरकारलाई हस्तान्तरण गरेपछि स्थानीयले विरोध गरेका हुन् । 

कन्सल्टेन्सीले बुधबार एक कार्यक्रम बीच ३० किलोमटिर सडकको निर्माण सम्पन्न भएको बताउँदै नेपाललाई हस्तान्तरण गरेको हो । इन्डियन कन्सलटेन्सीका इन्जिनियर नूर आलम र हुलाकी सडकका प्रतिनिधि रामनाथ चौधरीले संयुक्तरुपमा रिवन काटेर राजमार्गको उद्घाटन गरेका थिए । 

ठेक्का सकारेको कन्स्ट्रकसन कम्पनिको म्यादपनि बुधबार नै सकिएको थियो । २०७४ कात्तिक १४ गते ठेक्का सकारेको कालिका-बानिया जेभी कन्स्ट्रकसन कम्पनिको ३९ महिनापछि समय अवधि सकिएको हो ।

सडकको निर्माण पूरा नभई हस्तान्तरण गरेको भन्दै ठोरीका स्थानीयले ठोरीको भन्सार छेउमा रहेको निर्मल-ठोरी मध्यवर्ती उपभोक्ता समिति र बनशक्ती सामुदायिक बनको कार्यालयमा बिहिबार तालाबन्दी गरेका छ्न । 

ठोरी नागरिक समाजको आह्वानमा ठोरी १ र २ का वडा अध्यक्ष, नागरिक समाजका अभियन्ता जगेन्द्र पौडेलको नेतृत्वमा गठन गरिएको 'अधुरो हुलाकी सडक निर्माण सङ्घर्ष समिति' ले चितवन राष्ट्रिय निकुञ्ज लगायत सम्बन्धित पक्षले हुलाकी सडकको ५ किलोमिटर सडक निर्माणको कार्य सुरु नगरेसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

समितिले विभिन्न कार्यक्रमहरु घोषणासमेत गरेको छ । आज गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समितिले जनाएको छ । 

५ किलोमिटर सडक निर्माणमा चितवन राष्ट्रिय निकुञ्जले अवरोध पुर्‍याएको र बाकी स्थानमा निर्माण सम्पन्न भएको इन्डियन कन्सलटेन्सीको दावी छ । कन्सलटेन्सीका इन्जिनियर आलमले नेपाल सरकारबाट इजाजत पाएको ठाउँसम्म निर्माण कम्पनीले काम पूरा गरेको बताउँदै चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण बाँकी काम पूरा हुन नपाएको बताएका छन् ।

निर्माण कम्पनीले सबै काम पूरा गरी कालोपत्रे गर्ने तयारी गरिरहेकै बेला चितवन राष्ट्रिय निकुञ्जले बन क्षेत्रमा सडक निर्माणको काम रोक्न परिपत्र गरेपछि ९५ प्रतिशत काम पूरा गरेर बिदा लिएको हो । कम्पनिले विदा लिएपनि धरौटी रकम भने फिर्ता भएको छैन ।

यता, सङ्घर्ष समितिले हुलाकी राजमार्ग योजनाको कार्यालयले निकुञ्जसँग समन्वय नगरेको आरोप लगाएको छ ।

Back to top