×

वीरगञ्ज, १९ चैत । प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा गरेका छन् । 

मधेसमा पछाडि परेका महिलाहरुको क्षमता अभिबृद्धि तथा व्यक्तित्व विकासका निम्ती प्रदेश सरकारले लागु गरेको बालिका स्वर्ण बिमा सुचारु भएको बताउँदै राउतले ८ कक्षामा अध्ययन गर्ने छात्राहरुलाई साइकल र उच्च कक्षामा अध्ययन गर्ने छात्राहरुलाई ल्याप्टप वितरण गरिने प्रतिबद्धता पनि जनाएका छन् । 

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा न. ३ कौवाबन कटैयामा बिहिवारबाट शुरु भएको विष्णु महायज्ञ कलशको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले अब प्रदेश सरकारका सम्पुर्ण सरकारी कार्यालयहरुमा मधेस समुदायका महिलाहरु हुने बताए । 

मुख्यमन्त्री राउतले हवन गर्दा जलाईने धुप, तिल र घ्युको धुवाले वातावरणलाई सफा र शुद्ध राख्ने बताएका छन् । मुख्यमन्त्री राउतले यज्ञ तथा हवन गर्दा देशमा सुख, शान्ति र जनमानसमा आपसी भाइचारा कायम हुने विश्वास व्यक्त गरे ।  

इतिहासमा महाऋषी मुनीहरुले ६/६ महिनाको अन्तरालमा महायज्ञ गर्ने गरेको बताउँदै उनले यज्ञले समाजबाट दुःख, कलह तथा आपसी मनमुटावको अन्त्य हुने धारणा राखे । अहिले वातावरण प्रदुषणका कारण केन्द्र सरकारले ४ दिन विदा दिएको समयमा मुख्यमन्त्री राउतले वातावरण सफा र स्वच्छ राख्न समय समयमा हवन तथा महायज्ञ गर्नुपर्ने आवश्यक्ता औँल्याए । 

श्री बिष्णु महायज्ञ समितिद्वारा आयोजित महायज्ञलाई सफल पार्न मुख्यमन्त्री राउतले १ लाख १ हजार नगदसमेत सहयोग गरेको मुख्यमन्त्री राउतका स्वकिय सचिब दिपक यादबले जानकारी दिए । 

९ दिनसम्म चल्ने महायज्ञको पहिलो दिन बिहिवार (आज) ५ सय ५१ जना कुवारी कन्याहरुले महायज्ञस्थलबाट कलश बोकी बाजागाजाका साथ कटैया, गुलरिया, प्रसौनी, पाचगावा, रामभौरी, घुसकपुर हुँदै रंगपुर, भौरिमाई नजिकैको खोलाबाट जल भरी पुनः यज्ञस्थलमा पुगेका थिए । 

श्री बिष्णु महायज्ञ  कौवाबन कटैयाका अध्यक्ष जवाहर पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र न. ३ का निलम्बीत सांसद हरीनारायण रौनियार, प्रदेश सभा सदस्य मन्जुर अन्सारी, करिमा बेगम, जन्नत अन्सारी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 

Back to top