×

वीरगञ्ज । मधेश प्रदेशशका केही जिल्लामा अझैसम्म पनि बालबालिकाहरु विद्यालयबाट बाहिरै रहेका छन् ।

सर्लाहीमा आठ हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको एक तथ्यांकबाट देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाको तथ्यांकले जनाए अनुसार जिल्लाभर आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यार्थी भर्ना अभियान जारी रहँदा ती बालबालिकालाई विद्यालयमा भर्ना गराउन २० वटै पालिकाका विद्यालयले घरदैलो अभियानसमेत सञ्चालन गरिरहेको छ ।

विद्यालय भर्ना हुने उमेर पुगिसकेका पाँच वर्षदेखि १२ वर्षसम्मका आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले उनीहरुलाई विद्यालयमा ल्याउनुपर्ने बताए । विद्यालयले सञ्चालन गरेको भर्ना अभियानबाट इँटा भट्टा, मोटरसाइकल ग्यारेज, यातायातका साधन, होटललगायतमा बाध्यतावश काम गरिरहेकाहरु रहेका छन् ।

विद्यालय बाहिर रहेका बालबालिकामध्ये चार हजार ४८० जना बालक र तीन हजार ७९७ जना बालिका रहेका छन् । सबैभन्दा धेरै मुसहर समुदायका बालबालिका रहेको सो तथ्यांकले जनाएको छ । सबैभन्दा धेरै बरहथवा नगरपालिकामा बालबालिका विद्यालय बाहिर रहेको छ । सबैभन्दा कम जिल्लामै सानो पालिकाको रुपमा छ वटा वडा मात्रै रहेको पर्सा गाउँपालिकामा १२७ जना बालक र ११५ जना बालिका विद्यालय बाहिर रहेको तथ्यांकमा रहेको छ ।

४४२ वटा सामुदायिक विद्यालय रहेको सर्लाहीमा शैक्षिक सत्र २०८० को तथ्यांक अनुसार बालविकासदेखि कक्षा १२ सम्म एक लाख एक हजार ४३३ जना छात्रा र ९० हजार २६७ जना छात्र विद्यालयमा भर्ना भएको जनाइएको छ ।

Back to top