×

वीरगञ्ज, २२ पुष । पर्सा जिल्लाको दोस्रो सदरमुकामका रुपमा चिनिएको पोखरिया नगरपालिकामा विभिन्न सरकारी कार्यालयका शाखाहरु स्थापना गर्न माग उठेको छ ।

जिल्लावासीलाई सानोभन्दा पनि सानो प्रशासनिक कार्यका लागि पनि सदरमुकाम वीरगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य गर्न जिल्लाको बीचमा पर्ने पोखरिया नगरपालिकामा विभिन्न सरकारी निकायका कार्यालयको शाखा खोल्न माग उठेको हो ।   

स्थानीयहरुले पोखरियामा ईलाका प्रसाशन कार्यालय, मालपोत तथा नापी कार्यालयको शाखा र मतदाता नामावली दर्ता समबन्धी सरकारी कार्यालयहरु स्थापनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । 

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति श्रीकिसुन चौहानको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो ।

नागरिकता बनाउन, राजस्व समबन्धी कार्य गर्न, मालपोत तथा नापी समबन्धी कार्य गर्न, मतदाता नामावली दर्ता गर्नलगायतको कार्यहरुका लागि पटक-पटक वीरगञ्ज पुग्न खर्च र समय दुवै बढी लाग्ने ज्ञापन पत्र बुझाउन गएको टोलीको नेतृत्व गरिरहेका चौहानको गुनासो थियो । चौहानले शाखा कार्यालयहरु अभिलम्भ स्थापना गरिनुपर्ने माग गरेका छन् । 

जिल्लामा सम्पूर्ण प्रशासनिक र गैर प्रशासनिक कामका लागि जिल्लाका विभिन्न स्थानबाट दैनिक हजारौँको संख्यामा मान्छे वीरगञ्ज पुग्ने गरेका छन् । जिल्लाभरीका काम एउटामात्र कार्यालयबाट गर्नुपर्दा कयौँ दिनसम्म वीरगञ्ज आइराख्नु पर्ने स्थानीय बताउँछन् । सबै सरकारी कार्यालयको शाखा पोखरियामा स्थापना भए वीरगञ्जका कार्यालयको चाँप पनि घट्ने र स्थानीयहरुलाई पनि राहत हुने चौहान तर्क छ ।

ग्रामिण जनताको सहजताका लागि सिमिति गाउँपालिकाको प्रशासनिक कार्यका लागि सुपौली स्थापित इलाका प्रशासन कार्यालय पनि जनशक्ति आभावमा बन्द रहेको छ ।

ज्ञापन पत्र बुझाउने टोलीमा सलेन्द्र यादव, पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनाराण रौनियार, ललन द्विवेदी, बिन्दबासनी गाउँपालिकाकी उपाध्यक्ष किरण गुप्ता, सुरेन्द्र सिंहलगायतको सहभागिता रहेको थियो ।

Back to top