वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित रेल्वे माध्यमिक विद्यालयमा भाडा लिएर क्याम्पस सञ्चालन गर्दै आएको नेशनल एकेडमी क्याम्पसले विगत एक वर्षदेखि भाडा नतिरेको पाइएको छ ।
विद्यालय प्रशासनले क्याम्पससँग भाडाका लागि पटक-पटक तागेदा गर्दापनि क्याम्पसले अटेरी गर्दै आएको बुझिएको छ । क्याम्पसले विद्यालयलाई ६ लाख १२ हजार रुपैयाँ तिर्न बाकी रहेको विद्यालयको स्रोतले जनाएको छ ।
विद्यालयमा क्याम्पस सञ्चालनका लागि २०७३ बैशाख ११ गते विद्यालयलाई क्याम्पसले मासिक ५१ हजार रुपैयाँ भाडा तिर्ने सम्झौता भएको थियो । तर पछिल्लो एक वर्षदेखि विभिन्न बहाना गरेर क्याम्पसले विद्यालयलाई भाडा नतिरेको विद्यालयको भनाई छ ।
विद्यालयको तर्फबाट प्रधानाध्यापक दिनेश चौरसिया र क्याम्पसको तर्फबाट बालगोपाल थापा, अविनाश प्रसाद सिंह र केदार प्रसाद साहले हस्ताक्षर गरेको सम्झौता पत्रमा क्याम्पसले विद्यालयको १६ वटा कक्षा कोठा र दुई वटा हल प्रयोग गर्ने उल्लेख छ ।
यता क्याम्पसका बालगोपाल थापाले भने विद्यालयको प्रधानाध्यापक परिवर्तन भएको कारण हिसाब फर्छ्यौट नहुँदा भाडा तिर्न केहि समय ढिला हुनगएको बताए । उनले कोभिडको समयमा क्याम्पस सञ्चालन नभएको कारण उक्त समय अवधिको भाडा तिर्नेकी नतिर्ने भनेर निक्र्योलसमेत नभएको बताए ।
विद्यालय प्रशासनबाट क्याम्पस सञ्चालनमा विभिन्न बाधा र अवरोधपनि सृजना गरिएको थापाले गुनासो गरे । आफूहरुले क्याम्पसको मर्मतसम्भारमा गरेको खर्चसमेतको फर्छ्यौट विद्यालय प्रशासनले नगरेको उनले बताए ।
'क्याम्पस सञ्चालन गर्नुभन्दा पहिला हामीले त्यहाँ मर्मतसम्भार, रङ्गरोगन, बिजुलीलगायातको काम गर्नका लागि ११ लाख रुपैयाँ खर्च गरेका थियौं, 'थापाले भने, 'त्यसको हिसाबपनि भइसकेको छैन । त्यसमाथि हामीले धरौटीका रुपमा पनि विद्यालयलाई ३ लाख रुपैयाँ दिएका छौँ ।'
थापाले नयाँ प्रधानाध्यापक आएपछि विद्यालय व्यवस्थापनको बैठकले गरेको निर्णय आफुहरु मान्न तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरे ।
सामुदायिक विद्यालयमा निजि क्याम्पस सञ्चालन गर्ने वीरगञ्ज महानगरपालिकाले अनुमति नभएपनि यहाँका विद्यालय र निजि क्याम्पसहरुले त्यसको वेवास्ता गर्दै आएका छन् ।
वीरगञ्जको आधा दर्जन सामुदायिक विद्यालयहरुमा निजि क्याम्पसले भाडा लिएर सञ्चालन गर्दै आएका छन् । यसरी नियम मिचेर क्याम्पस सञ्चालन हुँदापनि वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाले कुनै कारवाही गर्न सकेको छैन ।