×

वीरगञ्ज । प्रदेश नम्बर २ का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहले अब्दुल्लाह हत्या काण्डको छानविनका लागि प्रदेश स्तरीय छानविन समिति गठन गर्ने बताएका छन् । 

पर्साको पोखरिया नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय पोखरियाको निरीक्षण गर्ने क्रममा पोखरिया पुगेका डीआईजी सिंहलाई अब्दुल्ल्हाका बुवा गन्नी अन्सारीले छोराको हत्यारालाई पक्राउ गरी आफुलाई न्याय दिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै डिआईजी सिँहले अब्दुल्ल्हा हत्या काण्डको सुष्म अनुसन्धानका लागि प्रदेशबाट नयाँ छानविन कमिटि पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरिया नगरपालिकाका नगरप्रमुख (मेयर) दीपनारायण रौनियारले पनि अब्दुल्ल्हाको हत्यारालाई पक्राउ गर्दै परिवारलाई न्याय दिलाउनुपर्नेमा जोड दिएका थिए । 
लगभग डेढ वर्ष अगाडी पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया निवासी १३ वर्षीय अब्दुल्ल्हा अन्सारीको हत्या भएको थियो ।

२०७६ असोज १९ गते घरबाट हराएका अब्दुल्ल्हाको दुई दिनपछि गाउँकै एउटा पोखरीमा शंकास्पद अवस्थामा शव फेला भएको थियो । मृत्यु भएको डेढ वर्ष विति सक्दापनि उनको हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । निरिक्षणका क्रममा डीआईजी सिंहले स्थानीयसँग भेटघाट गर्दै सो क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी समेत लिएका थिए । 

निरिक्षण टोलीमा पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापा, स्थानीय अजय मिश्रलगायतको उपस्थिति रहेको थियो ।
 

Back to top