×

वीरगञ्ज । नेपालमा आजदेखि कोरोनाभाइरसविरूद्धको खोप अभियान सुरू भएको छ । भारतले नेपाललाई खोप अनुदानमा उपलब्ध गराएपछि अभियान सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार काठमाडौँस्थित टेकु अस्पतालमा खोप अभियान कार्यक्रमको शुभारम्भ गरेपछि देशभारी पहिलो चरणमा फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मीहरुलाई खोप दिन थालिएको हो । 

खोप अभियान कार्यक्रम अन्तर्गत प्रदेश नम्बर २ मा पनि एकजना स्वास्थ्यकर्मीलाई खोप लगाएर खोप अभियानको सुरुवात गरिएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एकजना महिला स्वास्थ्यकर्मीलाई खोप लगाएर कार्यक्रमको सुरुवात गरिएको थियो । नारायणी अस्पतालको एनआईसियू वार्डकी इन्चार्ज नर्स हेमा थापालाई प्रदेश नम्बर २ मा पहिलो खोप दिइएको थियो । 

प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा नारायणी अस्पतालमा आयोजित एक कार्यक्रमबीच थापालाई खोप लगाइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जय ठाकुरले बताए । खोप लगाएपछि खुसि व्यक्त गर्दै थापाले खोप सुरक्षित रहेको बताएकी थिइन ।

अस्पतालले आज पहिलो दिन एक सय जनाभन्दा बढीलाई खोप लगाउँने लक्ष्य बनाएको मेसु डा. ठाकुरले बताए । उनले पहिलो चरणमा जनस्वास्थ्य कार्यालय पर्सामा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम राखिएको छ । दोस्रो चरणमा फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइने योजना रहेको उनले बताए ।

सरकारले जनस्वास्थ्य कार्यालय पर्सालाई पहिलो चरणको खोप कार्यक्रमका लागि पाँच हजार जनालाई पुग्ने खोप उप्ल्बब्ध गराएको डा. ठाकुरले बताए । जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार जनस्वास्थ्यसँग भएको खोप अन्य अस्पताल र निजि स्वास्थ्य संस्थालाई पनि उपलब्ध गराइने छ ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का विघटित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमारलगायतको उपस्थिति रहेको थियो । वीरगञ्जमा खोप कार्यक्रमको उद्घाटन भएसँगै प्रदेश नम्बर २ का अन्य जिल्लाहरुमा पनि खोप लगाउँन सुरु गरिएको छ । 

नेपाललाई भारतले गत बिहीवार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो । भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी ठानिएको छ ।

Back to top