×

पर्सा २३ कत्तिक । छिपहरमाई गाउँपालिकाको वडा नम्बर १ मिर्जापुरलाई आज एक कार्यक्रमका बिच पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ ।

गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले कोरोनाभाइरसको जोखिम हुँदा हुँदैपनि घर-घरमा पुगेर वडाका ४ सय ५४ जना दुई वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि वडा पूर्ण खोप युक्त वडा घोषणा गरिएको हो ।

'स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ वडास्थित विद्यालयमा आयोजित कार्यक्रममा वडालाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पूर्ण खोप युक्त वडा घोषणा गरेका थिए । गुप्ताले घोषणा पत्र पढेर वडा पूर्ण रुपमा खोप युक्त वडा घोषणा भएको सबैलाई जानकारी गराएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष गुप्ताले स्वास्थ्यकर्मीहरुले कोरोनाभाइरस महामारीको समयमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर गरेको कामलाई सराहना गरेका थिए । उनले स्वास्थ्यकर्मीहरुले आफ्नो परिवारको सदस्यलाई समेत त्यागेर आम जनताको सेवामा खटेर सबैको मन जितेको बताए । 

'स्वास्थ्यकर्मीहरुको महिनेत र लगनशीलताका कारण आज हाम्रो वडा पूर्ण खोप युक्त वडा घोषणा भएको छ,' अध्यक्ष गुप्ताले भने, 'उहाँहरुले गरेको कामको जति तारिफ गरेपनि कम हुन्छ । कोरोना महामारीको समयमा समेत आफ्नो घर-परिवारलाई त्यागेर ज्यानलाई जोखिममा राख्दै फ्रन्टलाइनमा खट्नु चानचुने कुरा होइन ।'

अध्यक्ष गुप्ताले गाउँपालिकामा आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा र कृषि रहेकोले सबैभन्दा धेरै बजेट र स्रोत यसका पूर्वाधार विकासको लागि खर्च भइरहेको बताएका थिए । उनले छिट्टै प्रत्येक वडामा एउटा बर्थिङ्ग सेन्टर स्थापना गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

'अहिले गाउँपालिकाको दुई वटा वडामा बर्थिङ्ग सेन्टर छ । मिर्जापुरमा बर्थिङ्ग सेन्टर स्थापनाको लागि ८० लाख रकम निकासा भएको र निर्माण काम समेत दुर्त गतीमा अगाडी बढिरहेको छ । स्थानीय जनताको साथ् र सहयोग मिले म गाउँपालिकाको घर-घरमा स्वास्थ्य र शिक्षाको पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।

उनले गाउँपालिकामा रहेका गरिव, अतिविपन्न र असाहय नागरिकहरुको लागि गाउँपालिकाले पक्कि घर निर्माण गर्ने योजना समेत राखेको जानकारी गराए ।

छिपहरमाई गाउँपालिकामा लागु गरिएको सुवर्ण विमा कार्यक्रमको चर्चा गर्दै अध्यक्ष गुप्ताले अहिले गाउँमा छोरीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए । 'पहिला हाम्रो गाउँघरमा छोरीलाई बोझका रुपमा बुझ्ने चलन थियो तर सुवर्ण विमा कार्यक्रम लागु भएदेखि छोरीले जन्म पाउँन बितिकै उसको नाममा दुई लाखको विमा हुन्छ । यसले गाउँमा छोरी पाउने इच्छा समेत बढेर गएको छ ।' 

अध्यक्ष गुप्ताले उच्च शिक्षाको लागि समेत गाउँमा गुणस्तरीय आधुनिक प्रविधियुक्त विद्यालय र कलेजको स्थापना गर्ने प्रयासमा आफु लागिपरेको जानकारी दिए । 'अब उच्च शिक्षाको लागि शहर गएर पढ्ने बाध्यताबाट म गाउँवासीलाई मुक्त गराउने छु । छिट्टै हाम्रो गाउँपालिकामा गुणस्तरीय आधुनिक प्रविधियुक्त विद्यालय र कलेजको स्थापना हुनेछ । 

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले गाउँपालिकाका महिलाहरुलाई खोपको महत्वका बारे जनचेतना अभिवृद्धि गर्ने आवश्यकता अहिलेपनि रहेको बताए । खोप नपाउँदा १३ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुमा विभिन्न किसिमको रोग लाग्ने भएको हुँदा बच्चा जन्मिन बितिकै चिकित्सकको सल्लहा अनुसार प्रत्येक खोप समयमा लगाउनुपर्ने सुझाव दिए ।

अधिकृत साहले महिला स्वास्थ्यकर्मी र स्वयम सेविकाहरुको प्रशंसा गर्दै छिट्टै पूरा गाउँपालिकालाई पूर्ण खोप युक्त घोषणा गरिने जानकारी गराए । ।

वडा अध्यक्ष राजबली यादवको अध्यक्षतामा समपन कार्यक्रममा गाउँपालिकाका समसुल मियाँ, वडा अध्यक्ष महेन्द्र साह कलवार, बिनोद साह कानु, मौजीलाल साह, जिल्ला समन्वय समिति पर्साका सदस्य सुबास साह, अकलेश यादव, गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, स्वास्थ्य चौकी मिर्जापुरका प्रमुख प्रदिप दास, अहेब रामाकान्त महतो , मुखलाल साह, भुपेन्द्र गुप्ता, रितु कुमारी यादव, अनमी सपना चौरसिया, समभौता स्वास्थ्य प्रमुख श्यामबाबु प्रसाद जयमंगलापुर स्वास्थ्य चौकीका प्रमुख मुन्ना कुमार साहलगायतको सहभागिता रहेको थियो । 

पुर्णखोप घोषणा गराउनमा सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई दोसाला ओढाई र प्रमाणपत्र दिएर सम्मानित समेत गरिएको थियो ।

Back to top