×

वीरगञ्ज ३० असोज । पर्सा, बारा र रौतहटमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा बिहिबार पर्सा र बाराका विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा ५ महिलासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै पर्साका बासिन्दा रहेका छन् । पर्साका ८८ जनाको थ्रोट स्वाबको नमुनालाई पीसीआर प्रविधि मार्फत परिक्षण गर्दा १५ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ मा तिन, वडा नम्बर ५ मा दुई, र वडा नम्बर ४ मा एक जनामा संक्रमण देखिएको छ । त्यसैगरी जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ मा तिन जना र वडा नम्बर ५ मा दुई जना संक्रमित थपिएको डाक्टर चौरसियाले बताए ।

उनले पर्सागढी नगरपालिका वडा नम्बर २ मा एक, ठोरी गाउँपालिकामा एक र जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिका वडा नम्बर १० र २३ मा एक/एक जना संक्रमित भेटिएको जानकारी दिए ।

उता बारा जिल्लामा ८ जनाको परिक्षण हुँदा ५ जना संक्रमित भेटिएका छन् । बाराको कोल्भी नगरपालिका वडा नम्बर १ र ११ मा एक/एक जना, कलैया उपमहानगरपालिका वडा नम्बर ६ र ९ मा एक/एक जना र पिलुवा बाराका एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए । उनले रौतहटका एक पुरुषमा पनि कोभिड पोजेटिभ भएको जानकारी दिए ।

थपिएका संक्रमितहरुमा ८ वर्षीय बालकदेखि ५७ वर्षीय वृद्धसमेत रहेका छन् । उनीहरुको सिटि भ्यालु २६ देखि ३६ सम्मरहेको डाक्टर चौरसियाले बताए ।

Back to top