×

वीरगञ्ज २८ असोज । पर्सा र बारामा थप २२ जनामा कोरोनाभाइरस अर्थात कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा पर्सा र बाराको विभिन्न स्थानबाट ल्याइएको १ सय ९२ जनाको थोर्ट स्वाबको नमुनालाई परिक्षण गर्दा जम्मा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये ५ जना महिलासहित पर्साका १७ र बाराका ७ जना रहेका छन् ।

पर्सामा सबैभन्दा धेरै सदरमुकाम वीरगञ्ज महानगरपालिकामा संक्रमित भेटिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८, १४ र १५ मा दुई/दुई जना र वडा नम्बर १ र १३ मा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मा दुई र वडा नम्बर २ मा एक जना संक्रमित भेटिएका छन् भने पर्सागढी नगरपालिका वडा नम्बर ५ मा एक र वडा नम्बर ८ मा दुई जनामा संक्रमण देखिएको डाक्टर चौरसियाले जानकारी दिए । उनले छिपहरमाई गाउँपालिका वडा नम्बर ३ मा पनि एक जना संक्रमित भेटिएको बताए ।

उता बारा जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा एक, र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २, २, ३, र १६ मा एक र वडा नम्बर ७ मा दुई जनागरी ६ जना कोरोना पोजेटिभ भएका छन् ।

थपिएका सम्पूर्ण संक्रमितहरुमा ९ वर्षीय बालकदेखि ५४ वर्षीय वृद्धसम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए । उनले संक्रमितहरुको सिटि भ्यालु ३ देखि ३४ सम्म रहेको बताए ।

Back to top