वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा पर्साकी समानुपातिक प्रतिनिधिसभा सदस्य सुनिता कुमारी चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
पर्साको पकहाँ मैनपुर गाउँपालिका–१, धोरे निवासी चौधरी प्रादेशिक कोटाअन्तर्गत मधेश प्रदेशबाट १ हजार ३०७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
यसै निर्वाचनमा पर्साका निवर्तमान केन्द्रीय सदस्य डा. नन्दन यादव भने पराजित भएका छन्। उनले मधेशी खुला समूहबाट उम्मेदवारी दिएका थिए। उक्त समूहमा उनले ७६८ मत प्राप्त गरे पनि पुनः केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन्।
यता, बाराबाट निर्वाचित दुई प्रतिनिधिसभा सदस्य पनि रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य अरविन्द साह मधेशी समूहतर्फ ८७० मत प्राप्त गर्दै विजयी भएका हुन्।
त्यसैगरी, बारा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारी मुस्लिम समूहतर्फ १ हजार ४५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा मधेशी समूहतर्फ बब्लु गुप्ता, दीपक कुमार साह, जुली यादव र कामिनी कुमारी चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाअन्तर्गत सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।