वीरगञ्ज २१ श्रावन । प्रदेश नं. २ मा लालबाबु राउत गद्दी नेतृत्वको सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणमा कुनै काम नगरेको आरोप लगाउँदै स्थानीय युवाहरुले विरोध जनाएका छन् ।
गद्दी नेतृत्वको सरकार आश्वासन बाड्ने तर काम नगर्ने भएपछि पर्साका स्थानीय युवाले सांकेतिक विरोध स्वरूप बुधबार मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई एसएमएस पठाएर विरोध जनाएका हुन् ।
पर्सामा कोरोनाभाइरस (कोभिड-१९) महामारी को सङ्क्रमण समुदाय स्तरमा फैलीएपछि यहाँ दैनिक सयौंको संख्यामा सङ्क्रमितहरु बढ्न थालका छन् । तर, लालबाबु राउत नेतृत्वको सरकारले भने चार महिनाको समयमा उपचारमा अतिआवश्यक एउटा भेन्टिलेटरसमेत किन्न सकेको छैन ।
यसै विषयलाई सम्बोधन गर्न तत्काल ठोस कदम उठाएर कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणकाे लागि वीरगञ्जका सचेत युवाहरुले एसएमएसमार्फत मुख्यमन्त्रीकाे ध्यानाकर्षण गराएका छन् ।
'माननीय मुख्यमन्त्री ज्यू, कोरोना महामारीले जनता मर्दै छन्, तपाईं के गर्दै हुनुहुन्छ? तपाईंलाई मुख्यमन्त्री पदसम्म पुर्याउने प्रदेशको एक सचेत युवा,' लेखिएकाे एसएमएस युवाहरुले पठाएका हुन् ।
वीरगञ्जका युवा शिवनाथ यादवकाे अगुवाईमा सुरेश विडारी, शिव कुमार साह, कविता खड्का, शम्भु कुमार सुमन, दिपेन्द्र यादवलगायतकाले बुधबार एसएमएस पठाएर मुख्यमन्त्री राउतकाे ध्यानाकार्षण गराएका थिए ।