वीरगञ्ज ६ श्रावन । शनिवार रातिदेखी परीरहेको वर्षाका कारण यहाँको जनजिवन प्रभावित भइरहेको समयमा नारायणी अस्पताल पनि अछुतो हुन सकेको छैन ।
वीरगञ्जस्थित नारायणी अस्पतालको भवन जिर्ण हुँदा छतबाट पानी चुहीने समस्याका कारण चिकित्सकहरु सँगै सेवाग्राही पनि मारमा परेका छन् । विगतमा पनि पटक पटक पानी चुने समस्या भएपनि मर्मत तथा सम्भारमा सम्बन्धित पक्षको लापरवाहीका कारण अहिले पनि सोही समस्यासँग जुध्नुपरेको नाराययणी अस्पतालका छाला चर्म तथा यौन रोग विशेषज्ञ एवम् बरिष्ट कन्सलटेन्ट डा. अतुलेश कुमार चौरसियाले बताउनुभयो ।
कोरोना महामारीको त्रासका बिच पनि आफ्नो जिम्मेवारी बहन गरेका चिकित्सकहरु अहिले वर्षाका कारण भवनको छतबाट पानी चुहिँदा बर्षाती लगाएरै सेवाग्राहीको परिक्षण गर्नुपरेको डा. चौरसिया बताउनुहुन्छ । विगतमा पनि छतबाट सिमेन्ट खस्ने लगायतका समस्याबाट आजित भएका चिकित्सकहरु यस वर्ष पनि पानी चुहीने समस्याबाट ग्रसित भएको अस्पतालका चिकित्सकहरु बताउँछन् ।
नारायणी अस्पतालको मेडिकल ओपिडि, अर्थाेपेडिक ओपिडि, फिजियोथेरापी, छाला तथा यौन रोग विभाग, लगायतका विभागहरुमा पानी चुहिँदा आफुसँगसँगै सेवाग्राही पनि जोखिममा परेको अस्पतालका अर्थाेपेडिक सर्जन डा. रोशन अलिले बताउनुभयो ।
त्यसैगरी छतबाट चुहिने पानी अस्पतालको फिजियोथेरापी मेशीनमा पर्दा मेशीन नै बिग्रिएर करेन्ट प्रवाह भइरहेकोले मेशीननै बन्द भएर फिजियोथेरापी सेवा समेत अवरुद्ध भएको डा. ओमप्रकाश साहले बताउनुभयो । पानी चुहिन बन्द भएपनि मेशीनमा परेको पानी सुक्न समय लाग्ने भएकोले सेवा सुचारु गर्ने अवस्था नभएको साहको भनाई छ ।
नारायणी अस्पताल एउटा प्रतिनिधिमुलक उदाहरण मात्रै हो । यस किसिमका समस्या वीरगञ्जका अन्य कार्यालयमा पनि हुने गरेका छन् । पानीको डुबानका कारण जिल्ला प्रशासन कार्यालयमा समेत सेवा प्रवाहमा समस्या हुने गरेको छ । साथै कर्मचारीलाई कार्यालयमै जानै समस्या समेत हुने गरेको कर्मचारी स्वयम बताउँछन् ।
यस्ता समस्याहरुतर्फ अरु समयमै बैकल्पिक उपाय तथा समाधानबारे छलफल गरेर निस्कर्ष निकाल्नुपरेपनि अरु समयमा सम्बन्धित निकायले ध्यान नदिएको गुनासो कर्मचारीहरुको छ ।