×

वीरगञ्ज । विश्वव्यापी रूपमा पर्यटन तथा आतिथ्य क्षेत्र तीव्र गतिमा विस्तार भइरहेका बेला होटेल म्यानेजमेन्ट अध्ययन युवाहरूका लागि आकर्षक र सम्भावनायुक्त शैक्षिक विकल्पका रूपमा स्थापित हुँदै गएको छ । सोही परिवेशमा वीरगञ्जको घण्टाघर नजिकै रहेको ब्राइट पब्लिक स्कुल परिसरमा सञ्चालित नेपाल कलेज अफ होटेल म्यानेजमेन्टले एसइई तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि नयाँ शैक्षिक सत्रको भर्ना खुला गरेको छ ।

विगत आठ वर्षदेखि सञ्चालनमा रहेको कलेजले पर्सा, बारा, रौतहटसहित मधेस प्रदेशका विभिन्न जिल्लाका साथै देशका अन्य स्थानबाट आएका विद्यार्थीहरूलाई सिपमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।

कलेजका सञ्चालक तथा प्रबन्ध निर्देशक ब्रिज सर्राफका अनुसार हालसम्म ७५ भन्दा बढी विद्यार्थीहरूले यहाँबाट होटेल म्यानेजमेन्ट अध्ययन पूरा गरी नेपाल, भारत, अमेरिका, रोमानिया, ओमान, दुबई, कुवेतलगायत विभिन्न देशका प्रतिष्ठित होटेल तथा आतिथ्य संस्थाहरूमा रोजगारी प्राप्त गरेका छन् ।

कलेजमा १५ महिने ‘डिप्लोमा इन होटेल म्यानेजमेन्ट’ र २१ महिने ‘होटेल म्यानेजमेन्ट कोर्स’ सञ्चालनमा रहेका छन् । पाठ्यक्रमहरू सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तालिममा आधारित छन् । अध्ययन क्रमअन्तर्गत विद्यार्थीहरूले फुड प्रोडक्सन (कुकिङ), फुड एन्ड बेभरेज सर्भिस, हाउसकिपिङ, फ्रन्ट अफिस म्यानेजमेन्ट, होटेल अपरेसन, इभेन्ट म्यानेजमेन्ट, ग्राहक सेवा, सञ्चार सीप तथा व्यक्तित्व विकाससम्बन्धी ज्ञान र सीप हासिल गर्ने अवसर पाउँछन् । सिपले उनीहरूलाई पेसागत रूपमा दक्ष र आत्मविश्वासी बनाउन सहयोग पुर्‍याउने कलेजको दाबी छ ।

प्रबन्ध निर्देशक सर्राफका अनुसार कलेजमा सञ्चालन हुने कोर्सहरू एलसीसीआइ ग्लोबल क्वालिफिकेसन्सद्वारा विकसित तथा क्वालिफिकेसन्स स्कटल्याण्डद्वारा क्वालिटी एस्योर्ड गरिएका छन् । साथै क्यानडा, अमेरिका, स्विजरल्याण्ड, बेलायतलगायतका देशहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि क्रेडिट ट्रान्सफरको सुविधा पनि उपलब्ध गराइएको छ ।

कलेजले विद्यार्थीहरूलाई पढाइसँगै इन्टरनसिपको अवसर पनि उपलब्ध गराउँदै आएको छ । तीनदेखि पाँच तारे होटेलहरूसँगको सहकार्यमा विद्यार्थीहरूले अध्ययनकै क्रममा व्यवहारिक अनुभव हासिल गर्ने अवसर पाउँछन् । उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई स्वदेश तथा विदेशका प्रतिष्ठित होटेलहरूमा जब प्लेसमेन्टको व्यवस्था समेत मिलाइने सर्राफले बताए ।

होटेल म्यानेजमेन्ट अध्ययनपछि विद्यार्थीहरूले विभिन्न क्षेत्रमा आकर्षक करियर बनाउन सक्ने सम्भावना रहेको कलेजको भनाइ छ । पाँच तारे तथा अन्तर्राष्ट्रिय चेन होटेलहरूमा म्यानेजर, सुपरभाइजर वा सेफका रूपमा काम गर्ने अवसर प्राप्त गर्न सकिन्छ भने क्रुज सिप, एयरलाइन्स केटरिङ, रिसोर्ट, पर्यटन कम्पनी तथा इभेन्ट म्यानेजमेन्ट क्षेत्रमा पनि रोजगारीका ढोका खुला हुन्छन् । त्यसैगरी फ्रन्ट अफिस एक्सिक्युटिभ, हाउसकिपिङ सुपरभाइजर, फुड एन्ड बेभरेज म्यानेजर, ट्राभल तथा टुर अपरेटरजस्ता पदहरूमा पनि दक्ष जनशक्तिको माग बढ्दो रहेको छ ।

पर्यटन क्षेत्रको विस्तारसँगै नेपालमै पनि दक्ष आतिथ्य जनशक्तिको आवश्यकता बढ्दै गएको छ भने खाडी मुलुक, युरोप र अमेरिकाजस्ता देशहरूमा समेत यस क्षेत्रका जनशक्तिको माग उच्च रहेको छ । सोही कारण होटेल म्यानेजमेन्ट अध्ययन रोजगारीका दृष्टिले पनि सुरक्षित र सम्भावनायुक्त मानिएको छ ।

यसका साथै, होटेल म्यानेजमेन्ट अध्ययनले विद्यार्थीहरूलाई उद्यमशील बन्न प्रेरित गर्ने भएकाले आफ्नै रेस्टुरेन्ट, क्याफे, बेकरी, केटरिङ सेवा, गेस्ट हाउस, होमस्टे वा रिसोर्ट सञ्चालन गर्ने सम्भावना पनि उत्तिकै प्रबल रहेको कलेजले जनाएको छ । इच्छुक विद्यार्थीहरूलाई व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक परामर्श तथा मार्गदर्शन उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

प्रबन्ध निर्देशक सर्राफका अनुसार होटेल म्यानेजमेन्ट केवल जागिर प्राप्त गर्ने माध्यम मात्र नभई नेतृत्व क्षमता, व्यवस्थापन सीप, अनुशासन, ग्राहकसँग व्यवहार गर्ने कला तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने दक्षता विकास गर्ने महत्त्वपूर्ण शैक्षिक क्षेत्र हो । पर्यटन र आतिथ्य क्षेत्र दीर्घकालीन रूपमा स्थिर र सम्भावनायुक्त क्षेत्र भएकाले यसमा दक्षता हासिल गर्ने विद्यार्थीहरूले स्वदेश तथा विदेश दुवै स्थानमा उज्ज्वल भविष्य निर्माण गर्न सक्ने विश्वास कलेज प्रशासनले व्यक्त गरेको छ ।

Back to top