वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान तथा ओसारपसारमा प्रयोग भएका सवारी साधन बरामद गरेको छ ।
आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनरुवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी सिरसिया नदी किनारको झाडीमा लुकाईछिपाई राखिएको अवस्थामा ७ लाख ७२ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका कपडा बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
सोही दिन इनरुवा र कोनिया नाकामा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ लाख ५२ हजार ९०५ रुपैयाँ बराबरको किराना सामान, कस्मेटिक सामग्री, मदिरा, तरकारी र स्याउ बरामद गरेको छ । उक्त सामान ओसारपसारमा प्रयोग भएका १ थान ई–रिक्सा र १ थान साइकल समेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।
त्यसैगरी, असार १३ गते शनिवार वीरगञ्ज महानगरपालिका–१६, १७ र २१ अन्तर्गत इनरुवा, कोनिया, परवानीपुर तथा अलौ क्षेत्रबाट खटिएको टोलीले १० लाख ८४ हजार ४ सय रुपैयाँ बराबरका कपडा, मोबाइल टेम्पर्ड ग्लास, किराना सामान, फलफूल लगायतका सामग्री बरामद गरेको थियो । सो क्रममा ओसारपसारमा प्रयोग भएका १ थान टेम्पो, १ थान मोटरसाइकल र ३ थान साइकल समेत नियन्त्रणमा लिइएको थियो । सामान तथा सवारी साधन असार १४ गते भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसरी विभिन्न मितिमा बरामद भएका अवैध सामान तथा सवारी साधनको कुल अनुमानित मूल्य २३ लाख ९ हजार ३ सय ५ रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जानकारी दिएका छन् ।