वीरगञ्ज २ असार । पर्सामा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ । संक्रमण पुष्टि धमाधम हुन थालेपछि वीरगञ्ज महानगरपालिकाले पीसीआर परीक्षण मेसिन खरीद अभियान शुरु गर्यो । महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले विभिन्न निकाय र दाताहरुसँग सहयोग मागेर भएपनि वीरगञ्जबासीलाई बचाउने अभिप्रायले यस्तो अभियान शुरु गरे ।
नारायणी अस्पतालमा धमाधम संक्रमित भर्ना हुन थालेको र केन्द्र तथा प्रदेश सरकारले अस्पतालमा पीसीआर जडान गर्न ढिलाई गर्दा उनले निजी क्षेत्रबाट चन्दा संकलन गरेर भएपनि पीसीआर मेसिनसहितको ल्याब सञ्चालन गर्ने योजना अगाडि बढाएको बताए । अभियान अन्तर्गत अहिलेसम्म १ करोड ६० लाखभन्दा बढी सहयोग प्राप्त भएको र सहयोग आउने क्रम जारी रहेको मेयर सरावगी बताउँछन् ।
पीसीआर मेसिन खरिदको लागि तीन दिने आशयपत्रको सूचना जारी भइसकेको र असार ३ गतेपछि ६३ लाख ८३ हजारमा टेन्डर परेको जेएचएस एनलाइटिक्स ट्रेडर्स काठमाडौंसँग सम्झौता गरेर मेसिन वीरगञ्जमा एक दिनमै जडान गर्ने लक्ष्य रहेको उनको दावी छ । महानगरको योजना शाखाका इन्जिनियर राकेश साहका अनुसार ५ वटा टेन्डर बिक्री भएकोमा तीनजनाले भरेको र ६५ लाख २४ हजारको टेन्डर आह्वान गरेकोमा सबैभन्दा कममा जेएचएसको टेन्डर स्वीकृत भएको छ ।
यसैगरी जेठ ३२ मा महानगरले २० हजार भीटीएम, २ हजार आरएनए एक्स्ट्राक्सन किट, २ हजार आरटी पीसीआर कोभिड टेस्ट किट खरीद गर्ने टेन्डर आह्वान गरेको थियो। एक साताभित्र यी सामग्रीहरु खरिद प्रक्रिया पनि शुभारम्भ हुने र त्यसपछिको अवस्था वीरगञ्जको लागि सहज हुने मनपाका सामाजिक विकास महाशाखा प्रमुख अरुण महतोले बताए ।
अहिले पीसीआर ल्याब सञ्चालन र स्वाब संकलनको लागि केन्द्र सरकारसँग दश जना स्वास्थ्यकर्मीसँग दरबन्दी माग गरेको उनले बताए । एउटा पीसीआर ल्याब सञ्चालनको लागि ६५ देखि ७० लाख मेसिनको र बाँकी गरेर करिब एक करोडको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको छ ।