×

वीरगञ्ज ९ भदौं । होम आइसोलेसशनमा बसेका कोरोना संक्रमितको उपचारलाई लक्षित गरी सामुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगञ्जमा आजदेखि निःशुल्क अक्सिजन सेवा शुरू गरिएको छ ।

वीरगञ्ज र आसपासका क्षेत्रमा समुदायस्तरमा कोरोनाका संक्रमण बढ्न थालेपछि वीरगञ्जका लायन्स क्लबहरूको सक्रियतामा सेवा सञ्चालन गरिएको हो ।

निम्न आर्थिक अवस्था भएका संक्रमितलाई लक्षित गरी निःशुल्क सेवा थालिएको संयोजक अनुप अग्रवालले बताउनुभयो । होम आइसोलेशनमा बसेकाहरूलाई श्वासप्रश्वासमा समस्या भएको खण्डमा तत्कालका लागि अक्सिजन उपलब्ध गराउन यो सेवा शुरु गरिएको जानकारी उहाँले दिनुभयो ।

पर्साकी प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तलाई अक्जिसनका सिलिण्डरसहितका सामग्री हस्तान्तरण गरिएको छ । हेल्प डेस्कमा रेगुलेटर, पाईप, स्यानिटाइजर र पन्जा पनि उपलब्ध गराइएको छ ।

अहिले साढे १ क्युविक मीटरका ५ र ७ क्युविक मीटरका १० ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । आवश्यकताअनुसार सिलिण्डरको संख्या बढाउने योजना रहेको अग्रवालले बताए । जिल्ला प्रहरी कार्यालको कोभिड हेल्प डेस्कमार्फत अक्सिजन सेवा प्रदान गरिने छ ।

Back to top