×

वीरगञ्ज । कम्प्युटर विज्ञान  विषयको  पुन: टोटलिङ तथा पुनः जाँच प्रक्रियापछि अन्तिम नतिजामा जीपीए ४.०० प्राप्त गर्दै आरव कुमार सिंह र कुमारी आयुषी चौरसिया नेपाल टपर बन्न सफल भएका छन्।

उक्त ऐतिहासिक उपलब्धिप्रति गौतम माध्यमिक विद्यालयले दुवै विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। विद्यालयले जारी गरेको शुभकामना सन्देशमा उनीहरूको सफलता अथक मेहनत, अनुशासन, समर्पण तथा शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गरिएको छ।

विद्यालयका अनुसार यस उपलब्धिले अभिभावक, शिक्षक तथा सम्पूर्ण गौतम विद्यालय परिवारलाई गौरवान्वित बनाएको छ। साथै, विद्यार्थीहरूको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुवै विद्यार्थीका अभिभावकप्रति पनि विद्यालयले हार्दिक आभार व्यक्त गरेको छ। अभिभावकले दिएको निरन्तर सहयोग, विश्वास, प्रोत्साहन तथा विद्यालयप्रतिको सकारात्मक साथले यस सफलता सम्भव भएको विद्यालयको भनाइ छ।

विद्यालयले यस नतिजाले उत्तरपुस्तिका परीक्षण तथा मूल्याङ्कन प्रणालीलाई अझ निष्पक्ष, जिम्मेवार र पारदर्शी बनाउनुपर्ने आवश्यकतालाई समेत उजागर गरेको जनाएको छ। उत्तरपुस्तिका मूल्याङ्कनमा हुने सामान्य लापरवाही वा असावधानीले विद्यार्थीलाई मानसिक, भावनात्मक तथा सामाजिक रूपमा अनावश्यक दबाब र पीडा सिर्जना गर्न सक्ने भएकाले सम्बन्धित निकायले मूल्याङ्कन प्रणालीलाई थप व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउन आवश्यक सुधार गर्नुपर्ने विद्यालयले आग्रह गरेको छ।

विद्यालयले पुनःजाँचपश्चात् प्राप्त भएको सही नतिजाले पारदर्शी तथा विश्वसनीय पुनःमूल्याङ्कन प्रणालीको महत्त्वलाई पुनः पुष्टि गरेको उल्लेख गर्दै प्रत्येक विद्यार्थीले आफ्नो मेहनत, ज्ञान र क्षमताअनुसार न्यायोचित नतिजा प्राप्त गर्ने अधिकार रहेको जनाएको छ।

विद्यालयले अन्त्यमा आरव कुमार सिंह र कुमारी आयुषी चौरसियालाई पुनः एकपटक ऐतिहासिक सफलताका लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि शैक्षिक तथा जीवनका हरेक क्षेत्रमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।

Back to top