वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप विशेषज्ञ उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक तथा अस्पताल प्रशासनलाई आवश्यक निर्देशन दिएकी छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार डा. रामलाई विशेषज्ञ उपचार उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन गरिएको छ। मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गर्दै मन्त्रालय उपचारका लागि आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताएकी छन्।
यसैबीच, मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले उपचारका क्रममा हुने कुनै पनि अप्रिय घटनाको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था रहेको उल्लेख गर्दै कानुन हातमा लिएर हिंसात्मक गतिविधिमा संलग्न हुनु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ।
साथै, मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम आवश्यक कारबाही अघि बढाउन आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण कायम गर्नु तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने विश्वास व्यक्त गरेको छ।