×

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक होटलबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–६ निवासी ५२ वर्षीय उत्तम कुमार पाठक र पर्साको वीरगञ्ज महानगरपालिका–२ निवासी ३५ वर्षीय ओसिम ठकुराई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलको कोठा नम्बर ११८ मा लागूऔषधको बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार बिहान प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो पर्साको संयुक्त टोलीले छापा मारेको थियो।

प्रहरीले कोठामा रहेका दुवै जनाको खानतलासी गर्दा निटकोर ट्याब्लेट २०० पिस र ओनरेक्स सिरप २ बोतल बरामद गरेको जनाएको छ।

लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Back to top