×

वीरगञ्ज । सामाजिक उत्तरदायित्वअन्तर्गत रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले पर्साको श्री दलित आधारभूत विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग प्रदान गरेको छ। अत्यधिक गर्मी तथा आधारभूत पूर्वाधारको अभावका कारण विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग गरिएको क्लबले जनाएको छ।

रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामबिनय यादवको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीयवासी तथा क्लबका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा क्लबका अध्यक्ष रामबिनय यादवसँगै आलोक यादव, आर्यन गुप्ता तथा मनीष सर्राफको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले विद्यार्थीहरूलाई सहज, सुरक्षित र अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले सामाजिक सेवामूलक अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सफल बनाउन आवश्यक ७ थान पंखाको व्यवस्थापनमा विशेष सहयोग पुर्‍याउने प्रकाश कर्ण तथा अन्य सहयोगी दाताप्रति रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले हार्दिक आभार व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष रामबिनय यादवले शिक्षा क्षेत्रमा गरिने साना–साना सहयोगले पनि विद्यार्थीहरूको सिकाइमा ठूलो सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्दै विद्यालय, विद्यार्थी तथा समुदायको हितमा यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए।

विद्यालय परिवारले रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस तथा सहयोगी दाताप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त पंखाले विद्यार्थीहरूको अध्ययन–अध्यापनका लागि थप सहज र अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेको छ।

Back to top