वीरगञ्ज । पर्साको वीरगञ्जस्थित साउथ सिटी कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा काठमाडौं विश्वविद्यालय केयूको प्रवेश परीक्षा केन्द्रको उद्घाटन गरिएको छ। उद्घाटनसँगै विभिन्न संकायका विद्यार्थीहरूको प्रवेश परीक्षा पनि शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कलेजका अनुसार मिति २०८३ साउन ९ गते काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका एसोसिएट डिन तथा प्राध्यापक डा. श्यामसुन्दर खड्काले रिबन काटेर प्रवेश परीक्षा केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्। सोही दिन काठमाडौं विश्वविद्यालयको टोलीको प्रत्यक्ष निगरानीमा विभिन्न संकायका विद्यार्थीहरूको प्रवेश परीक्षा सफलतापूर्वक सम्पन्न भएको कलेजले जनाएको छ।
साउथ सिटी कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले काठमाडौं विश्वविद्यालयसँगको सम्बन्धनमा स्कुल अफ इन्जिनियरिङ अन्तर्गत सूचना प्रविधिमा स्नातक (BIT) तथा स्कुल अफ एजुकेशन अन्तर्गत बि.टेक. एड. (सूचना प्रविधि) कार्यक्रम सञ्चालनमा ल्याएको छ।
कलेजका अनुसार मधेस प्रदेशबाट काठमाडौं विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गर्ने यो एकमात्र शिक्षण संस्था हो। चालु शैक्षिक सत्रदेखि नै यी शैक्षिक कार्यक्रम सञ्चालनमा आइसकेको कलेजले जनाएको छ।
सन् १९९१ मा स्थापना भएको काठमाडौं विश्वविद्यालय नेपालको प्रतिष्ठित स्वायत्त गैर–नाफामूलक विश्वविद्यालय हो। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केन्द्रीय परिसर रहेको विश्वविद्यालयले विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन, शिक्षा, कला, चिकित्सा तथा कानुनलगायत विभिन्न विधामा उच्च शिक्षा प्रदान गर्दै आएको छ। गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्दै विश्वविद्यालयले नेपालको उच्च शिक्षा तथा अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
साउथ सिटी कलेजले काठमाडौं विश्वविद्यालयको शैक्षिक मापदण्डअनुसार आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित सूचना प्रविधि र शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिएको जनाएको छ। कलेजका अनुसार BIT र B.Tech Ed IT कार्यक्रमले मधेस प्रदेशका विद्यार्थीलाई आफ्नै प्रदेशमै अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।