एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । सीमा सहजीकरण, सूचना संकलन तथा सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार साउन १० गतेदेखि झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डन्डा, बाँकेको जमुनाह र कैलालीको त्रिनगर नाकामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा प्रत्येक नाकामा १४ सदस्यीय टोली परिचालन गरिएको हो।
परिचालित टोली सम्बन्धित सीमा सुरक्षा गुल्ममा रही मुख्य सीमा नाकामा खटिनेछ। टोलीले सीमा क्षेत्रमा हुने गतिविधिको निगरानी, सूचना संकलन तथा सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रुपन्देहीको डन्डास्थित सीमा सुरक्षा गुल्ममा पुगेर बीआईटीको औपचारिक शुभारम्भ गरेका थिए। सो अवसरमा उनले टोलीलाई आवश्यक निर्देशन दिँदै सीमा क्षेत्रको सुरक्षा अवस्था तथा दैनिक गतिविधिबारे जानकारीसमेत लिएका थिए।
सशस्त्र प्रहरीका अनुसार बीआईटीले सीमा वारपार गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई आवश्यक सहजीकरण गर्नेछ। साथै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लागूऔषध, वन्यजन्तुजन्य वस्तु तथा अन्य अवैध सामानको तस्करी रोक्न निगरानी र चेकजाँचलाई प्रभावकारी बनाउने जिम्मेवारी पनि टोलीले वहन गर्नेछ।
त्यसैगरी अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग समन्वय गर्दै सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा समेत टोलीले सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
बीआईटी बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म परिचालन हुनेछ। प्रत्येक सिफ्टमा कम्तीमा एक जना महिला सशस्त्र प्रहरीसहित टोली सादा पोसाक (सफारी सुट)मा खटिने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, आइतबार देशका अन्य पाँचवटै प्रमुख सीमा नाकामा पनि सम्बन्धित बाहिनीपतिहरूले बोर्डर इन्टरएक्सन टिमको औपचारिक शुभारम्भ गरेका छन्।