×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । मुद्रा सम्बन्धी कसुर (खोटा नोट चलन) मुद्दामा अदालतको फैसलापछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–२७ निवासी ४० वर्षीय भुअर भन्ने रफिक मियाँ अन्सारीलाई पक्राउ गरिएको हो।

पर्सा प्रहरी र भक्तपुर प्रहरीको संयुक्त टोलीले उनलाई शुक्रबार बिहान करिब ११ः५० बजे भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–२, सानोठिमी क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुद्रा सम्बन्धी कसुर (खोटा नोट चलन) मुद्दामा पर्सा जिल्ला अदालतको २०८२ साल साउन २८ गते भएको फैसलापछि अन्सारी फरार रहेका थिए। लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाको आधारमा खोजतलास गरी पक्राउ गरिएको हो।

पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Back to top